आक्रोशको निशाना प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पुनः पुष्पकमल दाहाल प्रचण्डलाई नै अध्यक्ष बनाएको छ । लामो समयसम्म चलेको महाधिवेशनले प्रचण्ड सुध्रने कि कार्यकर्ता सुध्रेन भन्ने प्रश्नको उत्तर भन्ने भेट्न सकेन । प्रचण्डले बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा सहभागी नेता कार्यकर्ताले प्रचण्डको सबै व्यवहारमा सुधार हुनुपर्ने, राजनीतिक सैद्धान्तिक रुपमा सर्वहारा वर्गको प्रतिनिधित्व हुनुपर्ने आवाज जोडदार रुपमा उठाएका थिए । २५ वटा समूहमा रहेका नेताहरुले मूल नेतृत्व नै दक्षिणपन्थी भासमा भासिएको आवाज उठाएका थिए ।
उनीहरुले सो आवाज उठाइरहँदा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा भने कार्यकर्ताहरु सुविधाभोगी भएको जनतामा नगएको, नेतामुखी हुन खोजेको आशय उल्लेख थियो । तर कार्यकर्ताहरुले भने मुल नेतृत्व नै सुविधाभोगी भएको भन्दै आलोचना ग¥यो । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन शुक्रबार पास गर्नुअघि प्रचण्डले कार्यकर्तालाई सुधार गर्ने कि कार्यकर्ताले प्रचण्डमा आएको बदलाबलाई सुधार गर्ने भन्ने रस्साकस्सी चलिरह्यो । अन्ततः प्रचण्डले केन्द्रीय सदस्यहरु राजधानीमा बस्न नपाउने जिल्ला जानुपर्ने धारणा राखे भने समूहगत नेताहरुले मूल नेतृत्व सामान्तवादको नाइकेसँग घुलमिल हुन नहुने, दक्षिणपन्थी नेताहरुको उठबस कम गर्नुपर्ने, पूँजीवादी चरित्र र स्वभाव भएकालाई घरको मूल गेटमै रोक्नुपर्ने, दलाल पूँजीवादीहरुको संरक्षण गर्न नहुने तथा मूल नेतृत्वको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने भन्दै राजनीतिक प्रतिवेदन पास गराए ।
कार्यकर्ताहरुले प्रचण्डको २८ पेजमा उल्लेख भएको एउटा वाक्यांशमाथि पनि कडा प्रहार गरेका छन् । ‘मुखले संविधान बनाउने र मनले विद्रोह गर्ने सोच्दा कुरा निकै अवस्तुवादी थियो’ भन्ने वाक्यांशमा प्रचण्डको ढुलमुले स्वाभाव देखिएकाले यस्तो हुँदा एमालेसँगको पार्टी एकीकरण पनि हतारमा भएको निष्कर्ष निकालिएको थियो । बन्दसत्रको हलमा नेताहरू राम कार्कीले पूरक प्रस्ताव प्रस्तुत गरे भने लेखनाथ न्यौपानेले प्रचण्डलाई कडा दबाबमा
राख्नका लागि फरक प्रस्ताव राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई लिखित सुझाव दिएका थिए । बन्दसत्रकै हलबाट प्रचण्डले पूरक प्रस्ताव र सुझावलाई ग्रहण गरिसकेको र न्यौपानेको प्रस्तावलाई छलफलमा लैजाने प्रतिबद्धता जनाएका थिए । २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका प्रचण्डले ठेकेदार शारदा अधिकारीको घरबाट डेरा सर्ने कुरा पनि सुनाएका थिए । ठेकेदारको घरमा डेरा बसेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको कडा आलोचना भएको छ । सो विषयले महाधिवेशनको बन्दसत्रमा प्रवेश पाएको थियो । बन्द सत्रमै प्रचण्डले अधिकारी पार्टीको पूरानो कार्यकर्ता भएको, पञ्चायतकाल देखिनै सेल्टर लिएर बस्ने ठाउँ भएकाले त्यहाँ बसिएको स्पष्टीकरण दिएका थिए । कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डको जीवनशैलीबारे पनि प्रश्न गर्दै डेरा सर्नुपर्ने र कार्यकर्ताले नै उनका लागि आवासको व्यवस्था गर्नुपर्ने बताएका थिए । बन्द सत्रमा प्रचण्डको धेरै आलोचना हुन थालेपछि सहभागी प्रतिनीतिहरुलाई मोबाइलबाट तस्वीर खिच्न र भिडियो खिच्न तथा कुराकानी गर्नसमेत रोक लगाइएको थियो ।
बन्द सत्रमा प्रतिनिधिहरूले माओवादी बिग्रनुमा प्रचण्डको कार्यशैली र जीवनशैली पनि मुख्य कारण भएको बताएका थिए । प्रचण्ड आफैँले पनि पार्टी शान्ति प्रक्रियापछि स्पष्ट कार्यनीति नहुँदा बिग्रिएको दस्तावेजमै स्वीकारे पनि आफ्नो जीवनशैलीको बारेमा केही बताएका थिएनन् । प्रचण्डको कार्यशैली र उनको प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै राम कार्की र लेखनाथ न्यौपानेले आफ्नो मतमाथि छलफल गराएका थिए ।
प्रचण्डले निर्णय प्रक्रियामा समेत हस्तक्षेप गरेको उनीहरूको आरोप थियो । प्रचण्डको प्रतिवेदन यथार्थभन्दा भिन्न भएको भन्दै यथार्थमा आधारित हुनुपर्ने उनीहरूको मत थियो । बन्द सत्रमा माओवादी नेताहरूले नेतृत्वमाथि नै प्रश्न उठाएर सुधारका उपाय बताएका छन् । २१ औँ शताब्दीको समाजवादको स्पष्ट व्याख्या तथा समाजवादी क्रान्तिको चरणबद्ध कार्यक्रमसहित स्पष्ट कार्यदिशा तय गर्नुपर्ने प्रतिनिधिको सुझाव थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा दुई कार्यकाल मात्रै योग्य हुने व्यवस्था हुनुपर्ने प्रतिनिधिहरूले माग गरेका थिए । पार्टीमा ७० वर्षीय उमेर हद तोकेर अनिवार्य अवकाशको व्यवस्था गर्नुपर्ने, नेताहरूको सम्पत्ति विवरण वार्षिक सार्वजनिक गर्नुपर्ने, सुदृढ पार्टी निर्माणको लागि केन्द्रीय कमिटीसहित सबै तहका कमिटीहरूको आकार घटाइ दुई अंकको बनाउनुपर्ने पनि प्रतिनिधिको सुझाव थियो ।
छिमेकी देश भारतलाई हेर्ने नजर प्रस्ट नभएको, नेपालका राजनीतिक दलबारे धारणा नआएको भन्दै प्रचण्डको आलोचना गरिएको थियो । खासगरी कमजोरी गरेर आत्मआलोचना गरिएको भए पनि गल्ती नै हुन नहुनेतर्फ नेतृत्वको ध्यान जानुपर्ने कार्यकर्ताहरुको माग थियो । नेताहरुका छोराछोरी अमेरिका लगायतमा मुलुकमा पढ्न जाने गरिब छोराछोरीले स्कूलको अनुहार पनि देख्न नपाउने अवस्था कसरी आयो भन्दै नेताहरूले आफ्नो छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने विषयले बन्द सत्रमा प्रवेश पायो । प्रचण्डको कार्यशैलीमा अझै परिवर्तन आएको छैन । सर्वहारा वर्गको नेता शानसँग आलिशान बंगलामा बसिरहँदा पार्टीको शाख नै गिरेको छ । त्यसैले त चर्को आलोचना भएपछि आफू डेरा सर्न तयार भएको बताउँदै आफू काठमाडौं बाहिर बसेर वा सानो घरमा बसेर सबै विषयमा सुधार आउने हो त ? भन्दै कार्यकर्तालाई प्रश्न गरेका थिए । उनले खुमलटारको डेरा सर्ने र त्यसपछि उपत्यकामै बस्ने कि चितवन बस्ने भन्ने बारेमा घरसल्लाह गर्ने बताएका छन् । तर पार्टीभित्र प्रचण्डमात्रै हैनन् सबै शौखिन भएका छन् । अब के पार्टीमा सुधार आउला त ?