काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलले धेरै समय निरन्तरता पाउने लक्षण अझै देखिएको छैन । किनकि उनले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे तर अझै पूर्ण गर्न सकेनन् । त्यसका अगाडिका पात्र उनै हुन् । उनले पटक पटक गठबन्धन पनि परिवर्तन गरेका छन् । तर अझै पूर्ण गर्न सकेका छैनन् । दश दलीय गठबन्धन भने पनि सरकारमा रहेको जनमत पार्टीले सरकार छाड्यो । खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका जनमतमा उपाध्यक्षसमेत रहेका अब्दुल खानले असन्तुष्ट हुँदै गत शुक्रबार मात्रै सरकार छाडे । उनले आफूलाई उद्योग मन्त्री दिन माग गरेका थिए । सम्भवत प्रचण्डले यसअघि आश्वासन पनि दिएका थिए होला । जब यो मन्त्रालय नेपाली कांग्रेसले लैजाने भयो तब खानको धैर्य टुट्यो र मन्त्रीबाट राजीनामा दिए ।
जनमतले यदि सरकारलाई दिएको समर्थन फिर्ता लियो भने फेरि प्रचण्डको समीकरण घटबढ हुनेछ । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्री भएका थिए । पुस ११ देखि अहिलेसम्म उनले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरे तर पूर्णता अझै दिन सकेनन् । त्यसो त उनको यो दोस्रो इनिङ्स हो । पहिलो इनिङ्स धेरै टिकेन । नेकपा एमाले र राप्रपाले सरकार छाडेपछि उनले गत चैत ६ गते उनले दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यसपपछि भने उनले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रचण्डले गत फागुन १५ गतेदेखि एक्लैले १६ मन्त्रालयको बोझ बोकेका थिए । र ढिला गरी मन्त्रिपरिषद् विस्तार गर्दा पनि अझै छ मन्त्रालयको भार उनले खेप्नु परेको छ । त्यसको कारण भने नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले सबै मन्त्रीको नाम नदिएरै हो । साथै जनमतले सरकार छाडेरै हो ।
कांग्रेसका भागमा आठ वटा मन्त्रालय भएको भए पनि सभापति शेरबहादुर देउवाले चार नाममात्र दिन सके । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् । डा. प्रकाशशरण महत अर्थ मन्त्री भएका छन् । रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भएका छन् । सीता गुरुङ शहरी विकास मन्त्री भएकी छिन् । चार नाम खाली छन् । संस्थापन इतर पक्षले सम्मानजनक सहभागीता नभएसम्म नाम नदिने बताएसँगै चार नाम खाली भएका हुन् । देउवाले दुई जनाको मात्र नाम मागेपछि कम्तीमा तीन मन्त्री चाहिने डा. शेखर कोइराला पक्षको अडानपछि देउवाले चार जनाको मात्र नाम पठाएका हुन् । कांग्रेसले आफ्नो हैसियत यहाँ पनि देखाइछाड्यो । अनिर्णयको बन्दी बनाउने पार्टी नै कांग्रेस हो । अनि पदका लागि सांसदहरु जे पनि गर्न सक्छन् भन्ने यो प्रमाण पनि हो । त्यस्तै जसपाले आफ्नो भागमा परेका दुई मन्त्रीको नाम दिन सकेन । अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री भएका छन् । एक मन्त्रीको नाम जसपाले दिन सकेन । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरिएको छ । भौतिक पूर्वाधारबाट उनी उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्ययनमा सुदन किराँती र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीमा अमनलाल मोदीले निरन्तरता पाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री भएका छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष
रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएकी छिन् । नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । आखिर प्रचण्ड पनि अचम्ममा छन् कि यता टाल्यो उता भ्वाङ उनको राजनीतिक जीवनमा देखिइरहने समस्या हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी बैशाख १० गतेको चुनावपछि मात्रै निर्णय लिने बताएको छ । त्यतिबेला फेरि भ्वाङ नपर्ला भन्न सकिन्न ।