दलहरुमा आन्तरिक कलह चर्किंदै
काठमाडौं । स्थानीय तहको चुनावले उथलपुथल भएको छ । दलहरुबीच कलह छ । कुनै पनि पार्टी त्यस्तो छैन जसमा पार्टीले सोचेजस्तो नतिजा ल्याएको होस् । नेपाली कांग्रेसले सबैभन्दा बढी सिट जिते पनि उसभित्र विद्रोही उम्मेदवारको कलह छ । आफू निकटकालाई टिकट दिएको आक्रोश छ । एमालेभित्रको रडाको बेग्लै छ । केपी ओलीले अतिवादी प्रवृत्ति अवलम्बन गर्दै जथाभावी ढंगले टिकट दिएपछि पार्टीभित्र अर्को आक्रोश छ । माओवादी केन्द्रभित्र पनि सोही रडाको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीका लागि अन्य पदहरु दाउमा राखेको गुनासो पार्टीभित्र छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल महत्वपूर्ण महानगरपालिका र उपमहानगरपालिकामा सफलता हासिल गरे पनि कांग्रेस र माओवादीसँग आक्रोशित छन् । जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र सोचेअनुसारको सफलता नमिलेपछि भाँडभैलो शुरु भएको छ । यसरी हरेक शीर्ष पार्टीमा समस्या छ । साना दलको पीडा अर्कै होला । पाँच दलीय गठबन्धनको साझेदार दल राष्ट्रिय जनमोर्चा पार्टीलाई बाँकी चार दलले चुनावमा धोका दिएको चिन्ता छ । समग्रमा सबै पार्टीलाई कम सिट ल्याएको चिन्ता हो । त्यही चिन्ताले लोसपालाई छोएको हो । पार्टीले कम सिट ल्याएपछि एकले अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । पार्टी पराजय हुनुमा पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर र मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जिम्मेवारी लिनुपर्ने भन्दै राजेन्द्र महतो निकट नेताहरूले आक्रोश पोखेका छन् ।
उनीहरुले पार्टीको नेतृत्व तुरुन्त फेर्नुपर्ने तर्क राखेका छन् । चुनाव अघिसम्म लोसपाका नेताहरुले यस पटक कम्तीमा पनि ३५ सिटमा पालिका प्रमुख जित्ने अपेक्षा राखेका थिए । तर दुःखद पक्ष उसले अपेक्षा भन्दा निकै कम मत ल्यायो । २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीले २५ सिट ल्याएको थियो । तत्कालीन राजपाका अधिकांश नेताहरु अहिले लोसपामा आबद्ध छन् । त्यसैले यसपटक कम्तीमा ३५ सिट ल्याउने लोसपाका नेताहरुले अनुमान गरेका थिए । लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले लोसपाले अपेक्षा गरे अनुसार परिणाम ल्याउन नसक्नुमा पार्टीका केन्द्रीय अध्यक्ष तथा मधेस प्रदेश समितिका अध्यक्षले जिम्मेवार लिनुपर्ने बताएका छन् । उनले मिडियामा भनेका छन्, ‘पार्टी नेतृत्वले लोसपालाई एउटा क्लब जस्तै बनायो । पार्टीलाई फराकिलो बनाउन सकेन । युवाहरुलाई जिम्मेवारी दिइएन । त्यसको परिणाम अहिले
देखिएको छ ।’ स्थानीय तहको चुनावमा लोसपा पराजय भएको विषयमा अब गम्भीर समीक्षा हुनुपर्ने उनले बताए । ‘यो अवधिमा संगठन विस्तारको नाममा सिन्कोसमेत भाँचिएन । यस्तो अवस्थामा कसरी पार्टीले चुनाव जित्छ ?’ उनको प्रश्न छ । यसैगरी मधेस प्रदेशका सांसद तथा लोसपाका कार्यकारिणी समितिका सदस्य उपेन्द्र महतोले लोसपाले पराजय भोगेकोमा पार्टीको मधेस प्रदेश समिति जिम्मेवार हुनुपर्ने बताएका छन् । यसबारेमा तत्काल पार्टीले बैठक बोलाइ छानबिन हुनु पर्ने उनको भनाइ छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोको गृहजिल्ला तथा गृहवडामै लोसपा पराजित भएको छ ।
करिब ९ महिनाअघि लोसपा निर्वाचन आयोगमा दर्ता भएको थियो । ९ महिनासम्म संगठन विस्तार तथा सुदृढीकरणको लागि पार्टी नेतृत्वले केही काम नगरेको महतो निकट नेताहरुको भनाइ छ । लोसपाले अहिलेसम्म कार्यकारिणी समिति बाहेक अन्य कुनै समिति बनाएको छैन । पार्टीका भ्रातृ संगठनहरु बनाइएका छैनन् । यहाँ सम्मकि अध्यक्ष ठाकुरले केन्द्रीय समितिसमेत बनाउन सकेका छैनन् । निर्वाचन आयोगमा बुझाइएको कार्यकारिणी समितिको सूचीलाई लोसपाले केन्द्रीय समिति मान्दै आएको छ ।
यसरी लोसपा चिन्तामा हुँदा जसपा अध्यक्ष उपेन्द्र यादवलाई कम चिन्ता छैन । आफ्नो छोरालाई जसपाको उत्तराधिकारी बनाउन खोज्ने क्रममा विराटनगर महानगरपालिकाको उपमेयरमा लडाएका उपेन्द्र असफल भएका छन् । उनका छोरा अमरेन्द्र पराजित भएका छन् । उनले सत्तागठबन्धनलाई दोष दिएका छन् । तर जब लायक नभइ अगाडि बढाउन खोजेपछि शुरुआत पराजयबाटै हुने हो । यसले पनि पार्टीभित्र आक्रोश पोखिएको छ ।