कुर्सीको लडाइँले मुलुक गम्भीर मोडमा

Home Feature

काठमाडौं । ०६५ साल जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले राजसंस्था फाल्ने सम्भावना कसैले औंल्याएको थिएन । पहिलो संविधानसभाले संविधान नलेख्दा भनेर कसैले सोचेको थिएन । दोस्रो संविधानसभाको चुनाव होला भनेर पनि कसैले सोचेको थिएन । अनि ०७२ असोज ३ गते संविधानसभाले लेखेको नेपालको नयाँ संविधान अहिलेसम्म कार्यान्वयन नभइरहला भन्ने पनि कसैले सोचेको थिएन । यतिबेला त्यस्तै स्थिति छ यो साउनभरिमा मुलुक कता जान्छ । आउँदो बिहीबार व्यवस्थापिका संसदको बैठक हुँदैछ । यो बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले राखेको सरकारविरुद्धको अविश्वासको प्रस्तावबारे छलफल हुँदैछ । यदि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई ठीक लागेन भने देश भड्खालोमा जाने सूत्रको सुरूवात यसैदिन हुनेछ । अर्थात् स्रोत भन्छ –‘बजेट पारित नगरी सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्ताव बारेमा छलफल गर्ने भएसंगै सत्ताधारी दलहरू संसद अवरूद्ध गर्न तयार छन् ।’ किन त ? स्रोत भन्छ –‘किनकि विपक्षीहरूले यो सरकारको अपमान गरेपछि सरकारले पनि उनीहरूलाई सहजै सत्ता किन छाड्ने ?’

बहुमत नपुग्ने भएसंगै ओलीले राजनीतिक खेल हो भनी सहजै लिएर अविश्वासको प्रस्तावको प्रक्रियामा अगाडि बढ्दै सहजै सत्ता छाड्ने हो भने केही हदसम्म अहिले देखिएको तरल अवस्थाको अन्त्य हुनेछ । यदि ओलीले म के कम भनी अहम् पाल्न खोजे भने फेरि नेपाल दलदलमा फस्नेछ । नेपालमा दलदलमा फसाउन दक्षिणबाट दुई वटा टिम नेपाल आइसकेको छ । पहिलो टिमले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर जुनसुकै हालतमा यो सरकारलाई ढाल्नका लागि मलजल गरिसकेको छ । त्यही टिमको डिजाइनमा अहिले देउवा र प्रचण्ड कुम हल्लाइहल्लाइ संगसंगै हिंड्न खोजिरहेका छन् ।

दक्षिणबाटै आएको अर्को टिमले भने केपी ओलीलाई उचालिरहेको छ । उसले ओलीलाई सित्तैमा किन छाड्ने देउवा र प्रचण्डलाई भनेर उरालिरहेको छ । राजधानीको बत्तीसपुतलीस्थित होटल द्धारिकाज्मा बसेर बनाएको त्यो समूहको योजनालाई मान्ने हो भने ओलीले कुनै पनि हालतमा सत्ता छाड्ने छैनन् । ओली पनि ‘यो सरकारलाई कसैले हल्लाउन सक्दैन’ भनेर भाषण गर्न छाडेका छैनन् ।

अर्को स्रोत भन्छ –‘ओलीले अविश्वासको प्रस्तावमा पराजय बेहोरे भने राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेर राजीनामा दिनेछन् । राष्ट्रपतिले अर्को सरकार नबनुन्जेल कामचलाउ सरकारको रूपमा ओलीलाई नै सुम्पने छिन् । उनले राष्ट्रिय सहमतिको सरकारको आब्हान गर्नेछिन् । त्यसमा असफल हुँदै गएपछि बहुमतीय प्रक्रियामा जानेछ । यस्तै गरिरहँदा ओलीले छ महिना समय पार गर्नेछन् ।’ नेपालको अवस्था संक्रमणमै रहेकाले पनि जसले जे सक्छ त्यही गर्छ । दक्षिणको खेलले नेपाललाई अप्ठेरो पारेकै छ । अहिले पनि ओली संयमित भएर सहज बहिर्गमनको बाटो लिएनन् भने उनी त डुब्छन् नै देशसमेत धरासायी हुनेछ । किनकि दक्षिणले पूरै खेल्ने अवसर पाएको छ । अहिले हतारमा किन अविश्वासको प्रस्ताव आयो भनेर भन्नै पर्दैन । दक्षिण उत्तरबाट आउने राष्ट्रपतिको भ्रमण रोक्न चाहन्छ । किनकि चिनियाँ राष्ट्रपति सी जिनपिङ् आए भने नेपालको माहोल फरक हुनेछ । नेपाल केही हदसम्म चीन ढल्कने छ । यस्तो बेलामा भारतले खेल्नु स्वभाविकै हो ।

चिनियाँ राष्ट्रपतिको आगमनसम्म कुनै सरकार परिवर्तनको खेल नखेल्न चीनले प्रचण्डलाई भनेकै थियो । प्रचण्डले मानेनन् । माओवादी स्रोत भन्छ –‘चीन प्रचण्डसंग रिसाएको छ ।’ प्रचण्डलाई पनि चीनसंग रीस उठेको छ । अर्थात् ओलीलाई च्यापेपछि स्वभावतः सच्चा कम्युनिष्ट रिसाउँछ । त्यसको फाइदा भारतले उठाइरहेको छ । ओली पनि सच्चा देशभक्त होइनन् । किनकि उनले पनि भारतसामु गत वर्षको फागुन ७ गते गएर हात फैलाएकै हुन् । अहिले पनि सत्ताधारीलाई भारतले खेलाइरहेकै छ । भारतीय दुई पक्ष आएर नेपाली नेताहरूसंग राजनीति गरिरहँदा जब अविश्वासको प्रस्ताव आयो भने त्यसको सामना गर्दै जस्तो परिणाम आउँछ त्यसलाई सहश्र स्वीकार गरेर विधिको शासनको पालना गर्ने हो भने कम्तीमा तत्कालका लागि राम्रो अवतरण हुन सक्ला । फेरि पनि बचाउने जिम्मा ओलीकै हातमा छ । बेहोसीमा धेरै बोल्ने बानी रोकेर यदि ओलीले आफ्नो पराजयलाई सहज नलिने हो भने अब पनि मुलुकले आगामी राजनीतिक उल्झन थेग्न सक्ने खालको हुने छैन ।