रेणुको हार–जितमा गठबन्धनको भविश्य

Home Feature राजनीति

काठमाडौं । सत्ताधारी पाँच दलीय गठबन्धन कत्तिको कमजोर धागोले बाँधिएको रहेछ भन्ने स्पष्ट हुँदै आएको छ । यस्तो लाग्छ कि यो गठबन्धन जतिबेला पनि टुट्न सक्छ । कच्चा धागो चुँडिन सक्छ । यो त केबल देखावटी डोरीले बनेको मात्र हो । यदि त्यस्तो नहुँदो हो त गठबन्धन टिक्ने र टुट्ने आधार केबल चितवनको भरतपुर महानगर–पालिकाको परिणाममा गएर हुने थिएन । अहिले त्यही ब्याख्या भइरहेको छ । सत्ताधारी दलका शीर्ष नेताहरूले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामले पाँचदलीय गठबन्धनको भविष्य निर्धारण गर्ने अभिव्यक्ति दिँदै आएको छन् ।
यस्तो लाग्छ महानगरको मेयरमा उठेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्रीले जिते गठबन्धन टिक्छ नत्र टुट्छ । सबैभन्दा शक्तिशाली त तिनै रेणु रहिछिन् । रेणुको जितहारले नै गठबन्धनको भविष्य निर्धारण गर्नेछ । रेणुले चुनाव नजिते गठबन्धन टुट्न सक्ने विश्लेषण गरिएको छ । अर्थात् जसरी हुन्छ रेणुले जित्नैपर्छ । हारे गठबन्धन सकियो । यसको सबैभन्दा बढी दबाब नेपाली कांग्रेसका मतदातालाई छ ।
रेणुलाई जिताउने कि गठबन्धन टुटाउने भन्ने दोमनमा चितवनका मतदाताले बैशाख ३० गते मत हाल्नुपर्नेछ । चितवनमा गठबन्धनले रेणुलाई साझा उम्मेदवारका रूपमा अघि सारेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पौडेलको उम्मेदवारीले खडा गरेको चुनौती चिर्न गत बिहीबार भरतपुरमा चुनावी सभा गरेरै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले रेणुका पक्षमा मत मागेका थिए । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित सभामा देउवाले रेणुलाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताए । गठबन्धनको भविष्य भरतपुरको निर्वाचनमा निर्भर रहेको उल्लेख गर्दै उनले गठबन्धन टुटे आफ्नो पार्टीलाई क्षति पुग्ने अभिव्यक्तिसमेत दिए । उनले भने, ‘भरतपुरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, यसलाई सफल हुन दिनु हुँदैन । षड्यन्त्र सफल भए कांग्रेस पार्टी पनि खत्तम हुन्छ ।’ देउवाको निर्लज्जपनले नै देखाउँछ कि गठबन्धन जतिबेला पनि टुट्न सक्छ । रेणुको जितहारमै गठबन्धनको भविष्य छ । प्रचण्डले त भरतपुरका जनता अहिले ठूलो ऐतिहासिक परीक्षणमा रहेको बताउँदै भने, ‘तपाईंहरूले अड्डी कसेर गठबन्धनको विरोध गरिराख्नुको अर्थ प्रतिगमन, निरंकुशता, गणतन्त्रविरोधी र लोकतन्त्रविरोधीलाई साथ दिनु हुनेछ । नेता–कार्यकर्ताको पनि ठूलो अग्निपरीक्षा हुँदै छ । यो फैसला तपाईंकै हातमा छ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका मतदाताले हँसिया–हथौडामा भोट हाल्न गाह्रो मान्दा गठबन्धन टुटेको आरोप लगाउँदै आफू कांग्रेसले धोका दिएकैले गठबन्धन छाड्न वाध्य भएको बताए । त्यतिबेला कांग्रेसकै मतदाताको मतले रेणु मेयर बनेकी थिइन् । तर त्यो गुन बिर्सेर प्रचण्डले कांग्रेसलाई धोका दिएर प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग साँठगाँठ गरेका थिए । अहिले फेरि घुर्की देखाइरहेछन् प्रचण्ड । यदि रेणुले हारे संघीय चुनावमा कांग्रेसलाई छाड्ने उनको उद्घोष छ । कतिसम्म स्वार्थी रहेछन् प्रचण्ड भन्ने कुरा उनको घुर्कीबाटै स्पष्ट हुन्छ । त्यसैले त शुरुआतदेखि नै गठबन्धन गरेर चुनावमा जान नहुने अडान लिएका कांग्रेस नेता डा. शेखर कोइराला पक्षका कुनै पनि शीर्ष नेता सभामा सहभागी भएनन् । जब रेणुले हारे सिंगो गठबन्धन नै टुट्छ भने त्यो गठबन्धन कत्तिको कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ । यसबाट थप स्पष्ट हुन्छ कि यो गठबन्धन देशका लागि हैन केबल प्रचण्डको स्वार्थका लागि हो ।