सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट बहुमतले पारित, सत्ताधारीको दम्भ विपक्षीको कटाक्ष

Home Feature अर्थ राजनीति

काठमाडौं । आर्थिक वर्ष २०७७–७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबारको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

सत्ताधारीको दम्भले गर्दा कार्यक्रम बहुमतले मात्र पारित भएको हो । विपक्षीका माग समेट्न सकेको भए पक्कै पनि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित हुन सक्ने थियो ।

दुर्भाग्य केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसो गर्न सकेन । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ–आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि सांसद डा मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए । सभामुख अग्नि सापकोटाले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिँदा उनीहरुले प्रस्ताव फिर्ता नलिएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

प्रतिनिधिभसभाको अर्को बैठक यही जेठ १३ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

त्यस्तै राष्ट्रियसभाको बैठकले पनि आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमबारे भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।

पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।