घुर्की लगाउँदै देउवासँग बार्गेनिङमा माओवादी र नेकपा ‘एस’

Home Feature राजनीति

प्रचण्ड–माधव पुरानै खेलमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो रङ्ग छिटोछिटो फेर्दै आएका छन् । २०७३ को रङ्ग २०७४ सालमा फेरियो भने २०७७ सालको रङ्ग २०७८ सालमा फेरिएको छ । अहिले फेरि अर्को रङ्ग फेरिँदैछ । प्रचण्डले २०६३ सालमा राजनीतिको मुलधारमा आएदेखि नै स्वार्थको रङ्ग फेर्दै आइरहेका छन् । अब पनि त्यसै गर्दैछन् । यसो गर्दा उनलाई कुनै पश्चात्ताप पनि छैन । किनकि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ संसदमा पेश गरे कांग्रेसविरुद्ध वाम गठबन्धन गर्ने धम्की प्रचण्डले दिन थालेका छन् ।
एमसीसीसँगको अनुदान सम्झौतालाई यथास्थितिमै संसदमा अगाडि बढाउने वा परिमार्जनसहित भन्नेमा मतभेद देखिएपछि गठबन्धन दलहरू एकअर्कामाथि दबाब पार्ने रणनीतिमा लागेका बेला माओवादीका केही नेताहरुले फेरि पनि वाम गठबन्धनको धम्की दिएको स्रोतले जनाएको छ । देउवाले सम्झौतालाई तत्काल संसदमा पठाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य चार दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई दबाबमा पारेपछि माओवादीका तर्फबाट २०७४ साल दोहोरिन सक्ने धम्की दिएका थिए । उनको धम्की भनेको धोका नै हो ।
सम्झौतालाई परिमार्जन गर्नुपर्ने बताउँदै आएका प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले भने एक्लै अगाडि बढ्दा त्यसले ल्याउन सक्ने राजनीतिक संकट र सम्भावित वाम गठबन्धनको त्रास देखाएर देउवामाथि दबाब बनाएका छन् । सरकारले जेठ ४ गतेलाई मिति तोक्ने भएपछि वामपन्थी दलहरुले कांग्रेससँग स्थानीय तह अन्तर्गत महानगरपालिका, उपमहानगर–पालिका, नगरपालिका र गाउँपालिकाको निर्वाचनका लागि कुन तहमा कसको वर्चश्व रहेको छ भनी आफ्ना कार्यकर्तासँग विवरण मागिरहेका छन् । जसरी २०७४ सालमा माओवादीले कांग्रेसलाई धोका दिएको थियो त्यसरी नै अहिले पनि कांग्रेसलाई धोका दिने योजना बनाएको बुझिन्छ । स्थानीय तहमा कांग्रेससँग मिलेर भाग खाएको माओवादीले प्रतिनिधिसभाको चुनावमा
कांग्रेसलाई धोका दिएर एमालेसँग जोडिएको थियो । २०७४ सालको तुलनामा अहिले राजनीतिक दलहरूको अवस्था र समीकरण केही फेरिएको अवस्था छ । यस बीचमा नेकपा एमाले विभाजन भइसकेको छ । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा नेपाल गठन भए पनि हाल जसपा नेपालसमेत विभाजित भएर जसपा नेपाल र लोसपा नेपाल बनेका छन् । त्यसमा पनि एमालेले लोसपासँग मिल्ने अवस्था आए पुरानै अवस्थामा फर्कन सक्ने आँकलन गरिँदैछ । तर एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी मिल्ने सम्भावना छैन । नेकपा टुक्रिएर एमाले र माओवादी पुरानै अवस्थामा आएका हुन् भने एमाले टुक्रिएर नेकपा एकीकृत समाजवादी बनेको हो । तसर्थ पनि एमालेले कांग्रेससँग सहकार्य गर्न सक्ला तत्काल माओवादी र नेकपा एससँग एकता गर्न सक्ने सम्भावना कतै पनि देखिँदैन । र पनि सत्ता स्वार्थमा चुर्लुम्म डुबेका प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति देउवासँग थप बार्गेनिङ गर्न सक्छन् । छुट्टाछुट्टै स्थानीय तहको चुनाव लड्ने हो भने माओवादी र नेकपा एसको स्थिति नाजुक बन्ने पक्का छ । त्यसैले पनि भरसक माओवादी र नेकपा एसले घुर्की लगाउँदै देउवालाई फसाउँदै अगाडि बढाउन खोजिरहेको बुझिन्छ ।