काठमाडौं । शासन सत्ताबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको रुपमा जीवन यापन गरिरहेका छन् । उनी बेला बेलामा पूजापाठका लागि मन्दिर जाने गर्छन् । कहिले काँही निजी कामले विदेश भ्रमणमा पनि निस्किने गरेका छन् । पूजापाठका लागि मन्दिर जाँदा पनि पूर्वराजाको पक्षमा जबर्जस्त माहोल देखिन्छ । स्वतः स्फुर्त रुपमा पूर्वराजाको पक्षमा देखिने माहोलले गणतन्त्रको जग कति कमजोर रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।
एक दिन फरक पारेर पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेल मन्दिरमा पूजापाठका लागि गए । उनीहरु मन्दिर जाँदाखेरिको माहोल आकाश–जमिन फरक थियो । राष्ट्रपति पौडेल आज जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्न गएका थिए । नागरिक अभिनन्दनको कार्यक्रम पनि राखिएको थियो, एउटा बन्द कोठाभित्र । न राष्ट्रपतिको जानकी मन्दिर भ्रमणमा जनताको चासो देखियो न त नागरिक अभिनन्दनमा । राष्ट्रपति सुरक्षाकर्मीको दलबलसहित मन्दिर प्रवेश गरेका थिए । सरकारी निकायका प्रतिनिधि र मन्दिरका पुजारीहरुले उनलाई स्वागत गरे । ‘जनता’ को उपस्थिति थिएन ।
‘नागरिक अभिनन्दन’ नाम दिइएको कार्यक्रम झन् खल्लो थियो । देशको सर्वोच्च पदमा आसिन व्यक्तिको अभिनन्दन ठूलो सभामा गर्नुपर्ने हो । जनताको भीड उर्लिनुपर्ने हो । तर, महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको नवनिर्मित सभाहलमा कार्यक्रम राखिएको थियो । जनकपुरका मेयर मनोज साहले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरेका थिए । करतल ध्वनि बजाउने भीड त्यहाँ थिएन ।केवल सरकारी व्यक्ति र संघसंस्थाका प्रतिनिधि थिए ।
अभिनन्दनपत्रमा मैथिली भाषामा लेखिएको थियो, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरवासी जसरी हर्षविभोर भएका थिए, त्यस्तै तपाईंको आगमनले जनकपुरवासी हर्षविभोर भएका छन् ।’ यसरी त्रेतायुगका भगवान रामसँग राष्ट्रपतिलाई तुलना गरेर अभिनन्दनपत्र त लेखियो, तर राष्ट्रपतिको आगमनमा जनकपुरवासी हर्षविभोर भएको छनक र दृश्य भने कतै पनि देखिएन । अब कुरा गरौं, पूर्वराजा ज्ञानेन्द्र शाहको । सचिवालयका अनुसार भक्तपुर जिल्लावासीकै निमन्त्रणामा पूर्वराजाको संक्षिप्त मन्दिर दर्शन कार्यक्रम तय भएको थियो । न कुनै ठूलो तयारी थियो, न प्रचारप्रसार न त गाडीबाट मान्छे ओसारिएको थियो । तर, भक्तपुरवासी जसरी पूर्वराजाको स्वागतमा उर्लिए, त्यसले गणतन्त्रवादीहरुलाई झस्काइदिएको छ ।
कम्युनिष्ट दल ‘नेपाल मजदुर किसान पार्टी’ को वर्चश्व रहेको नगर हो भक्तपुर । यहाँका नागरिकले हरेक पटक नेमकिपालाई भोट हालेर जिताउँदै आएका छन् । नेमकिपाको सिद्धान्तमा राजाको कुनै स्थान छैन । तर, त्यही नेमकिपालाई मत हाल्ने जनतामा ‘राजा’ प्रति देखिएको आकर्षणले गणतन्त्रकै भविष्यमा गम्भीर प्रश्न चिन्ह खडा गरेको विश्लेषण हुन थालेको छ । एउटा मूलधारको राजनीतिक दलले यत्तिको भीड जुटाउन सानो कसरत गर्नुपर्दैन । गाडीबाट मान्छे ओसार्नेदेखि मोटरसाइकलमा तेल हाल्दिनेसम्म गर्छन् । तर, पूर्वराजा मन्दिर दर्शनका लागि आउँदा स्वःस्फुर्त रूपमा जम्मा भएका जनताले एउटा ठूलो सन्देश दिएका छन् । त्यो सन्देश हो– यदि तिमीहरु सच्चिँदैनौं भने यो व्यवस्थाको भविष्य पनि दिगो छैन ।
पूर्वराजाको तीर्थाटनमा जनताको भीड जम्मा भएको यो पहिलोपटक होइन । तर, कथित मेनस्ट्रिमका सञ्चारमाध्यमले जहिल्यै यो भीडलाई लुकाउन प्रयास गर्दै आए । सकेसम्म समाचार÷तस्वीर नै कभर नगर्ने, गरिहाले पनि ‘राजावादीहरुको जत्था’ का रुपमा चित्रित गर्ने गरिएको छ । तर, अहिलेका जनता
‘अग्रगामी’ सोचका सञ्चारमाध्यमले सम्प्रेषण गर्ने भ्रमपूर्ण समाचार र विचारमा मात्रै निर्भर छैनन् । सबैको हातहातमा मोबाइल छ । सञ्चारमाध्यमले बाइकट गरेका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल हुन कसैले रोक्दैन । जब तस्वीर भाइरल हुन्छन्, एकथरि कुण्ठित गणतन्त्रवादीहरुको बर्बराहट सुरु हुन्छ– उनीहरु राजा कस्ता हुँदोरहेछन् भनेर हेर्नमात्र आएका हुन् । यदि यही तर्क गर्ने हो भने त राष्ट्रपति कस्ता रहेछन् भनेर पनि त हेर्नलाई भीड उर्लिनुपर्ने हो । किन सुनसान हुन्छन् राष्ट्रपतिका कार्यक्रमहरु ? किनकि विगतदेखि वर्तमानसम्मका राष्ट्रपतिहरुले जनतामा सम्मान र आकर्षण पैदा गर्ने कुनै पनि लक्षण र प्रस्तुति दिन सकेनन् । यो गणतान्त्रिक व्यवस्थाले जनतामा उत्साहको सञ्चार गर्न सकेन । देश दिनदिनै उँभो झर्दै गयो । फलतः जनताले योभन्दा पहिलेकै व्यवस्था ठीक थियो भन्न थालेका छन् । टोलटोलमा राजा हुनुभन्दा एउटै राजा ठीक भन्ने निष्कर्षमा पुग्न थालेका छन् । युवा पुस्तामा राजसंस्थाप्रति नजानिँदो झुकाव बढिरहेको छ । कुनै पनि व्यवस्था आफैंमा खराब भने हुँदैन । राजा महेन्द्रको पालामा देशमा पञ्चायती व्यवस्था थियो । त्यही पञ्चायती व्यवस्थामार्फत उनले देशको शीर उँचो बनाए । देशलाई समृद्धितर्फ अघि बढाए । शासन व्यवस्था राजा वीरेन्द्रको हातमा आइसकेपछि पञ्चायतले आफ्नो प्रतिष्ठा र लय गुमायो । समृद्धि यात्रामा ब्रेक लाग्यो । वीरेन्द्रले जनतालाई खुशी बनाएर शासन गर्न सकेनन् । फलतः जनता बहुदलीय प्रजातन्त्रको पक्षमा सडकमा आए । प्रजातन्त्रले पनि डेलिभरी दिन सकेन । त्यसपछि देशले गणतन्त्रको यात्रा तय गरेको हो ।
व्यवस्थाको हिसाबले देशलाई प्रयोगशाला जस्तो बनाइएको छ । जनता पनि अधैर्य भएर यसले हुन्छ कि त्यसले हुन्छ कि भनेर कुदिरहेका हुन्छन् । त्यसैले भोलि फेरि राजतन्त्रकै लागि जनता सडकमा नआउलान् भन्ने छैन । तर, मुख्य कुरा व्यवस्था भनेको साध्य होइन, साधनमात्र हो । यही व्यवस्थामा यदि सरकार र दलहरुले राम्रो काम गरे भने जनता पनि पक्कै अर्को विकल्प खोज्नतिर लाग्दैनन् । खोज्नु पनि हुँदैन । तर, अहिले झैं बेथिति, अराजकता, भ्रष्टाचार, कूटनीतिक दिवालियापन, आर्थिक टाटपल्टाइ जारी रह्यो भने जनताले जे निर्णय लिन पनि सक्छन् ।
देशमा गणतन्त्र प्राप्तिपछि चुलिएको बेथितिले जनताहरुले यो व्यवस्थाप्रति अपनत्वबोध गर्न नसकेपछि फ्याकिएको राजसंस्थाप्रति जनआकर्षण बढ्न लागेको दृष्टान्त सतहमा आएको छ । २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट नेपालमा औपचारिक रुपमा राजतन्त्रको अवशान भएको थियो । त्यसको तारतम्य भने २०५६ को पुर्नस्थापित सांसदको जगमा बनेको माओवादी सहितको अन्तरिम व्यवस्थापिकाले गरेको थियो । दलहरुको पूर्वसहमति बमोजिम पहिलो संविधान सभाको पहिलोे बैठकले औपचारिक रुपमा गणतन्त्र घोषणा गरेको हो । विश्वभर गणतन्त्र प्राप्ति ठूला आन्दोलन र रक्तपातपूर्ण क्रान्तिबाट मात्रै सम्भव भएको छ । तथापि नेपालमा राजतन्त्रको बहिर्गमन सहजै भएको थियो । गणतन्त्र घोषणा भएको दुई साता पछि पूर्व राजा ज्ञानेन्द्रको सपरिवारले नारायणहिटी राजदरबार सहजै छोडेका थिए । गणतान्त्रिक शासनको १५ वर्षमा देशले विकास र आत्मनिर्भरतामा यथोचित गति हासिल गर्न नसकेपछि पुरानै व्यवस्थाप्रति जनमोह बढेको देखिन्छ ।
देशमा गणतन्त्र बहाली पछि पनि कायापलट हुन नसकेकाले पछिल्लो समय जनताहरु वर्तमान व्यवस्थाप्रतिको विकर्षण बढेको बताइन्छ । भ्रष्टाचार, बेथिति र नेताहरुको गैरकानूनी गतिविधिको उजागरले जनताहरु गणतन्त्रबाट आजित भएर राजसंस्थाको पक्षमा उभार आएको आँकलन गरिएको छ । पछिल्लो नेता प्रतिको वितृष्णा र पूर्वराजाप्रतिको आकर्षण सतहमा प्रकट भइरहेको छ । नेताहरुलाई भौतिक आक्रमणमा उत्रन पछि नपर्ने जनता पूर्वराजाको कार्यक्रममा स्वेच्छिक रुपमा सरिक हुने क्रम बढिरहेको छ । केही दिन पहिले काठमाडौंमै कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमण जनआक्रोश चरम अभिव्यक्ति हो ।
देशको स्वदेशी उत्पादनले कुनै क्षेत्रको पनि आवश्यकता पूर्ती गर्न नसकिएको विडम्बनापूर्ण अवस्था विद्यमान छ । स्वदेशी उत्पादनले बजार नपाउँदा किसानले उब्जनी बारीमै सडाउन बिबश छन् । त्यसैको प्रतिवाद स्वरुप किसानले सडकमा ल्याएर कृषि उपज फाल्न बाध्य छन् । जनस्तरमा गणतान्त्रिक व्यवस्थाको प्रत्याभूति दिलाउन शासकहरुले नसकेपछि पूर्वराजाप्रतिको आकर्षण बढेको सहजै बुझ्न सकिन्छ । यसको बेलैमा निवारण नगरे गणतन्त्रको भविष्यमाथि संकट पैदा गराएको जनस्तरबाटै देखिएको आक्रोशले प्रतिबिम्बित गरेको छ ।