प्रचण्डको खटारो–ओर्लने धेरै चढ्ने शून्य

यताउताका कुरा

कम्रेड प्रचण्डले १० वर्षसम्म पार्टीलाई कसरी हाँके–पत्याउनै गाह्रो पर्ने । यतिखेर एक्लो प्रचण्ड हुलका हुलजस्तो देखिएको छ । नेकपा तीन टुक्रा हुन नपाउँदै रामबहादुर थापासहित एकदर्जन नेता एमालेका सर्वमान्य नेता ओलीकहाँ त्वम् शरणम् भन्दै पुगे । भरिभराउ बसबाट एकथरि झर्नासाथ सीट खाली हुन थाल्यो । अहिले एमसीसी समर्थन र विरोधको ताराबाजी खेल्दाखेल्दै अरु मित्रहरू पनि विस्तारै पन्छिन थाले । प्रचण्डबाट बाहिरीपाटो लगाएदेखि के निहुँ पाउँला र बदला तिरौला भनेर बसेका नारायणकाजी श्रेष्ठले यही हो मौका भनेर विरोधको चर्को नारा लगाउन थाले–उनको पछिपछि लागे लीलामणि पोख्रेल । पहिले मुखबाट बोली खस्न नपाउँदै आज्ञाकारी बन्नेहरू अब हेप्न पो थाले । जिल्ला जिल्लाबाट आफ्ना कार्यकर्ता चुहिएको भाँडोबाट पानी रित्तिदै गए । उनीहरूलाई चिप्ला कुरा गरेर एमालेले आफ्नोतर्फ तान्न थाले । कुनै बेला यतै माओवादी उतै माओवादी देखिनेमा यतिखेर सिलाखोज्न पर्ने अवस्था आएको छ । हुन पनि अरुलाई भुसुना जत्ति न गन्ने कम्रेडलाई अहिले तिनै भुसुनाले टोक्न थालेजस्तो छ । हाम्रो नेतालाई के भ्रम छ भने मैले भनेपछि सबैले मान्दछन् । तर कहिले सासुको पालो कहिले बुहारीको पालो भनेझैं पहिले हेपिएका दोस्रो तहका नेताहरू अहिले जगरसेठ भएर आफ्नो बोली मनाउन लट्ठी लिएर लागेका छन् । केन्द्रीय समितिको बैठकमा आफ्नै भनेका कृष्णबहादुर महरा, देव गुरुङले फरक मत राखेर चिठी नै लेखे । अनि एमालेमा गएका नेताहरूले खुच्चिङ भन्न पाए ।
साँच्चै कम्रेड प्रचण्डमा बुढौती बढ्ने आँछ घट्ने हुँदै गएको हो कि ? नत्र भने आपूm अध्यक्ष चुनिएको दुई महिनासम्म पनि पदाधिकारी राख्ने आँट गरेका छैनन् । जनार्दन र अनन्त कम्रेड दुवै जनालाई महामन्त्री पद चाहिएको छ । जेठीको पक्ष लियो कान्छी रिसाउने कान्छीको पक्ष लियो जेठी रिसाउने परिस्थितिले निक्र्यौल गर्न सकेनन् । त्यसै भएर होला कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेसलाई हात्ती र माओवादी समाजवादीलाई ठूलो कानको ओत लाग्न आएका भनेर व्यङ्ग्य कसेका होलान् । अब कम्रेड प्रचण्डले राम्रै आँट नगर्ने हो भने पार्टी रित्तिन बेर लाग्दैन । चलाउने खटारो पार्टी हो–त्यसको सीटबाट यात्रुहरू धमाधम ओर्लदै छन् । त्यसो त पेट्रोलियम पदार्थको भाउ बढेकोले गाडी चलाउन पनि गाह्रै छ । त्यसैले जति यात्रु ओर्लन्छन् ओर्लुन्–म स्टेयरिङमा टाउको अड्याएर झोक्रेर बस्छु भन्न बेर छैन । ओर्लने धेरै चढ्ने शून्य भएपछि के गर्ने ?


५ बाट २ मा भाग्दै


राजेन्द्र लिङ्देनको आशीर्वाद यसपल्ट कम्रेड ओलीको भागमा पर्लाजस्तो छैन । झापाको ५ नं. निर्वाचन क्षेत्र छ्यापछ्याप्ती राप्रपाले ढाकेका छन् । अघिल्लो पल्ट सिटौला हराउन कम्रेड ओलीले लिङ्देनलाई कम्युनिष्ट भोट खलिखुप्पर खन्याउन लगाएका थिए । मितले मण्डी दिए मैले खुकुरी दिएँ भनेझैं लिङ्देनले ५ नम्बर क्षेत्रका सबैजसो राप्रपा भोट सूर्य चिन्हमा छाप लगाउनेमा पारेका थिए । तर सब दिन नहीं हो त एकसमान भनेझैं अघिल्लोपल्टको जस्तो दोस्ती यसपल्ट नहोला जस्तो छ । आपूm अध्यक्ष भएको पार्टी र आफ्नो जिल्लामा २ सिट पनि जिताउन नसके इज्जत नै कहाँ रहने ?। त्यसैले यसपल्ट ५ नम्बर क्षेत्रमा अर्को बलियो राप्रपा उठाउने भएका छन् । लिङ्देनले । लौ परेन के फसाद–त्यहाँबाट जित्न कठिन हुने देखेपछि ओली कम्रेडले २ नं. क्षेत्र ताकेका छन् । यसलाई पलायन भन्छन् क्यारे ।
त्यसो त ओली कम्रेडलाई कलर रोगले छोपेजस्तो छ । त्यसैले स्थानीय चुनावमा मतपत्रमा आयोगले हरियो रंग प्रयाग गर्नेभन्दा कतै रुखको प्रभाव पर्ने त होइन भन्ने डर बोकेका कम्रेड सबैतिर जंगल फँडानी गर्नेतिर लाग्ने हुन् कि भन्ने शंका पैदा हुन लागेको छ । बोट बिरुवा सबै हरिया हुन्छन्–हरियो देख्दैमा रुखमा भोट हाल्छन् भन्ने डर किन होला । यसो विचार गर्दा कम्रेडलाई सजिलो त झापा २ भन्दा भक्तपुर दुई उपयुक्त हुने हो कि ? ‘बा’ भन्दै आउने महेशले यभातिका छोराले आफ्नो जवानी बाबुलाई दिएजस्तो सिट छाड्न पर्ने हो कि ?। संसदमा प्रवेश गर्न त समानुपातिक सीट भइहाल्छ नि । त्यसैले कम्रेड ओली झापाको ५ नम्बर क्षेत्र मापाको ठहरिने हो कि भन्ने ठानेर झापा २ कि भक्तपुर २ तिर भाग्न बेर छैन । तर अर्को खड्को अग्नि खरेलले आँखा लगाएर प्रचार थालिसकेको झापा २ बाट कसरी हट भन्ने । बोलबोल मछली मुखभरि पानी–म लड्छु भनेर खरेललाई भन्नै गाह्रो । तर भक्तपुर २ पनि सजिलो कहाँ छ र ? सबै मिलेर हराइदिए भने–उनी आखिर बाहिरिया हुन् नि ।


भत्तामात्र

केही दिनयता एमालेमा भत्ताले कचकचको रूप लिएको छ । पहिले कसैले वास्ता गरेन के हो सदन अवरोध र के हो भत्ता । तर सदन अवरोध गरेको धेरैलाई चित्त बुझेन क्यारे–भन्न थाले काम नगरी ज्याला खाने । अब त कम्रेड ओली पनि हामीले सदन रोकेका होइनौ, बलजफ्ती रोक्न लगाए भनेर गठबन्धनतिरै औंलो देखाउन थालेका छन् । लवस्तराको ओखती छैन भन्थे–आपूm सदन शुरु हुन नपाउँदै नाराबाजी गरेर उफ्रने अनि एमसीसी पास गर्न हामीले मौकै पाएनौं भनेर गुनासो गर्ने । कसले समर्थन गर्न रोकेको थियो र । उनलाई लाग्यो होला सदनमा प्रस्तुत गर्ने हामी, समर्थन गर्ने बेलामा बाहिर पारो । जसको बिहे उसलाई देख्न नदिएजस्तो भयो–एमालेले समर्थन गरेको देखाउन पाए ठूलो साथी अमेरिका मख्ख पर्दथ्यो । अचेल कम्रेड ओली जताततै खूब बोल्न थालेका छन्–गाली गर्ने भएका छन् अर्थात बालक्कड भनौं वा गफी पल्टेका छन् । एमसीसी पास नभएससम्म मौन ब्रत धारण गरेका कम्रेड त्यतिखेर किन बोलेनन् त । बोल्नासाथ अर्थको अनर्थ लाग्ने चिन्ता ।
अहिले एमसीसीको पक्षमा राम्रो भयो भन्ने ओली कम्रेड सदन रोक अभियानमा पछि हट्नेवाला छैनन् । सदन बहिष्कार गरेको दिनको भत्ता पनि बहिष्कार गर्छौं भनेनन् त एमाले सांसदले भन्ने गरेका छन् न त नेता कम्रेडले नै काम नगरेको दिनको ज्याला लिन हुन्न भन्ने आँट गरेका छन् । भत्ता नलिने भनौं–हाम्रो घरको चुलो कसले बालिदिन्छ भनेर एकै स्वरमा कराउन आए भने के जवाफ दिने । आफ्नो खल्तीको दिनुपर्ने भए लौ हुँदैन है यो काम नगरी कमाउने ज्याला लिन्न भन्थे होलान् तर जाने त सरकारी ढुकुटीबाट हो, त्यसैले किन रोक्ने भत्ता खान । खाने कुरामा कोभन्दा को कम–एकै दिन तीनवटा मिटिङ गरेर तीन ठाउँको बैठक भत्ता लिनुहुन्छ भने यो त खुट्टा बजारेर, चर्को स्वर गर्दा घाँटी सुकाएर धेरै बेर उभिँदा खुट्टा दुखाएर कमाएको भत्ता कसले छाडोस् । त्यसैले काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर झैं कसैले टाउको दुखाएर काम नगरी भत्ता खाए भन्छन् भने आपूm चाहिँ काग कराउँदै गछधेरै बेर उभिँदा खुट्टा दुखाएर कमाएको भत्ता कसले छाडोस् । त्यसैले काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर झैं कसैले टाउको दुखाएर काम नगरी भत्ता खाए भन्छन् भने आपूm चाहिँ काग कराउँदै गर्छ पिना सुक्दै गर्छलाई चरितार्थ गर्ने हो ।


चुनाव भारतमा ः
चस्का नेपालमा


एकथरिलाई यसपल्ट विजेपीको ओरालो यात्रा शुरु होला भन्ने लागेको थियो, भुसुनो पार्टी आम आदमीले के नै गर्न सक्ला । तर चार प्रदेशमा विजेपी एकमा आम आदमी पार्टीले दबदबा बनाएर सत्तामा उक्लियो । होसियार–नेपाली नेता न त मोदीले सत्ता र शक्तिको दुरुपयोग गरे न त आम आदमीले आफ्नो अनुहारमा कालो पोत्ने कुनै काम ग¥यो । जनता भ्रष्टाचार र पक्षपातको विरोधमा आफ्नो भोट हाल्दछ । नत्र दिल्लीमा खुम्चिएर शासन गरेको आम आदमीलाई पञ्जाबको फराकिलो ठाउँ दिन्थ्यो मान्छे अनुहार होइन चरित्र हेर्छ–योगदान हेर्छ । केजरीवालको जितले कुनै कुनै नेपाली नेताको मुटुमा ढ्याङ्ग्रो ठोक्न थाल्यो होला–कतै हाम्रो अवस्था पनि पञ्जाब, गोवा र उत्तराञ्चलका मुख्यमन्त्रीको जस्तो नहोस् । आँधीमा रुख ढलेझैं ती राज्यका मुख्यमन्त्रीहरू ढले । यो एउटा पाठ हो–सचेत बन्ने संकेत हो ।
कुकुर भुक्दै गर्छ हात्ती लम्किँदै गर्छ भनेझैं हाम्रा नेता जनता र सञ्चारमाध्यम कराउँदै गर्छन् नेताहरू जनताका कुरा एक कानले सुन्छन्, अर्को कानले उडाइदिन्छन् । चुनावको लहर त नेपालमा पनि आउँदैछ–अघिल्लोपल्ट मौका पाएर पनि जनताको पक्षमा काम नगर्ने अनि आफ्नै स्वार्थमा रंगबङ्गिनेलाई कुचो लगाइदिने त होइनन् । बुद्धिमानलाई इशारा काफी छ, इशारा नबुझ्नेहरूलाई आँधी बेहरीले बडार्छ–चुनाव भारतमा भयो चस्का नेपाली नेताहरूमा प¥यो ।


अन्त्यमा–
वैकल्पिक राजनीति गर्ने भनेर अघि बढेका डा. भट्टराई जातीय मुद्दामा रवीन्द्र मिश्र दक्षिणपन्थी धापमा परेछन्–कठै विचरा ।