भलिबल संघलाई ७० लाखको म्याट

खेलकुद

काठमाडौं । नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) बाट भलिबल खेल्ने म्याट सहयोग स्वरुप प्राप्त गरेको छ ।

झन्डै ७० लाख रुपैयाँ बराबरको म्याट गत साता काठमाडौं आइपुगेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।

एफआइभिबी डेभलपमेन्ट हव २०१९ प्रोजेक्टमा छनोट भएर म्याट प्राप्त गरेको बताइएको छ । एफआइभिबीले सामाग्री पठाएको यो चौथो पटक हो ।

यसअघि पनि म्याट, भलिबल र नेट सहयोग गर्दै आएको छ । नेपालले भलिबल खेलमा गर्दै आएको विकासलाई मध्यनजर गर्दै एफआइभिबीले सहयोग गर्दै आएको छ ।

झन्डै दुई वर्ष अघि संघका अध्यक्ष शर्मा र महासचिव जीतेन्द्रबहादुर चन्द स्वीटजरल्यान्डमा रहेको एफआइभिबीको कार्यालय पुगेका थिए ।

राष्ट्रिय खेल भलिबलको कभर्ड हल निर्माणका लागि बजेटमा ५० लाख रुपैयाँ विनियोजन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका थिए ।