कोरोनाले खायो नेपाली फुटबल

खेलकुद

काठमाडौं । नेपाली फुटबललाई कोरोना भाइरसको महामारीले खाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित भएसँगै उपत्यका भित्रिएका खेलाडीलाई घरसम्म पु¥याइदिएको छ । फिफा विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा बोलाईएका उपत्यका बाहिरका खेलाडीलाई एन्फाले गृहजिल्ला पु¥याइदिएको हो । उपत्यका छिरेका पूर्वका खेलाडीलाई एन्फाले आफ्नै गाडीमा घर फर्काएको छ ।
एन्फाले पूर्वका ९ खेलाडी र पोखराका अफिसियल सहित ३ जनालाई घर पठाएको हो । पूर्व जाने खेलाडीमा दर्शन गुरुङ, विशाल राई बी, अनन्त तामाङ, मिक्चेन तामाङ, दिलेन लोक्ताङ, रन्जित धिमाल, पुजन उपर्काेटी, देवेन्द्र तामाङ र विकाश खवास रहेका छन् ।
यस्तै पोखरा जानेमा बिमल राना, दिप कार्की र सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका छन् । अन्य खेलाडी भने उपत्यकामा रहँदै आएका छन् । भदौ १ गतेबाट तय भएको प्रशिक्षण एन्फाले अनिश्चित समय सम्मका लागि स्थगित गरेको छ । एन्फाले प्रशिक्षण सुरु गर्ने भन्दै खेलाडीलाई उपत्यका बोलाएको थियो । उपत्यकाबाट आउने खेलाडीलाई होटेलको क्वारेन्टिनमा समेत राखेको थियो ।

तर, एसियाली फुटबल महासंघ (एएफसी) ले छनोटका सम्पूर्ण खेलहरु २०२१ सम्मका लागि स्थगित गरेसँगै एन्फाले प्रशिक्षण समेत स्थगित गरेको थियो । प्रशिक्षण तयारी योजना अनुसार एन्फाले खेलाडीसहित अफिसियल र स्टाफको कोरोना परिक्षण समेत गराएको थियो ।
५४ जनाको परीक्षण गरिएकामा एक जनाको भने पोजेटिभ आएको थियो । राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएसँगै एन्फाले मंगलबार नै क्वारेन्टिनमा रहेका खेलाडीलाई रिलिज गरेको थियो । एन्फाले खेलाडीलाई होम आईसोलेशनमा बस्न अनुरोध गरेको छ । यस्तै एन्फाले आफ्नो कार्यालय समेत १ हप्ताको लागि बन्द गरेको जनाएको छ ।
कतारमा हुने फिफा विश्वकप २०२२ छनोट र चीनमा हुने एसियन कप २०२३ छनोटको समूह ’बी’ मा रहेको नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ । नेपालले असोजमा चाईनिज ताइपेई र अष्ट्रेलियासँग तथा कात्तिकमा जोर्डनसँग खेल्ने मिति तय थियो । एएफसीले उक्त बाँकी खेल सन् २०२१ मा गराउने जनाएको छ ।
एएफसीले नयाँ मिति भने तोकेको छैन । अर्थात् नेपाली फुटबल फेरि अनिश्चितातर्फ धकेलिएको छ । एन्फाले यो वर्षदेखि थप केही प्रतियोगिता आयोजना गर्ने जनाएको थियो । दशरथ रंगशाला पनि निकै नै चम्किलो बनाइएको छ । तर कोरोनाले गर्दा नेपाली फुटबललाई डुबाउने निश्चित छ ।