नाताप्रतिको ‘अतिमोह’ ले माओवादी केन्द्रमा तीब्र असन्तुष्टि

Home Feature राजनीति

परिवारवादमा लिप्त प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नराम्रोसँग परिवारवादमा फसेका छन् । उनले आफ्नो परिवारका सबैलाई कहीँ न कहीँ स्थान दिएका छन् । सिंगो पार्टीसँगै दुई पटकसम्म देशको कार्यकारीको अभिभारा सम्हालेको भए पनि उनी देश र पार्टी भन्दा परिवारवादले ग्रस्त देखिएका छन् । उनले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना दिन नबित्दै आफ्नै भाइलाई सांसद बनाइ छाडेका छन् । प्रचण्डले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् ।
यसअघि गत पुसमा काठमाडौंमा आयोजित पार्टीको महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई चयन गरे पनि अन्य पदाधिकारी पछि तोक्ने भन्दै प्रतिनिधिलाई घर पठाइएको थियो । फागुनमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले छोरीज्वाइँसहित ९७ जना नयाँ केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । छोरी रेणु दाहाल (भरतपुर महानगरपालिकाकी मेयर) र बुहारी बिना मगर (पूर्व खानेपानी मन्त्री) भने पहिले नै केन्द्रीय सदस्य छन् । छोरीज्वाइँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको भन्दै केही केन्द्रीय सदस्यले विरोध गरेका थिए । तर पार्टीभित्र र बाहिरको आलोचनाको परबाह नगर्ने प्रचण्डले भाइ नारायणलाई राष्ट्रिय सभामा पठाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मनाएका थिए ।
तसर्थ बिहीबारको मन्त्रिपरिषद् बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी हुन् । माओवादीकै कोटामा परेका रामनारायण बिडारीको कार्यकाल सकिएपछि रिक्त पदमा अध्यक्ष प्रचण्डले भाइलाई छानेका हुन् । तर नारायणलाई राष्ट्रिय सभामा सिफारिस गर्नेबारे पार्टीमा औपचारिक छलफल भएको थिएन । प्रचण्डले विरोध हुन्छ भन्ने थाहा पाएका कुनै पनि विषयलाई पार्टीमा छलफलका क्रममा लैजाने गरेका छैनन् । उनले सिधै आफ्नो सुप्रिमो देखाउँदै आएका छन् । १० वर्ष सशस्त्र युद्धमा नारायण पनि सहभागी थिए । त्यसो भन्दैमा प्रचण्डको परिवारले मात्र
सबै अवसर र मौका पाउनु पर्छ भन्ने छैन । यसको विरोध हुँदै आएको छ । प्रचण्ड भने यस्ता विरोध नसुनी आफ्नो मुढेबुद्धिको प्रयोग गर्दै आएका छन् । नारायण यसअघि पनि पटक–पटक सांसद भएका छन् । संविधानसभामा नारायण सभासद बनेका थिए । २०७४ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले भाइ नारायणलाई प्रशासनिक सल्लाहकार बनाएका थिए । आठौं महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा नारायण सदस्य भएका छन् । त्यसअघि नेकपाको बागमती प्रदेश अध्यक्ष थिए । प्रचण्डकी छोरी रेणु पनि केन्द्रीय सदस्य बनेकी छन् । अघिल्लो पटक भरतपुरमा मेयर जिताउन प्रचण्डले नेपाली कांग्रेससँग तालमेल मात्र गरेनन्, मत नपुग्ने भएपछि माओवादी कार्यकर्ताले मतपत च्यातेर पुनः निर्वाचन गराएका थिए । अहिले पनि माओवादी अध्यक्षले भरतपुरलाई केन्द्रमा राखेर पाँचदलीय तालमेलको प्रयास गरिरहेका छन् । यद्यपि कांग्रेसको स्थानीय नेतृत्वको विरोध छ ।
प्रचण्डले यसअघि बुहारी बिना मगरलाई केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएका थिए । ‘जुनियर’ लाई मन्त्री बनाएको भन्दै त्यसबेला माओवादीभित्र विवादसमेत भएको थियो । कार्यसम्पादन अत्यन्तै कमजोर हुँदा पनि उनी तीन वर्ष मन्त्री रहेकी थिइन् । मगर अहिले संघीय सांसद हुन् । उनी आगामी चुनावी तयारीमा जुटिसकेकी छन् । प्रचण्डले पूर्वप्रधानमन्त्रीका रूपमा राज्यबाट सुविधा पाउने गरी कान्छी छोरी गंगालाई स्वकीय सचिव बनाएका छन् । २०७४ को निर्वाचनमा कान्छा ज्वाइँ आचार्यलाई पनि प्रदेशसभा सदस्यको टिकट दिएका थिए । मोरङ–६ को (क) मा प्रदेशको टिकट पाए पनि उनी पराजित भएका थिए ।
अर्का ज्वाइँ सभामुखको सचिवालयमा छन् । परिवारप्रतिको ‘अतिमोह’ लाई लिएर माओवादी केन्द्रकै नेताहरू टिप्पणी गर्छन्, पार्टीमा ‘दाहालतन्त्र’ जहाँ परिवार बाहिरलाई अवसर दुर्लभ छ । तर सधैभरि यसरी परिवारमात्रको भलो गरिरहने प्रचण्डको साथ नेता कार्यकर्ताले कति दिन्छन् भन्ने पनि हो । स्थानीय तहको निर्वाचन हुँदै गर्दा रेणुको उद्दार गर्न लागिपरेका प्रचण्डले यही रबैया देखाउने हो भने उनलाई यसपालि कांग्रेसले साथ नदिनेसमेत स्पष्ट छ ।