मन्त्री आलेको रोजाईमा भ्रष्ट जिएम

समाचार

काठमाडौं । नेपाल वायु सेवा निगमको निमित्त महाप्रबन्धकमा निगमकै पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् । पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । मन्त्री आलेकै प्रस्तावमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी ज्वारचनलाई सुम्पिइएको हो ।
न्यारोबडी–३२० विमानका चालक ज्वारचन भने आर्थिक अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा रहेका व्यक्ति हुन् । उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन, निगमभित्र आर्थिक अनियमितता, विमान चालकको उडान तालिका निर्धारणमा विभेद, कानुनी प्रावधान विपरीत अपरेसन डाइरेक्टरमा नियुक्ति लगायत दर्जन बढी आरोप छन् । ज्वारचनले निगमका विमान चालकको तालिमका लागि विदेशमा केन्द्र छनोट गर्दा बढी कबोल गर्नेलाई जिम्मा दिएको, विमान चालकको उडान तालिका निर्धारणमा विभेद गरेको, अपरेसन डाइरेक्टर नियुक्त हुँदा योग्यता सम्बन्धी मापदण्ड संशोधन, विदेशी विमान चालकले तिर्नुपर्ने आयकर बापतको रकम गैरकानुनी छुट दिई निगमबाटै भुक्तानी गरेको लगायतका विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
अख्तियारले गत वैशाख ७ मा मात्रै निगमलाई पत्र लेख्दै ‘दीपुराज ज्वारचनलाई अपरेसन डाइरेक्टरमा
नियुक्ति गर्दा सोको कानुनी आधार र प्रक्रिया’ तथा जापानको नारितामा ‘क्रु’ हरू बस्नका लागि तीनतारे नारिता होटल छनोट गर्दा लिइएका आधारहरू’ खुलाएर राय÷प्रतिक्रिया पठाउन निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि तत्कालीन कार्यकारी अध्यक्ष (हाल निलम्बित) युवराज अधिकारीले जवाफ पठाउँदै ज्वार्चनलाई अपरेसन डाइरेक्टरमा नियुक्त गर्दा तत्कालीन व्यवस्थापनले कानुनी प्रावधान उल्लंघन गरेको र जापानमा क्रु बस्नका लागि होटल छनोट गर्दा ‘अनियमितता भएको’ स्वीकार गर्दै कानुन मिच्नेमाथि कारबाही गर्नुपर्ने राय दिएको थियो । यस विषयमा अख्तियारले अनुसन्धान जारी राखेको छ ।
निगममा अनियमितता भएको उजुरीपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०७७ कात्तिक २३ मा सतर्कता केन्द्रका एसपी राजेन्द्रकुमार पोखरेलको संयोजकत्वमा डीएसपी बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले ७ महिना लगाएर तयार पारेको प्रतिवेदन २०७८ असार ३ मा बुझाउँदै अनियमिततामा संलग्न ज्वार्चनसहितलाई कारबाही र हिनामिना भएको रकम सम्बन्धित व्यक्तिबाटै असुल गर्न सुझाव दिएको थियो ।
त्यसपछि प्रधानमन्त्री कार्यालयले आरोपितमाथि थप अनुसन्धान गरी कारबाही चलाउन अख्तियारमा प्रतिवेदन पठाएको थियो । त्यसमाथि अख्तियारको अनुसन्धान पूरा नहुँदै मन्त्री आलेले ज्वारचनलाई नै निगमको नेतृत्वमा अस्थायी नियुक्ति दिएका हुन् । अनुसन्धानको दायरामा रहेको व्यक्ति नै निगमको महाप्रबन्धकमा नियुक्ति हुँदा यसअघिका प्रमाण लोप हुन सक्ने देखिएको छ । पर्यटन मन्त्री आलेले केही दिनअघि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई आफ्नै कार्यकक्षमा बोलाएर उनीमाथि दानवीय व्यवहार गरेका थिए, त्यसको सर्वत्र निन्दा भएको छ । युवराज अधिकारीमाथिको व्यवहार सभ्य व्यक्तिले कदापि गर्न सक्दैन । अहिले सबैतिर मन्त्री आलेको व्यवहारप्रति क्षोभ प्रकट भैराखेको छ र राजनीतिक वृत्तमा यस्ता मन्त्रीलाई तत्काल कारबाहीको दायरामा ल्याउनु पर्दछ भन्ने आवाज व्याप्त छ ।
आफ्नो कार्यकालमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अवस्थामा उल्लेखनीय सुधार गरेका छन् । गन्तव्य बढाउने, सीट उपयोग ९० प्रतिशतमा पु¥याउने, विमानको उडान घण्टा बढाने, निगमको विश्वसनीयता बढाएर निगमको टिकटलाई अन्य ठूला विमान कम्पनीको उडानमा स्वकिार गर्ने, खतराजन्य पदार्थको ओसार पसारमा कार्गो लिन पाउने र ओभरड्राफ्टकर्जा चुक्ता गरेर वित्तीय स्थिति सुधार्ने काम गरेका छन् । त्यसलाई मेरो मातहतको निगमले ठूलो उपलब्धि हासिल गरेको छ गौरव गर्नुको सट्टा आफ्नो क्षुद्र स्वार्थको लागि जुन प्रकारको अपमानित गर्ने हरकत गर्नुका साथै भौतिक आक्रमणको चेतावनी दिनेजस्ता व्यवहारले आले उदण्ड चरित्र थप नांगो भएकाले उनलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ भन्ने आवाज सर्वत्र उठिरहेको छ ।