खेलकुदमा मन्त्री र सदस्यसचिवबीच टकराब

खेलकुद

काठमाडौं । खेलकुदमा युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिवबीच टकराव सुरु भएको छ । मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विभिन्न खेल र खेलाडीको सामान खरिदमा भएको अनियमितताको छानबिन गरि कारबाही गर्न निर्देशन दिएसँगै टकराब सुरु भएको हो ।
मन्त्रालयमा शुक्रबार बसेको राखेपका उपलब्ध पदाधिकारीको बैठकमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साग खेलकुदको दौरान खेल र खेलाडीका लागि खरिद गरिएको जुत्ता, म्याट लगायतका आधारभुत सामाग्रीको दाखिला तथा वितरणमा भएको भनिएको अनियमितताको छानबिन गरि दोषी ठहर भए कारबाही गर्न राखेपलाई निर्देशन दिएका हुन् ।
परिषद्का बोर्ड सदस्य सुबास श्रेष्ठले साग खेलकुदको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको सार्वजनिक रुपमा आरोप लगाएपछि मन्त्रालयले समिति गठन गरि छानबिन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिवलाई निर्देशन दिएको हो ।
यस्तै बैठकमा मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार खेलकुद क्षेत्रमा सुशासन कायम राख्न अबलम्बन गर्नुपर्ने संरचनागत र संस्थागत सुधारको कार्ययोजना बनाउन राखेपलाई निर्देशन दिएका छन् । उनले खेलकुद ऐन २०७७ को मर्म र भावना अनुसार सुशासन कायम राख्न र संस्थागत सुधारको कार्ययोजना बनाउन सदस्य सचिव रमेशकुमार सिलवाललाई निर्देशन दिएका हुन् ।
बैठकमा सदस्य सचिव सिलवालले निश्चित अवधि तोकेर नियमित रुपमा बैठक बस्नुपर्नेमा प्रस्ताव राखेका थिए । नयाँ ऐन असार १७ गते कार्यान्वयनमा आएपछि मन्त्री सहित नवनियुक्त राखेपका पदाधिकारीको पहिलो औपचारिक बैठक शुक्रबार बसेको छ ।
सागको रकमको अहिलेसम्म सदस्यसचिव सिलवालले फर्छयौट गरेका छैनन् । उनले यसको हिसाब नदिएसम्म उनलाई चैन नहुने संकेत मन्त्री विश्वकर्माले दिइसकेका छन् । यो टकराब विस्तारै बढ्दै जाने दावी गरिएको छ ।