काठमाडौं । नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि बिहीबार जारी प्रेस विज्ञप्तिमा दबाबपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई तत्काल पारिश्रमिक भुक्तानी गर्न आग्रह गरिएको छ ।
कोरोनाको सङ्क्रमणले उत्पन्न गराएको सङ्कटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुपसम्बद्ध पत्रकारलाई दबाब दिएर बेतलवी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि, एभिन्युज टेलिभिजन, राजधानी दैनिकसहितका कतिपय सञ्चार गृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
महासङ्घले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।