हरायो सुशासन ः बढ्यो भ्रष्टाचार

Home Feature

काठमाडौं । राष्ट्रियता, देशप्रेम, चिन्ता, चिन्तन, सोच, सपना, अनुशासन, उत्तरदायित्व, जवाफदेहिता आदि जस्ता सकारात्मक सन्देश दिने शब्द भन्दा पनि फन्डा, काण्ड, स्टन्टबाजी जस्ता नकारात्मक सन्देश दिने शब्दले सधै बजार तातिएको हुन्छ । राजनीति अब एउटा स्थिर मोडमा जान्छ कि भन्ने बेलामा एकपछि अर्को फन्डा निकालिन्छ र देशलाई थप अस्थिरतातिर धकेलिन्छ । देशको जिम्मेवार निकायबाट वा राज्यका संरचनाबाट दिनहुुँजसो विकृति र विसंगतिका समाचारहरू पत्रिकाका हेडलाइन बनेर आएका हुन्छन् । देशमा अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमितता, मानव बेचबिखन, हत्या, हिंसाका घटनाहरू त यथावत नै आइरहेकै हुन्छन् । त्यसैमा अझै थप काण्ड, फन्डा र स्टन्टबाजीका चर्चिकलाहरू देखा पर्छन् । नेपालको राजनीतिक इतिहासमा चाहे राणाकालमा होस् र चाहे पञ्चायतकालमा बेला बेलामा मानव हत्या, बेचबिखन, मानव अपराध, यौन दुराचार आदि थुप्रै काण्ड भएकै थिए । आज बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि ती र त्यस्तै काण्डहरू रोकिएका छैनन् । पछिल्लो चरणमा त जसले काण्ड निम्त्याउँछ उही नै पुरस्कृत भएको पनि देखिन्छ ।
बहुदलीय व्यवस्थाको पुनः प्राप्तिपछि राजनीतिक विकृति र भ्रष्टाचारका थुप्रै काण्डहरू देखिए । कतिपय काण्डहरू कानूनको कठघरा भित्र आए भने कतिपय सेलाउँदै र हराएर गए । २०४६ पछि पजेरो काण्ड, सुरासुन्दरी काण्ड, रातो पासपोर्ट काण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, धमिजा काण्ड आदि थुप्रै ठूला ठूला भ्रष्टाचारका काण्ड भए । तत्कालीन देशका जिम्मेवार मन्त्रीहरू खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीहरू पनि लाखौं भ्रष्टाचार काण्ड गरेर कानूनी सजाय पनि भोगे ।
अहिले भर्खरै पनि दुई करोडको अडियो काण्डले नेपालको राजनीति तातिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्न पार्टीको कोर टिमलाई दुई करोड घुस बुझाउन मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेका छन् भनिएको छ । कानूनी बाटो के हुने भन्ने अझै स्पष्ट नभए पनि उनलाई पार्टीले कारबाही गरी सांसदबाट भने हटाएको छ । नेपालको राज्य र कानुन यति कमजोर र झन्झटिलो छ कि यी सारा कुरा बाहिर आउँदा र सबै छर्लङ्ग हुँदा पनि कानूनको कठघराभित्र ती आरोपीलाई ल्याएर सत्यतथ्य पत्ता लगाउन सकिँदैन र यी काण्डहरू विस्तारै सेलाउँदै लगिन्छ । अनि काण्ड नै सामसुम पारिन्छ । यस पहिले पनि पूर्व सभामुख कृष्णबहादुर महराको चिनियाँ व्यापारीसँग पचास करोड र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सत्तरी करोडको अडियो काण्ड पनि बाहिरिएका थिए । त्यस्तै ललिता निवास, ओम्नी र यति भ्रष्टाचार काण्डहरू पनि भए । त्यसबेला पनि राजनीति तात्यो अनि बिस्तारै सेलायो र हरायो । यो दुई करोडको अडियो काण्ड पनि त्यस्तै नहोला भन्न सकिन्न । नेपालको संविधान २०७२ मा भनिएअनुसार नेपाललाई समाजवादउन्मुख देश बनाउने भनेर लेखिए पनि व्यवहारिक र कार्यान्वयनको तहमा त्यो हुन सकेन । विभिन्न काण्डहरू निम्त्याउने र राजनीतिक अस्थिरता सिर्जना गरी देशलाई लुट्ने खेल भएको देखिन्छ । आज देशमा भ्रष्टाचारको जालो सर्वत्र फैलिएको छ ।
राज्यका भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, राजस्व अनुसन्धान विभाग नै कि त राजनीतिक हस्तक्षेपबाट आक्रान्त
छन् कि आफैँ भ्रष्टाचारको जालोमा चुर्लुम्म डुबेका छन् । जनतालाई गाँस, बास, कपास, शान्ति र सुरक्षाको व्यवस्था मिलाउनुको सट्टामा मन्त्रीहरू क्षणिक समयका लागि लोकप्रिय बन्ने नाममा स्टन्टबाजी र जादुखेल गर्दै हिँडेका देखिन्छन् । जनताको जीवनमा आमूल परिवर्तन गर्न भनी पटक पटक व्यवस्था परिवर्तन गरिए तर जनताको अवस्थामा कुनै परिवर्तन हुन सकेन । आज नेपाली जनता बाँच्नैका लागि बाध्य भएर आफ्नो देश छोडेर विदेश पलायन हुनु परेको छ । अहिले देशको आर्थिक अवस्था संकटउन्मुख नै देखिन्छ । सर्वसाधारण जनताको चुलोदेखि लिएर यहाँका उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्थाहरूमा आर्थिक मन्दी नै देखिन्छ । यसो हुनुको प्रमुख कारणमा कोरोना महामारी लगायत रुस युक्रेन युद्ध भए पनि देश भित्रको राजनीतिक नेतृत्व बीचको आपसी किचलो, अदूरदर्शीता, असक्षमता र विभिन्न किसिमका भ्रष्टाचारका काण्डहरू पनि हुन् । नीतिहरूको प्रमुख नीति राजनीति हो । त्यही राजनीतिलाई लाजनीति बनाएको कारण देशले लामो समयसम्म राजनीतिक निकास र आर्थिक विकास पाउन नसकेको अवस्था छ ।
नेतृत्वमा भिजन, हुटहुटी र सामर्थ्य नै नहुनाले आज देशमा संकटका पहाडहरू र भ्रष्टाचारका काण्डहरू झन्पछि झन् थपिँदै गएका छन् । ।राजनीतिक पार्टीहरू सिद्धान्तविहीन भएर सत्ता केन्द्रित हुनाले नेपाली जनताले सुख र खुशीको सास फेर्न नसकेको अवस्था छ । सरकारका सबैजसो अङ्गहरू असफल र निष्प्रभावी बन्न गएका छन् । चैत ३० मा प्रस्तुत महालेखा परीक्षकको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु नै ९ खर्ब ६० अर्ब पुगेको देखिन्छ । वर्षको बेरुजु नै १ खर्ब १९ अर्ब रहेको छ । यस्तो अवस्थामा देशले कसरी निकास र विकास पाओस् ? देशमा राजनीतिक स्थिरता र कानूनी राज्यको परिपालन हुन नसक्नु नै यस्ता किसिममा काण्डहरू बारम्बार दोहोरिनु हो । जबसम्म दोषीलाई हदैसम्मको दण्ड र सजाय हुँदैन तबसम्म यस्ता विकृतिहरू भइरहन्छन् । देशको सर्वोच्च नीति भनेको राजनीति हो । नेपालको राजनीति नै अराजनीति हुँदै लाजनीतिमा परिणत भएको छ । देशमा कानूनी राज्य चल्न सकेको छैन ।
देशलाई भ्रष्टाचारमुक्त बनाउने अन्तिम विकल्प भनेको कानूनी राज्यको स्थापना गर्नु नै हो । दोषीलाई कानूनको कठघराभित्र हालेर सजाय दिइन्छ भने पटकपटक यस्ता अडियो काण्ड दोहोरिन पाउँदैनन् । व्यक्तिदेखि संस्था कानून अनुसार चल्छ भने त्यहाँ कुनै किसिमको भद्रगोल हुँदैन र विकास र समृद्धिले पनि एउटा निश्चित बाटो पनि पहिल्याउँछ । नेपालको राजनीतिक नेतृत्व नै राजनीतिलाई पेशा र व्यापारको रुपमा लिएर देशलाई सक्ने र काण्ड निम्त्याउने खेलमा लागेको देखिन्छ । राजनीतिक नेतृत्व नै यस्तै खेलमा रमाइरहेको छ । राजनैतिक नेतृत्व गैरजिम्मेवार र अनुशासनहीन हुनाले देशमा अराजनीति, काण्ड र चर्तिकलामात्र देखिन्छन् । देशका पुराना र ठूला राजनीतिक दल नै असक्षम र गैरजिम्मेवार हुनाले देशमा कहिले स्टन्टबाजी देखा पर्छन् भने कहिले काण्डै काण्ड । नेपाली जनताहरू यी पुराना राजनीतिक दलहरूको असक्षमताप्रति असन्तुष्ट र आक्रोशित बनेका छन् र विकल्प खोजिरहेका छन् । अब पनि सच्चिन सकेनन् भने इतिहासको पानामा मात्र सीमित हुनु पर्नेछ ।