देशलाई बर्बादीतिर धकेलिएको पूर्वराजा ज्ञानेन्द्र शाहको ठहर

Home Feature

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट देशले धेरै नै दुःख पाएको मूल्याङ्कन गरिएको छ । पूर्वराजाबाट विभिन्न पक्षबाट भएका कमी कमजोरीले गर्दा देशले धेरै दुःख पाएको बताइएको हो । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहबाट पछिल्लो समय देशको आन्तरिक सद्भाव, एकता, महत्वपूर्ण संस्थाहरुको सवलता र अन्तर्राष्ट्रिय सम्मानमा आँच पुगेको जिकीर गरिएको हो । सन्देशमा भनिएको छ, ‘हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरवशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महसुस गरेका छन् ।’
सन्देशमा अगाडि भनिएको छ, ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान, सबैमा गम्भीर आँच पुगेको छ ।’ साथै नेताहरुले विगतमा भएको सहमति तोडेको र त्यो नै अहिलेको बेथिति, अवश्वास, द्वन्द्व र जटिलताको जड भएको टिप्पणीसमेत गरिएको छ । पूर्वराजा शाहबाट राजनीति र राज्य सञ्चालनको प्रकृयामा इमान्दारीताको ठूलो महत्व रहने स्पष्ट पार्दै राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठूलो अर्थ रहने बताइएको छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयं अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय नहुने पनि पूर्वराजाबाट नेताहरुलाई स्पष्ट पारिएको छ । आज उत्पन्न बेथिति, अविश्वास, द्वन्द्व र जटिलताको जड पनि त्यही नै
भएको दाबीसमेत सन्देशमा गरिएको छ । युवापिँढी अहिलेको शासकीय गतिविधिप्रति असन्तुष्ट रहेको पूर्वराजा शाहको भनाइ छ । युवाहरुमा विद्रोहभाव देखिन थालेको भन्दै यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा अर्थहीन आरोप थोपरेर नहुने पूर्वराजा शाहको भनाइ छ । देशलाई जानीजानी बर्बादीतिर नधकेल्नसमेत पूर्वराजाबाट आग्रह गरिएको छ ।
यस्तो छ पूर्वराजा शाहको सन्देश
नेपाली दिदी बहिनी तथा दाजुभाइहरु, विक्रम सम्बत २०७९ लाई बिदाई गर्दै अहिले हामी २०८० मा आईपुगेका छौं । नयाँ बर्ष प्रारम्भको यो अवसरमा हिमाल, पहाड र तराई मधेशमा र देश बाहिर रहेका समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइको जीवन व्यवहारमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
राजनीति र राज्य संचालनको प्रकृयामा इमान्दारीताको ठुलो महत्व रहन्छ । राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरुले बोलेको तथा सम्झौता र सहमतिको अझ ठुलो अर्थ रहन्छ । मति, मत, मान्यता र नीति निर्णय भद्रताले गर्ने तर स्वयम् अभद्रतापूर्वक सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीमा वाञ्छनीय हुँदैन । आज उत्पन्न बेथिति, अविश्वास, द्धन्द र जटिलताको जड पनि त्यही नै हो । हालैका दशकहरुमा जानेर–नजानेर देशका विभिन्न पक्षहरुबाट जे जस्ता कमजोरी भए त्यसबाट यो गौरबशाली इतिहास बोकेको हाम्रो देशले धेरै दुःख पाएको सबैले महशुस गरेका छन । त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता , अन्र्तराष्ट्रिय सम्मान, सबैमा गम्भिर आँच पुगेको छ ।
हाम्रो सरकारी ढुकुटी र सञ्चालित वित्तीय संस्थाहरुको आर्थिक कारोबार आम विपन्नवर्गको उत्थानमा परिचालित छैन । सिमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन गयो भन्ने पनि आम जन गुनासो सुनिन्छ । उत्पादन, आर्जन एवम् समुचित वितरण र परिचालनमा उपयुक्त ध्यान नदिंदा जनसाधारणमा समस्या तथा आक्रोश बढ्नु स्वभाविक हो । युवापिढी, बिद्यमान प्रणाली र शासकीय गतिविधीप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम विद्रोहभाव देखिन थालेको छ । यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहिन आरोप थोपरेर हुँदैन । त्यसैले अब कोरा नारा छाडौं, सहि प्रकारको राज्य पद्धतिका निम्ति सोचौं, सबै खाले गल्ती सच्याउने तिर लागौं । देशलाई थाहा पाई पाई बरवादी तिर नधकेलौं ।
नेपाली माटो, नेपालको प्रकृति, नेपाली मौलिक संस्कृति र आम नेपालीको आशा अनुभूतिलाई बुझेर अग्रगति तर्फ लागौं । सबैमा विगतको कमीकमजोरी प्रति क्षमाशील भावना जागोस । नयाँ बर्ष २०८० सुन्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस ( यही हाम्रो शुभेच्छा हो ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्
जय नेपाल, २०८० साल बैशाख १ गते