मेधावी सम्मानबाट उत्कृष्ट सम्माानित

खेलकुद

दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा राजधानीको त्रपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल तथा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप फुटबलमा नेपालले स्वर्ण जित्दा विराज टोलीका कप्तान थिए । ट्रष्टले पाँच विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रत्येक क्षेत्रका खेलाडीलाई सम्मान गर्दै आएको छ । विराज मध्यमाञ्चलबाट छनोट भएका हुन् ।

त्यस्तै पूर्वाञ्चलबाट जुडोकी फुपु ल्हामु खत्री, पश्चिमाञ्चलबाट तेक्वान्दोकी निमा गुरुङ, मध्यपश्चिमाञ्चलबाट उसुकी निमा घर्ती मगर तथा सुदूरपश्चिमाञ्चलबाट उसुकै राजेश चौधरी उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भए । चारै १२ औं सागका पदक विजेता हुन् । फुपु र निमाले स्वर्ण तथा तेक्वान्दोकी निमा र राजेशले रजत पदक जितेका थिए । चारैले १० हजार १ रुपैयाँका दरले नगद र सम्मान पत्र पाए ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, नेपाली कांग्रेसका नेता एनपी साउद, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द तथा राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र राईलगायतले खेलाडीलाई सम्मान गरे । फुपु प्रशिक्षणका लागि हंगेरीमा रहेका कारण उनकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन् ।