लिभरपुल बन्यो ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन

खेलकुद

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इङ्गलिश प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातिको खेलमा चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडि नै उपाधि जितेको हो ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि पहिलो गोल गरेका थिए ।

कर्नरपछि सुरु भएको काउन्टर अट्याकमा सिटीको डिफेन्सले गल्ति गरेपछि पुलिसिचले आफ्नै हाफबाट बल अगाडि बढाउँदै वन भर्सेस वन स्थितिमा पुगेर गोल गरेका थिए ।

दोस्रो हाफको ५५ औं मिनेटमा केभीन डे ब्रुएनले बराबरी गोल फर्काए । डे ब्रुएनले झन्डै २५ यार्ड टाढाबाट सिधै फ्रिकिकमा गोल गरेका थिए ।

५७ औं मिनेटमा सिटीले अग्रता लिने अवसर पाएपनि रहिम स्टर्लिङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् ।

खेलको ७८ औं मिनेटमा चेल्सीले विलियनको गोलमा पुनः अग्रता लियो । ट्यामी अब्राहमले ६ यार्ड बक्स भित्रबाट गरेको प्रयासलाई फर्नान्डिन्होले गोललाइनबाट क्लियर गरेको देखिए पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिएका थिए ।

भीएआरबाट फर्नान्डीन्होले ह्यान्ड गरेको देखिएपछि रेफ्रीले उनलाई रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टी दिएका थिए । विलियनले उक्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

यस नतिजासँगै शीर्षस्थानको लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिग उपाधि पक्का गरेको हो ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीले ३१ खेलमा ६३ अंक जोडेको छ । चेल्सीले भने ३१ खेलमा ५४ अंक जोड्दै तेस्रो स्थानको लेस्टरसँगको दूरी १ अंकमा झार्यो ।

लिभरपुलले सन् १९८९–९० को सिजनमा उपाधि जितेपछि पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको हो ।

जितपछि लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले प्रिमियर लिग जित्नु आफ्ना लागि अविश्वसनिय उपलब्धि भएको बताएका छन् । उनले खेलाडीहरुको उत्कृष्ट प्रदर्शनका कारण ३० वर्षपछि पहिलो पटक टोली प्रिमियर लिग जित्न सफल भएको बताए ।

लिभरपुलको यो १९ औं प्रिमियर लिग उपाधि हो । सन् १९९० अगाडि लिभरपुलले १८ पटक लिगको उपाधि चुमेको थियो ।

यो सिजन ३१ खेलमा क्लोपको टोलीले २८ खेलमा जित निकालेको छ भने २ खेलमा बराबरी र अहिलेसम्म १ खेलमा मात्र हार बेहोरेको छ ।

आफ्नो नेतृत्वमा पहिलो पटक टोलीले लिग उपाधि जितेपछि अन्तवार्ता दिने क्रममा क्लोपले यसलाई अविश्वसनिय उपलब्धि भनेका हुन् ।

‘मसँग कुनै शब्द छैन । यो साच्चै अविश्वसनिय छ । मैले सोचे भन्दा पनि बढी सम्भव भएको छ’ क्लोपले भनेका छन्, ‘क्लबका लागि यो ठूलो उपलब्धि हो । क्लबसँग सम्बन्धित सबैका लागि यो उपलब्धीको अर्थ छ । सिटीको खेलका कारण तनाब थियो । तर म त्यसमा धेरै आबद्ध भइन । मेरो खेलाडीले साँच्चै उच्च प्रदर्शन गरेका छन् । पछिल्ला केहि वर्षमा हामीले असाधारण प्रदर्शन गरेका छौं । उनीहरुलाई प्रशिक्षण दिन पाउनु मेरो लागि पनि खुशीको विषय हो ।’

उनले क्लबका लागि उपाधि जित्नु ठूलो क्षण भएको पनि बताएका छन् । ‘यो हाम्रो लागि महत्वपूर्ण क्षण हो । यसलाई व्यक्ति गर्ने सहि शब्द मसँग छैन’, उनले भने, म साच्चै आभारी छु । मैले यस्तो होला भन्ने कहिल्यै कल्पना गरेको थिइन ।’

क्लोपले यो उपलब्धिको खेलाडी, समर्थकले सामूहिक रुपमा विजय उत्सव मनाउनु पर्ने र भविष्यमा ट्रफीसहित र्यालीको हुने विश्वास पनि दिलाएका छन् । ‘यो विजय उत्सव मनाउनु पनि आफैमा महत्वपूर्ण हुन्छ । किनकी यो क्षण भनेको विर्सन नसकिने क्षण हो’, उनले थपे, ‘सिजनभरीको तस्बिर हामीसँग छ । अब विजय उत्सब मनाइरहेको पनि त्यसमा हुनुपर्दछ । त्यसैले हामीले तस्बिरका लागि पनि भविष्यमा समर्थकका साथ र्याली गर्नेछौं ।’