काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद सुरेन्द्र यादवको अपहरणको आरोपमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सांसदद्धय महेश बस्नेत र किसान बस्नेतलाई पक्राउ गर्ने बाटो खुलेको छ ।
यादव अपहरणको किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको छ। शुरुमै प्रहरी र सरकारी वकिल कार्यालयले उजुरी दर्ता नगरेपछि यादव मानवअधिकार आयोगमा उजुरी दिन पुगेका थिए । तर सोमबार सरकारी वकिलको कार्यालयले नै उजुरी जुरी लिएको हो । सांसद यादव आफैले उजुरी दिएका हुन् ।
यादवले अपहरण गर्नेहरुबिरुद्ध दिएको किटानी उजुरी दर्ता भएकै दिन अपहरणका आरोपीहरुले आफ्नो मानवअधिकारको रक्षा गराई पाउन भन्दै मानवअधिकार आयोगमा उजुरी दिएका छन्।
अपहरण र शरीर बन्धक फौजदारी कानुन अन्तर्गत पर्दछ । पहिले नै दर्ताका लागि प्रहरी चुकिसकेको अवस्थामा अब दर्ता भएपछि प्रहरीमाथि पनि धेरेको नजर परेको छ ।
कानुनले कसैलाई काखा र पाखा गर्दैन भनिए पनि सांसद यादवले उजुरी दर्ता गर्न सकेका थिएनन् ।
जनता समाजवादी पार्टीलाई टुक्रयाउनका लागि प्रधानमन्त्री कार्यालयबाटै सांसद यादवलाई अपहरण गर्ने योजना बनेको आरोप लागेको छ ।
यसले गर्दा नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मुछिएकाले यो विषयमा डा यादवले न्याय पाउने सम्भावना विरलै छ ।
तर अब घटनाले कुन मोड लिन्छ भन्ने चासो बढेको छ । डा यादवका वकिल कृष्ण शर्माले प्रहरीले सरकारी वकिलको कार्यालयबाट प्राप्त उजुरीका आधारमा अनुसन्धान अधिकारी वा अधिकारीहरुको समूह बनाउन सक्ने बताए।
गम्भीर प्रकृतिको अपराध भएका कारण प्रहरी परिसरले अपराध महाशाखालाई पनि यो मुद्धा थप अनुसन्धानका लागि पठाउन सक्छ वा आफैले हेर्न सक्छ ।