नेपालको नक्साको विरोध गर्ने सांसद सरिता गिरीलाई स्पष्टिकरण बुझाउन निर्देशन

राजनीति समाचार

काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई नेपालको नक्साको विरोध गरेको बारेमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिएको हो ।

पार्टी निर्णय विपरीत नयाँ नक्साअनुसार नेपालको निशान छापलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसद गिरीले संसद सचिवालयमा संशोधन दर्ता गराएकी थिइन् ।

सो संशोधनको सूचना फिर्ता लिन पार्टीको संसदीय दलले निर्देशन दिए पनि विधेयकको टुंगो लगाउन चुनाव भएको दिन उनी संसद बैठक नै बहिस्कार गरेर निस्किएकी थिइन् ।

सांसद गिरीको माइती देश भारत हो । उनी भारतबाट नेपालमा बिहे गरेर आएकी थिइन् । नेपाल आएपछि नेपाली नागरिकता पाएर उनी सांसदमात्र हैन मन्त्री पनि भएकी थिइन् ।

सरकारले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी (जो भारतले अतिक्रमण गरेको थियो) समेटेर नयाँ नक्सा अद्यावधिक गरेर संविधानमा राखेको हो ।