कांग्रेस–एमाले मिल्नसक्ने चर्चासँगै प्रचण्ड–माधव त्रसित

Home Feature

दुईदलीय प्रणालीको गृहकार्य !


काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरु यतिबेला नजिकिदै गइरहेका छन् । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो हैसियत भन्दा बढी सिटमा बार्गेनिङ गर्न थालेपछि अवाक् भएका कांग्रेसका नेताहरुले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग टाढिने योजना बनाएको स्रोतको दाबी छ । सोही कारण उनीहरुले एमालेका दोस्रो पुस्ताका नेताहरुसँग नजिक हुन थालेका हुन् । ‘जनमत थोरै भएका पार्टीले सत्ताको चाबी लिने र बार्गेनिङ गरिरहने परिस्थिति बन्यो ।
त्यसले लोकतन्त्रको सम्मान गर्दैन, मर्यादा विपरीत हुन्छ । त्यसकारण पनि अहिलेको आवश्यकता कांग्रेस–एमालेकै हो, जसले बहुमत ल्याउँछ उसले सरकार चलाउने हो, सत्ताको चावी बोक्नका लागि बार्गेनिङ गर्नेहरुलाई मौका दिनु हुँदैन भन्ने सवालमा कुराकानी भयो’, एमालेका एक नेताले भने । प्रचण्डले जसरी पनि आफ्नो हातमा सत्ताको चाबी लिने कसरत गरेर कांग्रेसका नेताहरुलाई सताउने, गलाउने रणनीति लिएपछि तेस्रो नम्बरमा रहेको शक्तिको दबाबमा पर्नुपरेको भन्दै एमाले र कांग्रेसका नेताहरु नजिक हुन थालेका हुन् । कांग्रेसका नेताहरु सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, तथा दोस्रो र तेस्रो पुस्ताका नेताहरुले एमालेका शीर्ष नेताहरुसँग कुराकानी गर्ने र राजनीतिक छलफल गर्दै आएका छन् । मन्त्रीद्वय खाँण र कार्कीले धेरै पटक नागरिकता विधेयकको सवालमा एमाले अध्यक्षलाई भेटेर कुराकानी गर्दा मूल मुद्धामा एमाले र कांगे्रेस सहकार्य गरेर जान सक्ने बताएका थिए ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्ने बखत पनि माओवादी र अर्को सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीले बबण्डर गर्न खोजेपछि कांग्रेस र एमालेबीच करिब सहकार्य हुनै थालेको थियो । अहिले आएर संघीय चुनाव नजिकिँदै गर्दा कांग्रेस–एमालेका नेताहरु फेरि नजिक हुन थालेका हुन् । उनीहरुले यो विषयमा कुराकानी गररहेका बेला एमाले महासचिव शंकर पोखरेलले पनि मुलुकमा दुई पार्टी सिष्टमको अवधारणा सार्वजनिक गरिरहेका छन् । जति धेरै पार्टी त्यति धेरै समस्या देखिएकाले
यसलाई रोक्न लोकतान्त्रिक प्रणालीमा दुईवटा मात्र पार्टी राख्नुपर्ने उनको धारणा थियो । गठबन्धन दलहरुबीच माओवादीले कांग्रेसको मतमा जसरी पनि बढी सिट हात पारेर आगामी सत्ताको चाबी लिने रणनीति लिएको बेला शंकर पोखरेलको यो भनाइलाई कार्यान्वयन गरेर जान सकिने कांग्रेसका नेताहरुको भनाइ छ । एमाले सचिव योगेश भट्टराईले एमालेको दशौं महाधिवेशन सकिएलगत्तै मूल मुद्दामा कांग्रेस एमाले मिलेर जान सकिने बताएका थिए । कांग्रेस महामन्त्री गगन थापा पनि यो विषयमा सहमत छन् । थापा र भट्टराईबीच बेलाबेला यो विषयमा कुराकानी पनि हुने गरेको स्रोत बताउँछ ।
‘एमाले र कांग्रेस विगत लामो समयदेखिको राजनीतिक आन्दोलनका सहयात्री हुन् । यी दुई पार्टीबीच समीकरण बन्न सक्छ । दुवै दल मिलेर आगामी निर्वाचन गराउन सक्छन् । संसदीय गणितमा यो स्वभाविक हो । चुनावमा मात्रै विचार हुन्छ । संसदमा हुने गठबन्धन नै हो । मुलुक अप्ठ्यारोमा परेका बेला कांग्रेस एमाले एकै ठाउँमा उभिन्छन् । उभिएका पनि थिए’, महाधिवेशन सकिएलगत्तै एमाले सचिव योगेश भट्टराईले यस्तो भनेका थिए । यसलाई आधार मान्ने हो भने पनि अहिले उनीहरुबीच अनौपचारिक कुराकानी भैरहेको छ । ‘कांग्रेसका साथीहरुसँग भेटघाट हुन्छ , भेट हुँदा राजनीति मात्र होइन राजनीतिभित्रको यो सत्ताको चाबी लिने रणनीतिमा रहेको माओवादीको बार्गेनिङबारे पनि छलफल हुन्छ’, एमालेका एक नेताले भने । यसअघि पनि एमाले र कांग्रेस मिलेका धेरै वटा घटनाहरु छन् । २०७० सालको निर्वाचनपछि संविधान निर्माण र राज्य पुनःसंरचनाको विषयमा पनि एमाले र कांग्रेसबीच सहकार्य भएको हो ।
‘संविधान निर्माण र राज्य पुनःसंरचनाको विषयमा दुई दलबीच सहकार्य भएको हो, अहिले पनि निर्वाचनमा सहकार्य भनेको एक्ला एक्लै लड्ने र सकेको चुनाव जितेर एकल सरकार बनाउने हो, विचौलिया प्रवृत्तिलाई पराजित गर्ने हो’, एमालेका ती नेताको भनाइ थियो । पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणसँग प्रभावित पनि भएका छन् । उनले धेरै पटक ओलीलाई भेटेर राष्ट्रिय मुद्दामा एमाले र कांग्रेसको सहकार्य आवश्यक रहेको बताएका थिए । ‘गृहमन्त्रीको भेटघाटले अध्यक्ष कमरेड अलि बढी नै प्रभावित हुनुहुन्छ’, बालकोट निकट एक नेताले भने । साना पार्टीहरुले ठूला पार्टीलाई सधंै आफ्नो वशमा राख्ने प्रपञ्च गर्न थालेपछि एमाले महासचिवबाट दुई पार्टी सिष्टमको कुरा आएको हो भन्ने एमाले नेताहरुको बुझाइ छ । एमालेले संस्थागत रुपमा महासचिवको भनाइलाई खण्डन नगरी चुपचाप बसेका कारण पनि एमाले अब दुई पार्टीको अवधारणामा जान लागेको र त्यसका लागि कांग्रेससँग सहकार्य गर्न चाहिरहेको स्रोतको दाबी छ ।
‘राजनीतिक ध्रुवीकरण गर्ने र बलिया पार्टी निर्माणमा लाग्नुपर्छ भन्ने विषयमा एमाले–कांग्रेसको सहकार्य हुनसक्छ’, कांगेसका एक नेताले भने । पछिल्लो पटक चुनाव जित्न ‘तेस्रो स्थानको पार्टी माओवादी’ निर्णायक बन्ने देखिएपछि कांग्रेस र एमालेलाई गठबन्धन बनाउन बाध्य पार्ने गरी माओवादी अघि बढेको र माओवादी जोसँग मिल्यो आगामी निर्वाचनमा उसैको पल्लाभारि हुने निश्चितजस्तै भएपछि माओवादीले आफूलाई च्याँखे दाउमा राख्दा दुई ठूला पार्टीहरु एमाले र कांग्रेस दुई पार्टी बनाउने सहकार्यमा अघि बढ्न सक्ने देखिएको छ । यसअघि प्रचण्डले एमाले र कांग्रेस दुवैतिर दौडधुप जारी राखेर एमालेसँग सहकार्य गरेका थिए । अब भने प्रचण्डलाई लोप्पा खुवाउने गरी एमाले र कांग्रेस मिल्ने विश्वास गरिएको छ । प्रचण्डले कांग्रेसले निहुँ खोजे वामगठबन्धन गर्ने भनेर पनि घुर्की देखाउँदैछन् । चिनियाँ सुझाव यतिबेला एमालेले मान्लाजस्तो छैन । किनकि एमाले पनि प्रचण्ड र माधवसँग हैरान छ ।