–घुमन्ते
किन रोइस् मंगले आफ्नै ढंगले–ढंग पु¥याउन नसक्दा माधव पक्षका १० नायक अब ओल्लो घाट न पल्लोतिर बन्ने भएका छन् । आउ बाबु हो, म तिमीहरूलाई काखमा राखेर दूध भात खुवाउछु भनेर ओली कम्रेडले के फकाएका थिए, माधवलाई साथ दिएर आएको १० सै जना पार्टीको एकताको नाउमा ओलीतिर लहसिए । तर अघि राँडीले मानिन पछि राडीले जानिन बाघ लाग्यो घिच्याउन राडी लागि चिच्याउन उखान चरितार्थ गर्दै अब थकथक गर्न थालेका छन् । दूधबाट माखो फालेझैं एकएक गरेर पाएको अधिकारबाट बेदखल हुन थालेका छन् । कान्छी स्वास्नी प्यारो भनेझैं माओवादी छाडेर आएकाहरू एमालेका पुराना नेताभन्दा प्यारो भए । यतिखेर गोकर्ण, योगेश, सुरेन्द्रभन्दा रामबहादुर, लेखराज, प्रमुख स्वरहरू साख भएका छन्–अरु कुसाख । विस्तारै विस्तारै नयाँलाई नजिक बनाएर पुरानालाई पन्छाउने अभियान एमालेमा शुरु भइसकेको छ ।
भरखरकै कुरा–भीम रावलले खाइपाई आएको पद उसबाट फुत्त थुतेर लेखराज भट्टराई दिए । कर्ण थापाले बदला लिने मौका यही हो भनेर ओलीको कान भर्न भ्याए–सुदूर पश्चिमका मात्र किन–रावललाई पार्टीको उपाध्यक्ष नै रहन दिएर समन्वयको जिम्मा दिनुपर्छ । साँप पनि मर्ने लौरो पनि नभाँचिने अक्कल–अधिकार जति भट्टलाई नामको ठूलो रावल । एउटालाई मन्त्री बनाउनुपर्ने भएपछि प्रधानमन्त्रीले बोलाएर सोधेछन्–तिमीलाई मन्त्री बनाउ कि उपमन्त्री बनाउ, दोधारमा परे । अनि जो मन्त्री खान गएको, उसले भनेछ– किन मन्त्री हुने उपरमन्त्री पाएसम्म–मलाई त उपमन्त्री नै बनाउनुपर्छ । अनि के चाहियो–विनाकामको उपमन्त्री पद भिडाएर प्रधानमन्त्री मख्ख । अहिले रावललाई बिना अधिकारको उपाध्यक्षमा झुण्ड्याउन भट्ट र थापाले सफलता पाइहाले । अब अरुको पालो–तेस्रो धारका नेताहरू आउँदो चुनावमा एमालेको टिकट नपाएर कसको पाखा पर्ने हुन् । ओलीको बोली फेरिँदै जाने कुरामा १० भाइले शंका त गर्न थालेका छन्, तर समय भिड्की सकेपछि बादल लाग्दा धान सुकाएजस्तै ।
सुमारको हप्की
केटाकेटी आए, गुलेली खेलाए फर्के भनेझैं एमसीसीकी उपाध्यक्ष नेपाल आइनन्, भए भरका नेतालाई भेटिन् । तर उनले चाहेजस्तो जवाफ अर्थात सदनले सम्झौता पास गर्छ भनेर कसैले पनि ठोकुवा जवाफ दिएनन् । उसले उसलाई देखाउने ठोस जवाफ नदिने गरेपछि झनक्क रिस उठ्यो र भनिन्–अब नेपाललाई सहायता दिन्छु भनेर कोही पनि आउने छैनन् । अरु कति मुलुक हामीलाई सहायता चाहियो भनेर कचौरा थाप्दै चाकरीमा पुग्छन्–तर नेपाल भने लौला भनेर बोकेर आएको पोको खान्नखान्न लोकाचार खानलाग्यो मानाचार जस्तो भित्री मनले लिन मन लाग्दालाग्दै पनि मुखले नाइँनाइँ गरिरहेका छन् । एमसीसी सहायता लिनु भनेको देश विरोधी कुरा हो कि भनेर एकथरि मुन्टो बटारिन् । अनि भनिदिन्छन्–भोलि अमेरिकाले ह्वारह्वार्ती सेना ल्याएर उपनिवेश बनाइदिन्छ । यसो सुन्दा डरलाग्दो कुरो, तर अर्काको मुलुकमा सेना लगेर राख्नु भनेजस्तो सजिलो छैन, त्यसमाथि अरु मुलुकको घटनाले अमेरिकाले चेतेको छ ।
नेपालको लागि एमसीसी फलामको च्यूरा भएको छ पहिले वासिङ्गटन पुगेर आफैंले हस्ताक्षर गरेको, हस्ताक्षर गर्ने बेला कसले पानापाना पल्टाएर पढोस् । ल्याप्चे लगाएर फर्कने मन्त्रीलाई नै थाहा थिएन भित्र के छ भनेर । अहिले आएर भात खाउँ कि थाल खाउँ भएको छ । स्वीकार नगरौं मित्रहरू रिसाउने स्वीकार गरौं नेपाली जनता रिसाउने–कान्छी माग्छे पानी जेठी माग्छे घाम म एक्लो बुढो कतातिर जाम–यसरी कति दिन जाने । सुमरले पेटका कीरा मर्ने गरी नेताहरूलाई हप्काउने र धम्क्याउने गरेर फर्किन् । दिनेको गाली सहनुपर्ने–सुमार खालीहात लिएर फर्कनु पर्दा इज्जतमा नै धब्बा लाग्यो होला–अनि आफ्ना कर्मचारीदेखि ठूला पार्टीका मै हुँ भन्ने नेताहरूसमेत सुमारको हप्कीबाट उम्कन सकेनन् । होचाकी जोई सबैकी भाउजु–नेपाली नेता होचाकी जोई ?
७० वर्षे तरबार
कम्रेड ओली अर्को फागुनमा ७० वर्ष पुगेर ७१ वर्षमा टेक्दछन् । लौरो टेक्ने उमेर हुँदासम्म पनि कम्रेडले पार्टीलाई हाँकेर लैजाने आँट गरेका छन् । त्यसो त कि आँटले खान्छ कि ढाँटले खान्छ–जे गरेर भए पनि अर्को पाँच वर्ष एमालेको कमाण्ड ओलीको हातमा तर एमालेभित्र सानो षड्यन्त्र हुँदैन । एउटी एकल महिलालाई अर्की सधवाले गोडामा टाउको पु¥याएर ढोगिछ–अनि ढोग खानेले आशीर्वाद दिँदै भनिछ–तँ पनि मजस्तै भयस् । कम्रेड ओलीलाई लाग्यो–७० वर्षे एमालेको अनिवार्य अवकाशको साङ्लो राखे आपूmलाई मन नपर्ने जति सबैको प्रमुख हुन नपाउँदै विदाई । मुखमा रामराम बगलीमा छुरा–ईश्वर पोख्रेल, सुवास नेम्वाङ, केशव बडाल–अर्को पाँच वर्षमा ७० नाघेर राजनीतिमा काम नलाग्ने ठाँडो बनिसक्छन् । काम छउञ्जेल भाँडो काम सकिएपछि ठाँडो–यी बुढाको किन माया । ७० वर्षे हदम्यादले यी विदाइमा परे पनि आपूmलाई मनपर्ने प्रदीप ज्ञवाली शंकर पोख्रेल र महेश बस्नेतको पालो आइहाल्छ । त्यसैले एमालेको आउँदो महाधिवेशनले एकथरिको पत्ता साफ गरिदिनेछ ।
तर आपूm ताक्छ मुढो बञ्चरो ताक्छ घुँडो उखान चरितार्थ हुनेछ पार्टी प्रमुखको पद हस्तान्तरणका कुरा । ज–जसलाई पार्टी सत्ता सुम्पौला भन्ने ठानेको हो उनीहरूको क्षमता भारीबोक्नमा काम लाग्ला पार्टी चलाउन काम लाग्दैन । बोकाले दाइँ हुने भए गोरु किन पाल्नु पथ्र्यो–ओलीको गोली जस्तो बोली भएको छ–दम्भले सबैलाई हैसियत बिनाका सम्म देख्ने आँट कसमा पलाउँला र ? बोकेको कुकुरले मृग मार्दैन–कम्रेड ओलीले बोकेर नेता बनाउन खोज्दैमा कोही नेता बनिहाल्छ भन्ने छैन । अझै पनि अरुबाट डराउने बानी ओलीमा विद्यमान छ भने उनका चेला कुन हिम्मतले पार्टी चलाउन सक्लान् । मनका लड्डु घ्यूसँग खानु–आपूmलाई मन परेकोलाई नेता बनाउँछु भनेर कहाँबाट सक्नु । ७० वर्षे तरबार एकथरिलाई सिध्याउन त काम लाग्ला–अर्काथरिलाई अध्यक्ष बनाउन भने निकै गाह्रो छ । एमालेको आउँदो महाधिवेशन यदुवंशीले मुसल घोटेजस्तो नहोस् ।
देउवाको हरिबिजोग
आफ्नो प्रधानमन्त्रीत्वमा सरकार बनाएको दुई महिना नाघिसक्यो–पूराका पूरा मन्त्री थप्न सकेका होइनन् । सरकारलाई पूर्णता दिन त सकेनन् सकेनन्–जोगीको घरमा सन्यासी पाहुनाजस्तो पार्टी मिलाउन पनि सकेनन् । ओलीले यसै बुख्याँचा (खेतमा परालले बनाएर उभ्याएको मान्छे) जति पनि डर देखाउन नसक्ने रे यो सरकार । तागत हुनेसँगको डर हुन्छ, जो नातागत छ उसबाट किन डराउनु । सुकेनास लागेको केटाकेटी जस्तै छ देउवा सरकार । एमालेको दाउ छ–यो सरकारलाई बीचबाटोमा नै अलमल्याएर राख्ने, कर्मचारीलाई दशैं खर्चसमेत बाँड्न नसक्ने बनाउने । कमजोर भएपछि घरबाट नै खेदो शुरु हुन्छ–यतिखेर डडेलधुरामा समेत बोली नबिक्ला जस्तो छ । त्यसो त देउवाको बोलीको तौल नै के छ र बिक्नु–उनकी गृहमन्त्रीकै बोली बिक्ला कि भनेर प्रयास गरेको त्यो पनि भएन । यतिखेर जयवीरलाई अगाडि सारेर डडेलधुरा जोगाउने प्रयास गरिँदैन । कतै जयवीर पनि उल्टो कातर अर्थात जय कातर हुने हो कि ? हेर्न बाँकी नै छ ।
त्यसो त डडेलधुराका छुराजस्ता नेताहरू भन्न थालेका छन्–केटाकेटी आए गुलेली खेलाए गए । शेरबहादुरलाई लुगलुग कमाउने अवस्थामा रहेका नेताहरूले गर्दा काम्यो लुगलुग त्यो गरिब विचरा त्यसमा दया गर्छ को ? जस्तो देउवाकाजी माथि दया गर्नुपर्ने दिन आएको छ । लौरी टेकेर राजनीति गर्न कस्सिएका देउवालाई पार्टीको सभापति हुने रहर कतै रहरेको खहरे हुने त होइन ?। ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ भन्ने अब नेताहरूलाई विस्तारै पन्छिन थालेका छन् भने गोपालमान र मीन विश्वकर्मा किन गइराख्नु भनेर बुढानीलकण्ठतिर फर्कनै छाडे–विमलेन्द्र निधि तामझामसहित सभापतिका उमेर बन्ने भएका छन् । यसो हेर्दा कांग्रेसी राजनीतिमा देउवाको हरिबिजोग त हुने होइन ?
अन्त्यमा–
ज्ञानेन्द्र बहादुरको बालकोट भ्रमणको गति बढेकोमा गठबन्धनका अरु नेतामा शंका बढ्न थालेको छ ।