अनलाईन कराते नेपाललाई अपेक्षाभन्दा बढी सफलता

खेलकुद

काठमाडौं । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले सफलता हासिल गर्न सफल भएको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् ।
उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ बर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । ८ बर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलङकाका थरुशा लकमललाई पराजित गरेका थिए ।
यसैगरी महिला १० बर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन् । उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिईन् । ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीहरुले ३ रजत पनि हात पार्न सफल भएका छन् ।
रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेट तर्फ मनिष कार्की रहेका छन् । यस्तै महिला ९ बर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ बर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरे । २ जुलाई देखि संचालन भएको च्याम्पियनसिपमा ९ बर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० बर्ष मुनिका स्पर्धामा ओन्तो घर्ती मगर र १३ बर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे ।
तीन दिनसम्म चलेको प्रतियोगिताको दोस्रो दिन पनि नेपालले पदक जित्यो । प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरका अनुसार आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० को दोस्रो दिन नेपालले थप चार पदक थप्न सफल भयो ।
ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोश्रो दिन थप एक स्वर्ण, एक रजत र दुई कास्य जोडेको हो ।
जुनियर क्याटेगोरी अन्तरगत नेपालका प्रनिल मानन्धरले स्वर्ण र सुनिल खड्काले रजत हात पारे । यस्तै लोकमान श्रेष्ठले कास्य पदक हात पारे । सोहि बिधा अन्तरगत महिला तर्फ श्रद्धा थापाले कास्य जितिन् ।
अघिल्लो दिन ४ स्वर्ण, ३ रजत र ३ कास्य सहित १० पदक जितेको नेपालले दोस्रो दिन थप एक स्वर्ण, एक रजत र दुई कास्य सहित पदक संख्या १४ पु¥यायो ।