प्रचण्ड र आरजुको अभिव्यक्तिले राजनीतिमा तरंग

Home Feature राजनीति

मतदातालाई यस्तो धम्की


काठमाडौं । चुनावमा आचारसंहिता भन्ने शब्दको पालना अपरिहार्य छ । तर त्यो तोड्नकै लागि बनाइएकोजस्तो लाग्छ । यसको प्रमुख कारण हो सबैजसोेले आचारसंहिता तोड्नु । सानादेखि ठूलासम्मले आचारसंहिता तोडेर हैरान छ । निर्वाचन आयोगलाई त यसको लेखाजोखा राख्न नै समस्या जस्तो लाग्छ । यही क्रममा मतदाता थर्काउनेसम्मका कामहरु भइरहेका छन् । अरु त अरु पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा पनि त्यही कोटामा खडा भएका छन् ।
उनीहरुले तोडेको उक्त आचारसंहिताको भने निकै चर्चा परिचर्चा भइरहेको छ । उनीहरुले दुवैले मतदातालाई थर्काइरहेका छन् । अत्याइरहेका छन् । यस्तो लाग्छ कि मतदाताले मन लागे पनि नलागे पनि उनीहरुको आदेश मानिदिनु पर्नेछ । प्रचण्डले आफ्नी छोरी रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा फेरि चुनाव नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका छन् । त्यस्तै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजूले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की दिएकी छिन् । प्रचण्डले गत बिहीबार सत्ता गठबन्धनले भरतपुरमा गरेको सभामा रेणु र चित्रसेनको टिम विजयी भए आफू निकै उत्साही हुने र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने बताएका थिए ।
त्यससँगै उनले कांग्रेसका मतदातालाई चेतावनी पनि दिँदै भने, ‘हँसिया हथौडामा भोट हाल्दिन भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गर्नेहरूले दिनुपर्नेछ ।’ उनको यो अभिव्यक्तिको सबैतिर विरोध भएको छ । मतदातालाई धम्क्याउनु सह्य नहुने चेतावनीसमेत दिन थालिएको छ । यो अभिव्यक्तिको सामाजिक संजालमा त चर्को विरोध भएको छ नै राजनीतिक दलहरुबीच बहसको विषय पनि बनिरहेको छ । प्रचण्ड पटक पटक बार्गेनिङको राजनीतिमा सक्रिय रहँदै आएको कांग्रेसी बुझाइ छ । प्रचण्डको त्यो भाषणमा मतदातालाई घुक्र्याएको,
धम्क्याएको संकेत देखिएको थियो । दुर्घटनामा जान्छ भनेर एक पटक हैन पटक(पटक भनेका छन् । भन्दै आएका छन् । उनको आजकलको हाउभाउ नै अर्कै देखिन्छ । यसबाट त प्रचण्डले निर्वाचनलाई स्वभाविक प्रक्रियाबाट सम्पन्न गर्न चाहेको हो वा हैन भन्ने शंका बढेर गएको छ । यता चितवनमा प्रचण्डको धम्कीपूर्ण भाषणसँगै डडेलधुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजूले कांग्रेसले हारेका नगरपालिकामा पैसा नपठाउने अभिव्यक्ति दिइन् । उनले भनिन्, ‘जहाँ हाम्रो मेयर नै हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौं ? कसले पैसा पठाउने ?’ उनले कांग्रेसबाट विद्रोह गरेर एमालेको सहयोगमा उम्मेदवार भएकाहरूलाई लक्षित गर्दै भनेकी थिइन्, ‘अहिले पार्टी सिष्टम छ, पाँच दलको गठबन्धन छ, भोलि विकास बजेट आवश्यक प¥यो भने करुवावाला (बागी समूहको चुनाव चिन्ह) को फोन कसले उठाउँछ ? कसले मान्छ उनीहरूले भनेको ? कांग्रेसले जित्यो भने शेरबहादुर दाइ, आरजू भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ तर करुवावालाको फोन कसले उठाउने ? उनीहरूलाई कसले पत्याउने ? कांग्रेसले उनीहरूले भनेर बजेट हाल्दैन, जहाँ कांग्रेसको मेयर हुँदैन त्यहाँ हामीले बजेट किन हाल्ने ?’
आरजूको यो भनाइ निन्दनीय नै छ । हुनत चुनावमा जे पनि बोल्न पाइने नेपाली राजनीतिको संस्कृति नै बनिसकेको छ । यदि यस्तो नहुँदो हो त प्रचण्ड र आरजूलाई कारबाही भइसक्थ्यो । त्यतिमात्र हैन उनले कांग्रेसलाई जिताए मलेसिया पठाइदिने भनेर युवालाई भड्काएकोसमेत चर्चा भएको छ । धमाधम विदेशबाट युवालाई स्वदेश फर्कन आग्रह गर्दै आइरहेका बेलामा आरजूले मलेसिया पठाइदिने बताएको चर्चासमेत चुलिएको छ । आखिर आफ्नो पक्षमा मत ल्याउन अहिले धेरैजसो दलका थुप्रै प्रचण्ड र आरजूहरु मतदाता थर्काइरहेछन् । निर्वाचन आयोगले कतिलाई स्पष्टीकरण सोधोस् ।