अब नेपाली मतदातासँग एउटा चुनाव हेरौं भन्ने समय छैन ः राजेन्द्र लिङ्देन

समाचार

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको लागि होमिएका युवालाई अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो भन्दै ठूला दललाई प्रश्न गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै उनले कृषिप्रधान देशमा किसानले पैसा तिरेर पनि मल किन्न नपाउने, सिटामोल माग्दा अदालतको आदेश चाहिने अवस्था आउनुमा ठूला दल दोषी भएको बताए । ‘नेपाली युवाले बिहे गरेकोभोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?,’ उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’ ठूला भन्ने दलहरूले विदेशीको सहयोगबिना नेपाललाई बनाउन नसक्ने सोच राखेको उनले आरोप लगाए । ‘अब नेपाली मतदातासँग एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनीतिक दलको गोठमा बाँधेका गाईवस्तु होइनन्,’ उनले भने । यदि कसैले उद्योग खोल्न चाहे पनि सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था आएको उनले बताए । त्यस्तै, कर तिर्न पनि कमिसन बुझाउनुपर्ने अवस्था आएको उनले बताए ।
लिङदेनले राजनीतिलाई सर्वोत्तम सेवा मान्नेहरुको नेतृत्व राप्रपाले गरेको दावी पनि गरे । राजनीतिलाई पेशा, व्यवसाय, ओढ्ने ओछ्याउने बनाउनेहरु विरुद्ध राप्रपा सशक्त बन्दै गएको उल्लेख गर्दै उनले यसपालि स्थानीय तहको चुनावमा विगतभन्दा धेरै ठाउँमा जित हासिल गर्ने बताए ।