अब बामदेवको गन्तव्य कता ?

समाचार

काठमाडौं । नेकपा एमालेमा भाँडभैलो मच्चिएको छ । केपी शर्मा ओलीको अहम्का कारण मुख्यमुख्य नेताहरुले एमाले छाडिसकेका छन् । ओलीले माधवकुमार नेपाललाई घरभित्र छिर्न नदिएपछि अन्ततः एमाले नै अस्तव्यस्त भएको छ । यति हुँदा पनि ओलीको दम्भ भने घटेको छैन । ओलीले अझै पनि दोष भने माधव नेपाललाई नै दिएका छन् । ओलीले माधव नेपालले आफ्नो पार्टीको बदनाम र चरित्रहत्या गरेको आरोपसमेत लगाएका छन् । नेपाललाई लालगद्दारको संज्ञा दिइसकेका ओलीले शनिबार एमालेको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले एमालेलाई कमजोर बनाउने जिम्मा लिएर काम गरिरहेको बताए ।
वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने माधव नेपालले प्रतिक्रान्ति रोकेँ भन्न नमिल्ने ओलीले बताएका छन् । उनले आफूले जिन्दगीमा नेपालजस्तो लाजशर्म पचेको मानिस कहिल्यै नदेखेको भन्दै कटाक्षसमेत गरेका छन् । अर्थात् कसैलाई गाली गर्न पाए पुग्ने ओलीले सबैभन्दा ठूलो दललाई कहाँसम्म घटाएर लैजाने हुन् भन्ने प्रश्न खडा भएको छ । जनताको विश्वासलाई घात गरेका ओलीका कारण माधव नेपाल पक्षले अर्को पार्टी नै खोल्नुपरेको छ । त्यस्तै एमाले उपाध्यक्ष वामदेव गौतमले दोस्रोपटक एमाले परित्याग गरेका छन् । २४ वर्षअघि २०५४ सालमा एमाले विभाजनको नेतृत्व गरेका उपाध्यक्ष गौतमले दोस्रोपटक एमाले परित्याग गर्दै गत शुक्रबार ओलीलाई राजीनामा बुझाएका छन् ।
राजीनामा पत्रमा गौतमले अध्यक्ष ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण एमालेमा रहिरहन असमर्थ रहेको कारण खुलाउँदै केही आरोप लगाएका छन् । ‘म आफैँ संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको छु,’ गौतमले ओलीलाई सम्बोधन गर्दै भनेका छन्, ‘फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अबउप्रान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ ।’
गौतमले ओलीका कारण एमालेमा सामूहिक नेतृत्व प्रणाली समाप्त भएको र सुधार्ने प्रयाससमेत असफल भएकोसमेत प्रस्ट्याएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाब दिएको थिएँ,’ राजीनामापत्रमा भनिएको छ, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझाबहरु पनि थिए । तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’ mगौतमले ओलीले आफ्ना समकक्षीलाई अपमान गर्नेदेखि पार्टीबाट निष्कासन गर्ने, राष्ट्रपतिलाई समेत दुरुपयोग गरेको आरोप लगाएका छन् । ‘आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्म गर्नेजस्ता स्वेच्छाचारी निरंकुश प्रवृत्ति र शैली अँगाल्नुभयो । त्यति मात्र होइन, तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो,’ राजीनामामा भनिएको छ ।
एमाले परित्यागलगत्तै गौतम माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् । नेकपा एसका अध्यक्ष नेपालले गौतमलाई वरिष्ठ
उपाध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । नेकपा एसमा सात उपाध्यक्ष प्रस्ताव गरिएको छ । ओलीले माधव नेपाल पक्षबाट खोसेर आफ्नो पक्षमा पार्न सफल भएका नेताहरुलाई पनि अपमान गर्न थालेका छन् । १० बुँदे सहमति पालना गर्छु भनी प्रतिवद्धता गरेपछि माधव नेपाल छाडेर एमालेमै समाहित भएका नेताहरु अपमानित हुन थालेका हुन् । उनीहरु पनि ठूलो पीडामा रहेको बुझिन्छ । वामदेव गौतमसमेत एकीकृत समाजवादीमा जाने भएसँगै माधव नेपाल छाडेका स्थायी कमिटी सदस्यहरु पनि फर्कने विश्वास गरिएको छ । एमालेमा जति बढी भाँडभैलो हुन्छ त्यसको फाइदा माधव नेपाललाई हुने देखिएको छ ।