पूर्वराजा मर्माहत, सरकार गैरजिम्मेवार

Home Feature


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट बाढी पहिरोले पु¥याएको क्षतिप्रति दुःख ब्यक्त गरिएको छ । दुःखद घडीमा पूर्वराजाबाट निकै मर्माहत भएको भावनासमेत व्यक्त गरिएको छ । नेपालीको जीवन गुमेको, घाइते हुनु परेको र आफ्नो जायजेथा गुमाउनु परेको सुन्नु पर्दा अत्यन्त पीडाबोध भएकोसमेत बताइएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रबाट सरकारको आलोचनासमेत गरिएको छ । यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदाहुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यति ठूलो मानवीय र भौतिक क्षति हुनु निकै नै दुःखद कुरा भएको पूर्वराजाबाट बताइएको छ ।
हरेक वर्ष यस्ता घटना हुने थाहा पाउँदा पनि सरकारले सतर्कता नअपनाउनु गैरजिम्मेवारी भएको भनाइ पूर्वराजाबाट व्यक्त भएको हो भनिएको छ,
‘हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ ।’
पूर्वराजाबाट दशैँ तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएकोप्रति पनि आफ्नो गम्भीर चासो रहेको व्यक्त भएको छ । साथै यो स्थितिमा मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको शीघ्र
उपचार हुनु पर्ने भन्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यले तदारुक प्रयत्न गर्न आग्रहसमेत भएको छ ।
पूर्वराजाबाट भनिएको छ, ‘प्रकृति, परिवेश र प्रवृत्ति अनुरुप हाम्रा विकास प्रकृया अघि बढ्नुपर्दछ । आफ्नो परिवेशमाथि खेलबाड हुने बस्ती, ब्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान पुग्नु पर्दछ भन्ने हाम्रो दृष्टिकोण हो ।’
सरकारलाई झक्झक्याउँदै पूर्वराजाबाट भनिएको छ, ‘शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला प्रयाप्त सहयोग, सुब्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।’
बिहीबारदेखि शनिबारसम्म परेको अविरल भारी र अति वर्षाका कारण डेढ सय भन्दा बढीको ज्यान गएको छ । पचास भन्दा बढी बेपत्ता भएका छन् भने सयौँ घाइते भएका छन् । असोजका बेलामा अकल्पनीय क्षति भएको छ । यो बेलामा प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकामा घुमफिरमा व्यस्त भएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र भुटान जाँदै


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने तयारी भएको छ । पूर्वराजा नवदुर्गा शुरु भएपछि भुटान जाने तयारी भएको हो । पूर्वराजाको निजी सचिवालयका अनुसार यो भ्रमण निजी भ्रमण हुनेछ । निर्मल निवास स्रोतका अनुसार पूर्वराजा घटस्थापना वा त्यसको अर्को दिन गएर फूलपातीसम्ममा फर्किसक्ने कार्यक्रम छ । पूर्वराजाको अचानक भ्रमणबारे सचिवालयले केही जानकारी दिएको छैन । यद्यपि पछिल्लो राजनीतिक उतारचढावबीच हुन लागेको भ्रमणलाई निकै चासो दिएर हेरिएको छ ।
भ्रमणलाई निजी भ्रमण भनिए पनि त्यहाँ रहँदा भुटानी राजासँग गम्भीर भलाकुसारी हुनेछ । साथै पूर्वराजाको विभिन्न राजनीतिक भेटघाटसमेत हुनेछ । यस अर्थमा पनि पूर्वराजाको भ्रमणले चासो पाएको हो । अहिले नेपाली राजनीति ठीक अवस्थामा छैन । संविधान संशोधनको नाममा दुई ठूला दलको स्वार्थ मिलेको छ । विभिन्न भ्रष्टाचारका मुद्धामा यिनै दुई दलका नेताहरु परिरहेका अवस्थामा त्यसलाई रोक्ने अभियानअनुसार नै सरकार चलाएको बुझिन्छ । यसले विकास त हैन विनाश निश्चित भएको विश्लेषण भइरहेको छ । यो अवस्थालाई मध्यनजर गर्दै पूर्वराजाको यो भ्रमण थप सार्थक हुन सक्ने अनुमान गरिएको छ । किनकि पूर्वराजाको भुटान भ्रमण केबल जाने र आउनेमात्र होइन कि त्यहाँको विकासका बारेमासमेत गम्भीर अवलोकन गर्ने र विकासको खाका बोकेर आउनेसमेत योजना रहेको स्रोतले बताएको छ । नेपालमा दिनप्रतिदिन विनाश भइरहँदा अन्य क्षेत्रको विकास उच्च विन्दूमा पुगिरहेको छ । यसरी अधोगतिमा ल्याउने काम लोकतन्त्रको नाममा लुटतन्त्रले गरेको तीतो सत्य हामी सामु छ । त्यसलाईसमेत मध्यनजर गरी पूर्वराजाबाट विकासको मोडल तयार गर्ने योजना रहेकोसमेत बुझ्न सकिन्छ ।