कोरोना रोक्न लकडाउन लगाउँदा बढ्यो महिलामाथिको घरेलु हिंसा

समाचार

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि मुलुकभर लागू गरिएको लकडाउनका बेलामा कोरोना रोकथाममा मद्धत मिले पनि महिलामाथि हुने घरेलु हिंसामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले हटलाइन र मनोपरामर्शकर्ता मार्फत लकडाउनपछि महिला तथा बालिकामाथि अभिलेखीकरण गरिएका घटना हेर्दा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत भन्दा बढी घरेलु हिंसाका घटना देखिएका हुन् ।

ओरेकले सञ्चालन गरेका तीन हटलाइन र २८ जना मनोपरामर्शकर्तामार्फत १३ जिल्लाबाट लकडाउन शुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटना अभिलेखीकरण गरेको छ । जसमा ४६ घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार, दुई बलात्कारको प्रयास, एक हत्या, एक हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या, दुई हत्याको प्रयासका घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिमध्ये सबैभन्दा बढी ३७ श्रीमान् र १७ जना परिवारका सदस्य रहेको ओरेकले जनाएको छ ।

त्यसैगरी १९ घटनामा छिमेकी, दुई घटनामा प्रेमी ठानिएका व्यक्ति, एक घटनामा साथी, एक घटनामा घरमालिक रहेको पाइएको छ भने छ घटनामा पीडकहरुको पहिचान हुन बाँकी रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।

बलात्कारका घटना भने १० छिमकीबाट, दुई परिवारका सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एक पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प नभएको र यस्तो अवस्थामा हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहजरूपमा उजुरी गर्ने वातावरण तयार गर्न स्थानीय तह र सम्बन्धित निकायले आवश्यक सेवा सञ्चालन गर्नुपर्न ओरेकको सुझाव छ ।

साथै हाल महामारीको अवस्था छ भनेर महिलाका लागि संविधान र अन्य कानूनहरुले सुनिश्चित गरेका अधिकारलाई नकार्न नमिल्ने कार्यकारी निर्देशक न्यौपानेले बताए ।