काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नतिजा विश्वसनीय नदेखिएको भन्दै चीनबाट थप आरडीटी किट नकिन्ने निर्णय गरेको छ। यो निर्णयसँगै द्रुत परीक्षणका लागि प्रयोग हुने १० लाख थान किट चीनबाट ल्याउने भारतको योजना स्थगित भएको छ।
देशका विभिन्न राज्यमा प्रयोग हुन बाँकी भएका किटहरू पनि भारतको केन्द्र सरकारले फिर्ता पठाउन निर्देशन दिएको छ। चिनियाँ किट प्रयोग गरेर कोरोना भाइरस सङ्क्रमण भएका मानिसहरूको रगतमा भएको एन्टीबडी पत्ता लगाउन सक्ने अपेक्षा गरिएको थियो ।
धेरै वैज्ञानिकले कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन हाल प्रयोग भइरहेको आरडीटी विधिमाथि प्रश्न उठाएका छन् ।
तर चीनले भारतको दाबीको खण्डन गरेको छ। चिनियाँ दूतावासका प्रवक्ता जी रोङले चीनबाट निर्यात हुने स्वास्थ्य सामग्रीहरू प्राथमिकतामा रहेका र चिनियाँ उत्पादनलाई दोषपूर्ण भन्नु र यो विषयलाई पूर्वाग्रही हिसाबले हेर्नु केही व्यक्तिहरूको अन्यायपूर्ण र गैरजिम्मेवारपूर्ण कुरा भएको बताएका छन् ।