के–के ‘मन्त्रणा’ दिएर फर्के अमेरिकी जनरल चाल्र्स फ्लिन

राजनीति समाचार


काठमाडौं । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन स्वदेश फर्केका छन् । चार दिने भ्रमणमा नेपाल आएर उनी आइतबार स्वदेश फर्केका हुन् । उनको आगमनले नै निकै तरङ्ग ल्यायो । उनको आगमन नेपालमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) लागू गर्न संसदले स्वीकृति दिएपछि भएको हो । जसलाई अर्थपूर्ण तरिकाले पनि हेरिएको छ । विशेषगरी एमसीसी लागू भएपछि अमेरिकी सेनाले नेपालले कब्जामा लिन्छ भन्ने विचारहरु फैलाइएको थियो । र पनि त्यो हैन भनेर दाबी गर्दै संसदबाट पारित गरियो । तर यति छिट्टै अमेरिकी सेनाका अधिकारी नेपाल आएर गएपछि भने प्रश्न चिन्ह थप ‘बोल्ड’ बनेको छ । आगामी दिनले यसलाई थप पुष्टि गर्नेछन् ।
नेपाल भ्रमणका क्रममा फ्लिनले द्विपक्षीय हित र पारस्परिक सम्बन्धमा जोड दिएका छन् । काठमाडौंमा उच्चस्तरीय भेटवार्ताका क्रममा उनले सो विषयमा जोड दिएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट तथा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरे । ‘उहाँले नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणको पूर्वतयारीका लागि आएको जानकारी गराउनुभयो,’ राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले भने । जनरल फ्लिनले नेपाली सेना र अमेरिकी सेनाबीच सहकार्य रहेको उल्लेख गर्दै यसलाई थप अघि
बढाउने प्रतिबद्धता व्यक्त गरेका ढकालले बताए । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले नेपाल शान्तिको पक्षमा रहेको तथा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालमा जन्मेको अवगत गराउँदै नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा काम गरिरहेको बताएकी थिइन् । भेटमा उनले शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदाय र अमेरिकी सरकारबाट प्राप्त सहयोगमा धन्यवाद दिइन् । केही वर्षयता नेपाली सेनाले अमेरिकी सेना, भारतीय सेना र चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैनिक अभ्यास गर्दै आइरहेको छरु। साथै, अमेरिका, भारत र चीनसँग भूकम्प, कोभिड–१९ र अन्य समयमा पनि सहयोग लिँदै आइरहेको छ।
राष्ट्रपति भण्डारीसँग भेट गर्नुअघि जनरल फ्लिन बालुवाटारमा प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवालाई शिष्टाचार भेट गर्न पुगेका थिए । भेटमा नेपाल र अमेरिकाका सेनाबीचको सहकार्यका बारेमा कुरा भएको थियोरु। प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपालको निरन्तर योगदानको जनरल फ्लिनले प्रशंसा पनि गरेका थिए । प्रधानमन्त्री देउवालाई भेट्नुअघि जनरल फ्लिन सैनिक मुख्यालय जंगी अया पुगेका थिए । उनको सम्मानमा जंगी अया परिसरमा नेपाली सेनाले सम्मान गारथ दिएको थियो । नेपाली सेनाको अपरेसनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको सेनाले जनाएको छ । त्यसपछि प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको सेनाले जनाएको छ ।
उच्च पदस्थ अधिकारीबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरतास्वरूप चारदिने औपचारिक भ्रमणका क्रममा बिहीबार नेपाल आएका जनरल फ्लिन आइतबार फर्केका हुन् । उनले शुक्रबार उच्चस्तरीय भेटघाट गरे । शनिबार हिमाल दृश्यावलोकनका लागि माउन्टेन फ्लाइटमा सहभागी उनी पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी आइतबारै स्वदेश फिर्ता भएका हुन् । उनले नेपाली सेनासँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता उल्लेख गर्दै संगठनको मुक्तकण्ठले प्रशंसासमेत गरेका छन् । ‘नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध भएको ७५ वर्ष भयो । नेपाली सेना शान्तिलाई मन पराउने सेना हो । हामी अमेरिकी सेना र नेपाली सेनाको सहकार्य शान्तिको लागि हो,’ उनले भनेका छन् । फ्लिनले अहिले अमेरिका ‘ग्लु’ रहेको उल्लेख गर्दै यसले संसारलाई जोड्ने काम गर्ने उल्लेख गरेका छन् । उनको भ्रमणले सम्बन्धलाई थप बलियो बनाउँछ कि यसले दरार ल्याउँछ भोलिको राजनीतिक चलखेलले पनि अर्थ राख्नेछ ।