अनिर्णयको बन्दी बन्यो एमाले

Home Feature राजनीति

काठमाडौं । मुलुकको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले अनिर्णयको बन्दी बनेको छ । देश चरम संकटमा रहेका बेलामा एमाले शान्त बनेको हो । यस्तो लाग्छ कि अहिले देशमा के भइरहेको छ भन्नेबारे एमालेलाई थाहापत्तो छैन । ठ्याक्कै रोम जलिरहेछ नुरो बाँसुरी बजाइरहेजस्तै । देश एमसीसीको विषयमा खण्डित हुन थाल्दैछ । तर एमालेलाई वास्ता छैन । एमसीसी सम्झौतालाई सन्धीको मान्यता दिने गरी संसदमा दर्ता भएको एमसीसीको बारेमा सत्ता गठबन्धनतिरै ‘तीर’ फर्काउने गरी एमाले अनिर्णयको बन्दी बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद खुलाउने दायित्व एमालेकोसमेत भएकाले संसद खुलाउने असहमति रहेका विषयहरु संसदबाटै टुंग्याउन गरेको आग्रहलाई पनि एमालेले वास्ता गरेको छैन ।
देउवाले एमालेबाट विभाजित भएका माधवकुमार नेपाललाई च्यापेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अडान कायम राखेका छन् । एमसीसीको पक्ष वा विपक्षमा रहने विषयमा एमाले अलमलमा छ । एमाले केन्द्रीय सचिवालय र संसदीय दलको बैठकमासमेत एमसीसी लगायतको विषयमा छलफल भए पनि कुनै निर्णय गर्न सकेन । एमाले अध्यक्ष ओलीले उचित समयमा सही निर्णय गर्ने भन्दै प्रश्न गर्ने नेतालाई टालटुल जवाफ दिएर बसेका छन् । एमालेले माओवादी केन्द्र र नेकपा एस पार्टीको निर्णय कुरेर बसेको देखिन्छ । त्यस्तै नेपाली कांग्रेससँग पनि एमालेले दोहोरो नीति अवलम्बन गरेको स्पष्ट छ । एमालेले कारबाही गरेका १४ जना
सांसदलाई हटाउनु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने, सभामुखले राजीनामा नदिए उनलाई महाभियोग लगाएर हटाउनु पर्ने जस्ता विषयमा कांग्रेससँग छलफल गरिरहेको छ ।
साथै एमालेले गठबन्धन तोडिएमा संसद खुलाउने संकेत पनि गरेको छ । पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसले एमसीसी पारित गर्नुपर्ने पक्षमा निर्णय गरिसकेको छ । तर एमालेले भने अहिलेसम्म पनि कुनै निर्णय गर्न सकेको छैन । एमालेले कांग्रेसप्रति एस पार्टीलाई ‘स्पेस’ दिएको रीस फेरिरहेको छ । तर एमसीसी राष्ट्रिय मुद्दा बनिसक्दा पनि एमाले मौन बस्दा मुलुकको राजनीति नै ‘डेडलग’ तर्फ उन्मुख भएको छ । एमालेभित्र भीम रावल, घनश्याम भुषाल, झपट रावल, दीपकप्रकाश भट्ट, कृष्णभक्त पोखरेल मात्र होइन अधिकांश सांसद र केन्द्रीय सदस्य पनि एमसीसीको विरोधमा रहेका छन् । उनीहरुले एमसीसीको पक्षमा रहँदा निर्वाचनमा एमालेलाई घाटा हुने बताएपछि अध्यक्ष ओली एमसीसीबारे तत्काल निर्णय लिनबाट पछि हटेको र सकेसम्म सत्ता गठबन्धनबाटै पास भए एमालेले एमसीसीबारे कुनै पनि मुद्दा बोकेर हिँड्न नपर्ने दाउपेचमा रहेका छन् । पाँच दलीय गठबन्धनमा खास गरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी संसदमा पेश गर्न र पास गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवा यतिबेला विकल्पको खोजीमा भएकै बेला एमालेको साथ खोजिरहेका छन् । तर एमालेले तत्कालै हरियो झण्डा हल्लाएको छैन । आखिर एमाले कहिलेस्म्म अनिर्णयको बन्दी बनेर बस्छ ? भन्ने प्रश्न एमाले सामु तेर्सिएको छ । अर्कातर्फ एमसीसी सदनमा यसअघि पेश गर्नेमा केपी ओली नै हुन् । अब उनैले अस्वीकार गर्ने अवस्था नरहेको पनि बताइन्छ । तर निहीत स्वार्थका कारण एमाले अनिर्णयको बन्दी बनेर बस्न नमिल्ने तर्क भइरहेको छ ।