कोराना खोपका लागि हारगुहार, चीनसँग टेलिफोन, भारतलाई पत्र

Home Feature समाचार

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले हारगुहार गरेकी छिन् । खोप दिने भन्दाभन्दै अत्यास दिलाएको सरकारले खोपमा लागि छिमेकी मुलुकहरुसँग आग्रह गरेकी हुन् ।

उनको गुहारअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप अनुदान सहयोग दिने प्रतिबद्धता गरेका छन् । भण्डारीसँग बुधबार भएको टेलिफोन संवादमा सीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संजाल ट्वीटरमा राष्ट्रपति सीले संवादका दौरान नेपाललाई अनुदान सहयोगअन्तर्गत १० लाख खोप दिने घोषणा गरेको जानकारी गराइन् । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

बेमौसममा संसद विघटन गरेर चुनावको घोषणा गरेको सरकारविरुद्ध ‘पहिले भ्याक्सिन तब भोट’ भन्ने विचार जनमानसबाट आउन थाल्दा अताल्लिएको सरकार तातेको हो ।

यसैबीच बुधबारै चिनियाँ राष्ट्रपतिसँग संवाद गरेकी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेकी छिन् । कूटनीतिक माध्यममार्फत कोविन्दलाई खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेकी हुन् ।

भारतमा दोस्रो लहर आएर भारत आफैं संकटमा परिरहेको बेलामा राष्ट्रपति भण्डारीले खोपको लागि अनुरोध गरेकी हुन् । भारत सरकारले अहिलेसम्म नेपाल सरकारलाई १० लाख खोप अनुदानमा दिइसकेको छ । एक लाख खोप भने भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेको थियो ।

त्यसपछि नेपालले भारतबाट २० लाख खोप खरिद गरेकामा हालसम्म १० लाख खोपमात्र आइपुगेको छ । सरकार निकटका विचौलियाका कारण १० लाख खोप अझै आएको छैन । त्यो खोप नआएकै कारण वृद्धवृद्धा अलपत्र परेका छन् ।