गरिब बस्तीमा पूर्वराजपरिवार

Home Feature राजनीति

झापा । देशका प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपालीले खान नपाउने नहोस् भनी भाषण गर्छन् । कसैले पनि जाडोमा छुट्टै र गर्मीमा छुट्टै कपडा नभएको नहोस् भनी भाषण गर्छन् । सबैको बस्ने राम्रो घर होस् भनी भाषण गर्छन् । उनको चुनावी नारा पनि समृद्ध नेपाल सुखी नेपाली थियो । तर व्यवहारमा ओली फरक छन् । उनका पाँच वटा घर भएको सार्वजनिक भएको छ । एउटा कच्ची र चार वटा पक्की घर रहेका छन् ।


तर ओलीको बोलीभन्दा नबोली काम गरेर देखाउने पूर्वराजपरिवारलाई अहिले नागरिकले जयजयकार गरिरहेका छन् । ओलीले जनताका नाममा सपना बाँड्दै आफू समृद्ध भइरहँदा पूर्वराजपरिवार भने निर्मल निवासबाट विश्राम लिन झापा गएर गरिब बस्तीलाई सघाउन पुगेको विषयले धेरैको मन तानेको छ । पूर्वराजपरिवार पञ्चायतकालमा राजा महेन्द्रले बसाएको झापाको पृथ्वीनगरको गरिब बस्तीमा पुगेपछि स्थानीय नतमस्तक भएका छन् ।


पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रस्टले शनिवार गरिब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको हो । हिमानी ट्रस्टले मानवीय सहायताको क्षेत्रमा काम गरिरहेको छ । यही काम अन्तर्गत ओलीले काठमाडौंमा संविधान मिचेर हल्ला गरिरहँदा पूर्वराजपरिवार शान्तसँग ओलीको चुनावी जिल्ला झापामा पुगेर सहयोग गर्न अग्रसर भएको हो ।


झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा राजपरिवारका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी र पूर्वराजाका नाति हृदयेन्द्रको उपस्थिति रहेको थियो । पूर्वराजाको उपस्थितिमा गरिब परिवारका बालबालिका तथा वृद्धवृद्धालाई हिमानी तथा हृदयेन्द्रबाट राहत वितरण गरिएको हो ।

६५ परिवारका बालबालिकालाई न्यानो कपडा तथा वृद्धवृद्धालाई स्लिपिङ ब्याग ट्रस्टले उपलब्ध गराएको हो । राजा महेन्द्रले पुनर्वास कम्पनीमार्फत बसाएको बस्तीका गरिब परिवारका बालबालिका तथा वृद्धवृद्धाका लागि राहत उपलब्ध गराइएको हो । राहत उपलब्ध गराएको क्षेत्रका बासिन्दा अत्यन्त गरिब रहेका स्थानीयबासीहरूले बताएका छन् । राहत पाएपछि स्थानीयवासी खुशी भएका छन् ।


हिमानी ट्रस्टको कार्यक्रममा विरलै उपस्थित हुने पूर्वराजालाई देखेपछि एकाएक स्थायीय जोसिए । उनीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै नारा घन्काए । त्यसले पक्कै पनि झापाको राजनीतिलाई हल्लाएको हुनुपर्छ ।


जाडो छल्न पूर्व राजपरिवार केही समयदेखि झापाको दमकमा रहेका बेलामा शनिबार गरिब बस्तीमा पुगेर सहयोग गरिएको हो । ओलीले सपना बाँड्दै आइरहेकामा पूर्वराजपरिवार साक्षात् आएर सहयोग गर्दा त्यो बस्ती दङ्ग त भयो नै यसले केन्द्रीय राजनीतिमा समेत प्रभाव पार्ने निश्चित छ ।