जनभावना ४३ औं वर्षमा प्रवेश

Home Feature

हाम्रो आफ्नै अनुभव र शुभकामना

Jana Poush 16 – 2080


साँढे चार दशक लामो हाम्रो यात्राका अनुभव वा भोगाईहरू पनि विचित्रकै छन् । जनभावना साप्ताहिक नेपाली पत्रकारिता जगतमा उदाएको त्रिचालीस वर्ष पुगिसकेको छ । पञ्चायतकालीन शासन पद्धति छँदा यसको जन्म भएको हो । एकदशक नबित्दै राज्यको शासन व्यवस्था फेरियो । बहुदलीय व्यवस्था पुनस्र्थापन गरियो । ०४७ सालपछिको पद्धतिले पनि अपेक्षित परिणाम दिन सकेन । दोस्रो जनआन्दोलन पश्चात पुनः व्यवस्था बदलियो । लोकतान्त्रिक व्यवस्था भित्र्याइयो । तीन पृथक शासन विधि अन्तर्गतका हाम्रा अनुभव पनि बिल्कुलै पृथक खालका छन् । पञ्चायतकालमा पत्रकारिता एउटा सम्मनित पेशा थियो ।
शीर ठाडो गरेर भन्न सकिन्थ्यो–म पत्रकार हुँ । ०४७ को परिवर्तन पश्चात कुरो अर्कै भयो । पत्रकारितालाई कमाउको माध्यम मात्र बनाउने सोच हावी भयो । पत्रकारितालाई व्यापार बनाइयो । राज्यको चौथो अंग बनेको पत्रकारितामा कालो दागको थालनी भयो । ०५३ को परिवर्तनपश्चात झनै नराम्रो रोग पस्यो । पत्रकारिताको माध्यमबाट अनेक किसिमका बार्गेनिङ र ठगीका घटना हुन थाले । विशुद्ध पत्रकारिता ओइलाउँदै गयो । बार्गेनिङको कला भएका र पत्रकारितालाई व्यापार बनाएकाहरु फस्टाए, मौलाए । पत्रकारिताको स्वाभिमान धूज्जियो । सम्मान ओझेलमा प¥यो । पत्रकार हुँ भनेर हिँड्नसमेत लजाउनुपर्ने अवस्था सृजित भयो । साँढे चार दशकमा हामीले अनुभव गरेको एउटा विधा यही हो । यो पढ्दा वा सुन्दा धेरैलाई अप्ठेरो लाग्न सक्दछ । विशुद्ध पत्रकारिता गर्ने सबैले यही पीडा वोध गरेका छन् । यथार्थ यही नै हो र छ ।
हाम्रो यात्राको सुरुवाती दिनमा नेपालको परिचय बेग्लै खालको थियो । हरियो वन नेपालको धन भनिन्थ्यो । नेपाली काठ र जंगल जन्य उत्पादन संसारका विभिन्न देशमा निर्यात हुन्थे । नेपालमा उत्पादित खाद्यान्न भारत, थाईल्याण्ड लगायत थुप्रै देशमा जान्थे । नेपाल भित्रको मौलिक संस्कृति, उच्च हिमाली खण्ड, प्राकृतिक सम्पदा, यत्रतत्र रहेका मन्दिरहरु विदेशी पर्यटक भित्र्याउने र राष्ट्रिय आय बढाउने उपायका रुपमा परिचालित थिए । पञ्चायत ढल्यो, बहुदलीयता भित्रियो । ०४७ सालको परिवर्तनसँगै नेपाली उत्पादन ओरालो लाग्यो । झापादेखि कञ्चनपुरसम्म अनेक उद्योग थिए । खाद्यान्न सम्बद्ध उद्योगहरु धराशायी भए । जुट उद्योग, सूर्ति उद्योग, सिमेण्ट उद्योग, कत्था मिल, कपडा उद्योग, कागज कारखाना, चुरोट कारखाना, चिनी उद्योगहरु, बाँसबारी छालाजुत्ता, हरिसिद्धि र भक्तपुर इँटा टायल कारखाना आदि सरकारी कोपभाजनमा परे । कृषि र प्रकृति सम्पदा सम्बद्ध सबै उद्योग बन्द गरिँदा ग्रामीण किसानको दिन उल्टो भयो । खेती किसानी छोडेर युवाहरु खाडीतिर रोजगारीमा भासिए । माओवादीले चलाएको जनयुद्धले त कैयन गाउँठाउँलाई निर्जन खण्डकरमै रुपान्तरित गरिदियो । परिवर्तनले विकासको बदला विनाश निम्त्यायो । यो पनि भोगिएको तीतो सत्य नै हो ।
राजनीतिक परिवर्तनहरुले देश र जनताको लागि केही दिन सकेका छैनन् । ०४७ पछि ओरालो लागेको अर्थतन्त्र सुध्रिने कुनै गुञ्जायस छैन । वैदेशिक ऋण काढेर प्रदेश सरकार पाल्नु परेको छ । स्वतन्त्रतालाई उपलब्धि बताउनेहरु सोह्रैआना गलत छन् । उच्छृंखलता र अराजकतालाई स्वतन्त्रता र प्रजातन्त्र ठान्नु मूर्खता हो । सर्वत्र बाटो बिराइएको छ । राष्ट्रिय भाव भूमिमा टेकेर राजनीतिक परिवर्तन भएका भए कुरो बेग्लै हुन्थ्यो । बाहिरी दबाब र प्रभावको बलमा पटक पटक राजनीतिक परिवर्तन गरिँदा कुरो बिग्रिएको छ । जातीय, धार्मिक, लैंगिक क्षेत्रीय, सांस्कृतिक विभेद बढाएर द्वन्द्व चर्काउन खोजिएको छ । पछिल्लो साँढे तीन दशकले कुनै पनि फाँटमा सकारात्मक परिणाम दिएको छैन । पत्रकारितासमेत त्यही भूमरीमा फँसेको छ । समाचार र विचार सम्प्रेषण गरेर समाजलाई सही ट्र्याकमा हिँडाउनेतर्फ पत्रकारिताले पहल गरेको छैन । उल्टै, विवादास्पद समाचार सृजना गरेर कमाउ खेतीलाई मलजल गर्न खोज्नेहरु पत्रकारको आवरणमा क्रियाशील भएका छन् । यी यावत पक्षलाई मनन गरेर विशुद्ध पत्रकारिता गर्ने सोच सबैमा पलाओस् । राजनीतिमा लागेकाहरुमा पनि सद्बुद्धि आओस् । नयाँ वर्ष प्रवेशको अवसरमा जनभावना साप्ताहिकको यही शुभकामना ।