सरकारको काम कारबाहीबारे गठबन्धनभित्रै तिब्र असन्तुष्टि

Home Feature

मन्त्री फेर्ने तयारीमा प्रचण्ड


काठमाडौँ । जब सेनाहरुले हतियार लिएर दुस्मनलाई तह लगाउने काम गरेनन् भने सेनापति एक्लैले केही पनि गर्न सक्दैन । अहिले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि त्यस्तै भएको छ । एक त प्रचण्ड आफू काममा भन्दा भाषणमा जोड दिने प्रधानमन्त्री परे । त्यसमाथि पनि मन्त्रालय सम्हालेका मन्त्रीहरुसमेत प्रचण्डकै मार्गमा हिँडेपछि के होला । अहिले भएको छ त्यस्तै कुनै पनि मन्त्रीले काम नगरेपछि प्रचण्ड मन्त्रीहरू फेर्ने तयारीमा रहेका छन् । मन्त्रीहरूले जनअपेक्षा अनुरुप काम नगरेपछि प्रम प्रचण्डले काम नगर्ने मन्त्रीहरू फेर्ने योजना बनाएका हुन् ।
उनले सत्ताको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग पनि छलफल गरिसकेका छन् । स्रोतका अनुसार उनले कांग्रेसका केही नेताहरूसँग टेलिफोनमा वार्तासमेत गरिसकेका छन् । सरकारमा सहभागी सबै दलका मन्त्री चित्त बुझ्दो जिम्मेवारी बहन गर्न नसकेको भनी प्रचण्ड रुष्ट भएका हुन् । प्रचण्डले गत महिनादेखि नै असन्तुष्ट पोख्दै आएका छन् । प्रचण्डकै पार्टी माओवादीभित्र पनि असन्तुष्टि चुलिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर पहिलेदेखि नै असन्तुष्टि छ । उनले प्रहरी प्रशासनलाई तालमेलमा ल्याउन नसकेको आरोप खेप्दै आएका छन् । सत्ता गठबन्धनका कारण पनि प्रचण्डले असहज महसुस गरेका हुन सक्छन् ।
सबैभन्दा बढी मन्त्रालय लिएको कांग्रेसभित्र नै मन्त्रीहरूको काम देखेर तीव्र असन्तुष्टि रहेको छ । कांग्रेस सरकारमा सहभागी भएको नौ महिना हुन लाग्दा पनि सरकारमा रहेको अनुभूति स्वयं कांग्रेसका नेताहरूले गर्न नपाएको गुनासो गर्दै आएका छन् । गत साउनमा भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै असन्तुष्टि सुनिएको थियो । तर त्यतिबेला मन्त्रीहरूले व्यक्तिगत रुपमा लिएर उल्टै इख पोख्ने काम गरे ।
कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘यो र त्यो मन्त्री भन्दा पनि सबै मन्त्रालयको रिभ्यु गनुपर्ने भएको छ । कुनै पनि मन्त्रालयको बारेमा सकारात्मक सन्देश जनसमक्ष गएको छैन । यसमा छलफल हुनुपर्छ । छिट्टै हुन्छ ।’ बजेटका बेलादेखि नै अर्थमन्त्री डा. प्रकाशशरण महत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल विवादित हुँदै आएका छन् । सेनाभित्रको विवाद र माओवादीको जनसेनाबाट समाहित भएर आएका सहायक रथी यमप्रसाद अधिकारीको समय थपेर अगाडि बढ्ने कदममा साथ दिएसँगै मुछिएर उच्च अधिकृतहरूको कहिले शैक्षिक प्रमाणपत्र र कहिले उमेर विवादका विषयमा कडा भएर प्रस्तुत हुन नसकेको आरोपमा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का पनि विवादमा तानिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका कर्मदेखि त सत्याग्रही प्राडा गोविन्द केसीलेसमेत चर्को असन्तुष्टि पोखेका छन् । बस्नेत आएपछि उनको व्यवहारका कारण चिकित्सकहरू अस्पताल गएर बिरामी हेर्ने माहोलसमेत कम भएको छ । वीर अस्पतालमा व्यवस्थित नगरी एकैपटक थुप्रै संख्यामा चिकित्सक निकालेर मन्त्री बस्नेतले अस्पताललाई नै रोगी बनाउन खोजेको आरोप लागेको छ । यतिसम्मकि वीरका चिकित्सक एवं स्वास्थ्यकर्मीले तलबसमेत पाउन सकेका छैनन् ।
परराष्ट्र मन्त्री एनपी साउदलाई त कांग्रेसकै नेता कार्यकर्ताहरू हवाई मन्त्री भन्न थालेका छन् । परराष्ट्र कूटनीतिमा कुनै सम्झनलायक काम नगरे पनि विदेश भ्रमणमा निरन्तर रहिरहने भएका कारण उनलाई हवाई मन्त्री भनिएको हो । शहरी विकास मन्त्री सीता गुरुङको चुरीफुरी पनि बढेको छ । उनले देशै आफ्नो भन्दा जताततै पैसा छरिरहेको भन्दै चर्को असन्तुष्टि छ । कानून मन्त्री धनराज गुरुङले कानून बनाउने विधेयक ल्याउने विषयमै नैराश्यता देखाएको भन्दै सांसदहरु असन्तुष्ट छन् । बालबालिका मन्त्री सुरेन्द्र आचार्य आफैँ केटाकेटी शैलीमा चलिरहेको भन्दै कांग्रेसभित्रै असन्तुष्टि छ ।
सबैजसो मन्त्रीहरूबाट राम्रो काम हुन नसकेपछि रिसाएका प्रधानमन्त्री प्रचण्डले यूएईबाट कोप सम्मेलनमा सहभागी भएर फर्केपछि यो प्रक्रियालाई अगाडि बढाउने बुझिएको छ । उनले कांग्रेसका नेताहरूलाईसमेत आफू विदेशबाट फर्केपछि तत्काल छलफल गरेर यो विषय टुंगोमा पुर्याउनु पर्नेमा उनले जोड दिएको स्रोतले बताएको छ । यतिधेरै हल्लीखल्ली भइरहँदा कांग्रेसले सरकारको समीक्षा गर्ने भएको छ । बैठक डाकेर मन्त्रीहरूसँग छलफल गर्ने भएको हो । उक्त बैठकमा देशमा आएका विपद्, नागरिकका अप्ठेरा र सरकारका नियमित कामलाई प्रभावकारी बनाउने विषयमा गम्भीर समीक्षा हुने भएको हो । सरकारको काम भरोसा लाग्दो नभएको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले निरन्तर आक्रोश पोख्दै आएको छ ।