अमेरिकामा कोरोना रोकिएन, ट्रम्प कोरोना टास्क फोर्स हटाउँदै

Home Feature अन्तर्राष्ट्रिय

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा अझै पनि संक्रमणको गति घटेको छैन । अमेरिकामा सोमबार २४ घण्टाको अवधिमा संक्रमित र मृतकको संख्यामा केही कमी आए पनि मंगलबार फेरि बढेको छ ।

विश्वभर २४ घण्टाको अवधिमा ८१ हजार भन्दा बढी संक्रमित थपिँदा अमेरिकामा मात्रै २५ हजार थपिएका छन् । त्यस्तै मृतक पनि २ हजार ३५० जना बढेका छन् ।

अमेरिकामा मृतकको संख्या ७२ हजार २७१ पुगेको छ । अमेरिकाले अनुमान गरेभन्दा यो निकै नै धेरै हो ।

अमेरिकामा अहिलेसम्म १२ लाख ३७ हजार ६३३ जना संक्रमित भएका छन् । जसमा २ लाखको हाराहारीमा बिरामीहरु निको भएर फर्केका छन् ।

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ३० हजार १३९ जनालाई संक्रमण भएकामा मृतक २५ हजार २०४ पुगेका छन् । २४ घण्टामा २६० को ज्यान गएको छ ।

२४ घण्टामा सबैभन्दा बढी पेन्सिलभानियामा ३४६ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । जहाँ ३४१ जनाको ज्यान गएको छ ।

सोचेभन्दा बढी संक्रमित र मृतक भएपछि अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प छटपटिएका छन् । उनले तयार पारेको ह्वाइट हाउस कोरोना टास्क फोर्सलाई समाप्त गर्न लागिएको बताएका छन् ।

टास्क फोर्सले आफ्नो काम निकै कुशलतापूर्वक निभाए पनि केही परिवर्तन गरिने बताउँदै यसलाई समाप्त पार्न लागिएको ट्रम्पले बताएका छन् ।

अमेरिकाले विश्वलाई हाँक्ने हैसियत राख्छ । तर कोरोनाले उसलाई सताउँदा हेरेर बस्ने बाहेक केही गर्न सकेको छैन ।