गाउँको वरिपरि हरियाली जङ्गल थियो । जहाँ रुख हुन्छ त्यहीं सुख हुन्छ भन्ने मान्छेमा दिलचेतना जागिरहेको थियो ।
हिमालहरू सधैं उत्साह बोकेर मुस्कुराइरहेका हुन्थे । गर्विलो र दर्बिलो आत्मविश्वासले अग्लिएका हिमालको हँसिलो मुहारझैं वशिष्ठधामका मान्छेहरू पनि जोशिला र जाँगरिला थिए ।
शुद्ध र सङ्लो पानी छचल्किँदै घट्टेखोलो र सिन्धुखोलो कलकलाउँदै अविरल बगिरहन्थे । सङ्लो पानीमा सलबलाउँदै खेलिरहेका माछालाई देखेर साना–साना बालबालिकाहरूको पूmलजस्तो कोमल मन फुरुङ्ग पर्थे ।
जङ्गलका पन्छीहरूले बोलेको मीठो बोली र कोकिल कण्ठले गाएको मधुर गीत सुनेर मान्छेको मन यसैत्यसै पुलकित भैरहन्थ्यो ।
भनौं त बाहिरको विषालु हावापानी र वातावरणले वशिष्ठधामको रमणीय परिवेशलाई विथोल्न पाएको थिएन । आफ्नो थातथलोप्रति सबैलाई प्रगाढ विश्वास र प्रेम थियो ।
असल मान्छेलाइ इज्जत गर्ने र सानालाई प्रेरणा र प्रोत्साहन गर्ने अनुकरणीय सामाजिक संस्कार र संस्कृतिले गर्दा यहाँका मान्छेहरू सभ्य र शान्त थिए ।
हजुरबा–हजुरआमाहरू आपूmले सुनेका मीठामीठा कथाहरू सुनाएर आफ्नो वरिपरि आएका बाल–बालिकाहरूलाई दङ्ग पार्थे ।
विद्यालयबाट फर्कंदा बाटोमा फेला परेका ऐंसेलु, काफल र बयर टिपेर नाति–नातिनाहरू आफ्ना हजुरबा–हजुरआमालाई ल्याइदिन्थे । नाति–नातिनाहरूले आफ्ना अग्रजहरूलाई गरेको प्रेम देखेर आमा–बुबा पनि औधी प्रफुल्ल हुन्थे ।
वशिष्ठधामको सामाजिक जीवन खोलाको सङ्लो पानीजस्तै पवित्र थियो । अर्काले सित्तै दिएको एकदानो पनि यसै खान हुँदैन भन्ने ज्ञान सबैमा थियो ।
हरेक मान्छेहरू आफ्नै बुद्धि, बुता, शक्ति र क्षमताको कमाइमा रमाउँथे । दशैं, तिहार, माघेसङ्क्रान्ति, तीज, गाईजात्रा, फागु लगायतका चाडपर्वहरूमा औधि रमाइलो हुन्थ्यो । मठ–मन्दिरमा पूजा–पर्व मनाउन जाँदा सनाइँ, ट्याम्को, दमाह, झ्याली, झ्याम्टा, नर्सिङ्गा, तुराइ, नगरा आदि बाजाहरू घन्किथे र सबैको मनमा उत्साहको लहर तरङ्गित हुन्थ्यो ।
गौरी गाई, लाउरी भैंसी गोठका–गोठ हुन्थे । झाले, माले, तिल्के, तारे, रागे–पाटे गोरु फाँट थर्काउँदै डुक्रन्थे र सिङौरी खेल्थे । हरेक दिन ढुंगा भरिभरि दूध दोहिन्थ्यो । बालबालिकाहरू डम्फे कचौराभरि–भरि ताजा र तेजिलो दूध खाएर फुर्तिला, जोशिला र जाँगरिला थिए ।
सबैमा आफ्नो मातृभूमिमाथि अगाध आस्था, विश्वास र प्रेम थियो । जो जहाँ गए पनि स्वदेशको माया बोकेर जान्थे र नञानञा ज्ञान, विद्या, बुद्धि र सीप सिकेर आफ्नै देशमा फर्किन्थे ।
बुझ्यौ त नाति–नातिना हो कथा ? बुझ्दै छौं ! सुन्यौ त वशिष्ठधामको कथा ? सुन्दैछौं हजुरबा ! कस्तो लागिरहेको छ त तिमीहरूलाई यो कथा ? सबैले एकै स्वरमा भने–मीठो र स्वादिलो लाग्यो ! कस्तो मीठो र स्वादिलो ? पाकेको आँप र स्याउजस्तै मीठो र रसिलो लागिरहेको छ हजुरबा ! केटाकेटीहरू रमाउँदै उफ्रिन थाले ।
प्यारा नाति–नातिना हो, म भनेको डाँडामाथिको जून, तिमीहरू भनेका यो देश र समाजका आशावरी धून हौ आशावरी धून !
अझै भनूँ म ? भोलिको देश हाँक्ने शक्ति भनेकै तिमीहरू हौ । मन्त्री, प्रधानमन्त्री, सेना, प्रहरी, कर्मचारी, पकार, डाक्टर, इन्जिनियर, कवि, लेखक, साहित्यकार, वकिल, न्यायाधीश आदि शक्ति भनेकै तिमीहरू हौ नाति–नातिना हो, तिमीहरू नै हौ ! तिमीहरू नभए को हुन्छ यो देशमा को ? लौ भन त !
हुन त हो हजुरबा तर मलाई त…! हैन के तर मलाई त…भन्छ यो गौराङ्ग ! के तर मलाई त…? के तँलाई आफ्नो देश मन पर्दैन ? हामी बूढाभाका हजुरबा–हजुरआमाको माया लाग्दैन तँलाई ? कथा भन्दाभन्दै हजुरबा कड्किनु भो !
लाग्छ नि, आफ्ना प्यारा हजुरबा–हजुरआमाको माया किन नलाग्नु ! मलाई त सबैको माया लाग्छ । ई…हजुरबा, मैले भन्न खोजेको चाहिँ यही हो ! बुझ्नु भो त बुझ्नु भो मेरो कुरा ?
गौराङ्गले आफ्नो हातमा भएको ग्लोव (पृथ्वीको नक्सा) सबैलाई देखाउँदै भन्यो–यो सिङ्गै पृथ्वी हाम्रो साझा घर हो । यसलाई हामी सबैले माया गर्नुपर्छ ।
सिङ्गै पृथ्वीलाई हामी सबैले प्रेम गर्नुपर्छ भन्ने ठान्छु म, हो कि हैन त हजुरबा ? गौराङ्गको कुराले वरिपरि कथा सुन्न बसेका सबैजना छक्क पदै मुखामुख गन थाले ।
‘खुकुरीभन्दा कर्द लाग्ने, बाउभन्दा छोरो जान्ने’ भनेको यही हो बाबु हो ! मेरो मन आज पूmलको पुतलीजस्तै खुसी भएको छ । साना आँखाले सिङ्गै पृथ्वी देख्न सक्नु ! साँच्चै हो, हाम्रो घर, हामी सबैकी आमा पृथ्वी र नेपाल आमाको जय !
सुन्नेलाई सुनका माला, भन्नेलाई पूmलका माला ! लौ बाबु नानी हो, खाना खाओ, विद्यालयमा जाओ ! अर्को मीठो कथा सोचेर म फेरि मेरा नाति–नातिनाहरूलाई सुनाउँला ! जय पृथ्वी माता !