विषम समयमा नेता बोलाएर राष्ट्रपतिको धन्यवाद भोज, पूर्वराजाको जन्मोत्सव स्थगित

Home Feature राजनीति लेख विचार समाचार

काठमाडौं । देश र जनताप्रति को कति संवेदनशील छ भन्ने कुराको प्रमाण असार १० गतेका दुई वटा घटनाले स्पष्टै पार्छ । राष्ट्रपतिको गरिमा विद्यादेवी भण्डारीले कतिसम्म राख्न सकेकी रहिछन् भन्ने प्रमाण पनि बन्न सक्छ । र, राजमुकुट राजदरबारमा छाडेर बाहिर निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यसको १२ वर्षसम्म पनि उही आत्मीय भाव देखाउँदा त्यो अर्को प्रमाण थपिन सक्छ ।

भएको त्यस्तै छ । राष्ट्रपति भण्डारीले उक्त दिन दलहरुबीच नेपालको नयाँ नक्सा अद्यावधिक, संविधानमा संशोधन गर्दा देखाएको एकताका लागि बधाई दिन राष्ट्रपति कार्यालय सितल निवासमा जमघटका लागि बोलाएकी थिइन् । यो आफैमा पनि हाँस्यास्पद हो । जनता भोकमरीले मरिरहेका छन् उनलाई भोज । धन्यै रातिको रात्रिभोज भएन । यदि भएको भए कति अनिष्ट हुन्थ्यो होला ।

सरकारले कोरोनाको महामारीलाई फैलिन नदिन गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । जेठ ३० देखि भद्रगोल तरिकाले लकडाउनलाई अव्यवस्थित बनाउने काम पनि सरकारले नै गरेको छ । लकडाउन जस्तो दिन लाग्दैन । तर गरिब जनता जसका आफ्ना साधन छैनन् उनीहरुका लागि यो कालजयी समय हो ।
जतिसुकै लकडाउन खुकुलो भए पनि सामाजिक भेला, सम्मेलन तथा भोजभतेर, सार्वजनिक यातायात सञ्चालन आदिमा रोक अझै जारी छ । सर्वसाधारणका लागि २५ जनाभन्दा बढी एकै स्थानमा भेला नहुन उर्दी जारी गरेको अवस्थामा राष्ट्रप्रमुखले भने वृहत भोजको आयोजना गरिन् । बुधबार राति संसदमा प्रतिनिधित्व गर्ने दलका वरिष्ठ नेताहरुलाई बोलाएर दिइएको उक्त भोजको उद्धेश्य भने धन्यवाद दिन भनिएको छ । तर जनताको प्रश्न छ ‘हाम्रा नेताहरुले के त्यस्तो गर्नु भयो र त्यसरी भोज नै आयोजना गरेर धन्यवाद दिनुपर्ने ? त्यो पनि यस्तो संकटको समयमा ।’ भोजको उद्धेश्य जे बताए पनि भित्री त्यसको उद्धेश्य एमसीसीलाई संसदबाट पारित गराउने प्रयास नै हो भन्ने अडकल सबैले काटेका छन् ।

कोरना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको छ । बर्षादको मौसम भएकाले अझ बढ्दो क्रम छ । बाढी पहिरोका कारण जनता मरिरहेका छन् । तराई डुवानको सुरुवात भइसकेको छ । नागरिक भोकमरीको चपेटामा छन् । स्कुलहरु बन्द छन् । सामान्य उपचारको अभावमा नागरिक मरिरहेका छन् । अर्थ प्रणाली ध्वस्त प्राय भएको छ । देशको खर्च र आयको अनुपात ३ः१ को अनुपातमा छ । राष्ट्रिय धुकुटी रित्तो हुँदै छ । प्रशासनिक खर्चको लागि समेत दातासँग अनुनय गर्नु परेको अवस्था छ । यस्तो विषम परिस्थितिमा अलि मानवीय भइदिएको भए हुन्थ्यो कि भन्ने लागेको छ ।

हरेक कामको आफ्नो समय हुन्छ । तर संयोग नै मान्नु पर्छ, पुर्वराजा ज्ञानेन्द्र शाहले जनता विषम परिस्थितिमा परेको कारण आफ्नो जन्मोत्सव स्थगन गर्ने निर्णय गर्नु र देशकै अभिभावक र जनताको प्रतिनिधि राष्ट्रपतिको भने ठीक उल्टो भोजभतेर गर्नु एकैदिन परेको छ । यसले हाम्रो बाटो कतै उल्टोतिर त गइरहेको छैन भन्ने कुराको शंका हुन थालेको छ ।

अहिले राज्य संचालन गर्नेहरुको व्यवहारका कारण जनतामा व्यवस्थाप्रति नै अविश्वासको बादल मडारिन थालेको छ । प्रष्ट रुपमा देख्न सक्छौं अहिलेका राज्य संचालकहरुका कारण व्यवस्थाप्रति असन्तुष्टि छ ।

यतिसम्मकी कोरोनाको संक्रमणका बेलामा भ्रष्टाचार गरेर १० अर्ब स्वाहा पार्नु अनि आफू गन्हाएको चाल पाएपछि गौरव गाथा बोकेको नेपाली सेनालाई दलाली गर्ने काममा लगाउनु, औषधि किनबेचको ठेक्का दिनु, सडक निर्माणको ठेक्का दिनु जस्ता कामले गर्दा सरकारको बदनामी अझ स्पष्ट भएको छ । सरकार सोचिरहेको होला कि सेनाबाट खतरा हुन सक्छ, यसलाई प्नि संगसंगै मुछेपछि तैंचूप मैचूप ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट यो भन्दा फराकिलो सोच राखेर आफ्नो जन्मोत्सव नमनाउने निर्णय गर्नु, कोरोनाको असरका कारण गास, वास र कपासबाट कोही पनि नेपाली बञ्चित हुन नपरोस् भन्ने कामना दिनु, दलहरुलाई गौरवगाथाप्रति खवरदारी गर्नु र विदेशबाट फर्केका युवालाई स्वदेशमै केही गरेर देखाउन उर्जा प्रदान गर्नुले पनि केही दिनअघि यो सरकारप्रति वितृष्णा जागेका स्वतस्फूर्त सडकमा उत्रेका युवाहरुले ‘राजा आऊ देश बचाऊ’ को नारालाई कतै झक्झक्याउन खोजेको त हैन ?