मेस्सीको शर्मनाक हार

खेलकुद

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा स्पेनिश क्लब बार्सिलोनाले शर्मनाक हार ब्यहोरेको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।
हार बार्सिलोनाले बेहोरेको भए पनि आलोचना भने सबैभन्दा बढी बार्सिलोनाका नम्बर वान खेलाडी लियोनल मेस्सीमाथि परेको छ । अर्जेन्टाइन स्ट्राइकर मेस्सीले यतिठूलो लज्जास्पद हार बेहोरेपछि उनी बार्सिलोनाबाट बाहिरिनु पर्ने धारणा पनि आइरहेका छन् ।
मेस्सीले स्पेनिश लिगमा सर्वाधिक गोल गरे पनि यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन सकेनन् । यो हारले त उनी एकछिन पनि बार्सिलोनामा बस्न नहुने तर्क गरिएको छ । मेस्सी कहिले पनि बाहिर नजाने प्रण गरेका थिए । बार्सिलोनाबाटै करियर अन्त्य गर्ने बताएका थिए । तर उनको टिमको शुक्रबार रातिको खेलले गर्दा उनको करियर पनि धरापमा परेको अनुमान भएको छ ।
खेलमा थोमस मुलर र फिलिप कौटिन्होले समान दुई दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । जितसंगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो । हारसंगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ ।
मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसंगै बार्सिलोना खेलमा फर्किएको थियो । २८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए ।
सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए । दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो ।

५७ औ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे । त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किमिचले ६३ औ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाएका थिए । रोबर्ट लेवान्डोस्कीले थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पुरा गरे ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्व खेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे । ८५ औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए । पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियाल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो ।

बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ । च्याम्पियन्स लिगबाट समेत बाहिरिएपछि यस सिजन बार्सिलोनाका लागि निकै खराब रह्यो । यस सिजनको बुन्डेसलिगा च्याम्यिन बायर्नले अब फाईनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासंग खेल्नेछ ।