रहेनन् पूर्व सदस्यसचिव राजबहादुर सिंह

खेलकुद

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव राजबहादुर सिंह अब रहेनन् । राखेपका सातौं सदस्य सचिव सिंहको ८८ वर्षको उमेरमा शुक्रबार राति (असार १२ गते) निधन भएको हो ।

उनको काठमाडौंको छाउनीस्थित आफ्नै निवासमा राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका दुई छोरा र एक छोरी छन् ।

सिंहले २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका थिए । फुटबल खेलाडीसमेत रहेका सिंह नेपालले आगा खाँ गोल्डकप खेल्दा टोलीका सदस्य थिए ।

सिंहले काठमाडौं खेल मन्डल (हालको एनआरटी) र विद्या व्यायामबाट पनि व्यवसायिक फुटबल खेलेका थिए ।