काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणामले गर्दा सबैजसो दलमा तरङ्ग पैदा गरेको छ । यो तरङ्गले आसन्न प्रदेश र संघको चुनावमा समेत उथलपुथल हुने देखिएको छ । त्यसकै परिणामले राष्ट्रिय दुई पार्टीहरु नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षका लागि नै चुनावी थलो खतराको स्थितिमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र गृहजिल्ला झापा र ओलीकै निर्वाचन क्षेत्र दमक नगरपालिकामा एमाले हराउन सत्ता गठबन्धन दलले राप्रपासँग पनि चुनावी तालमेल गरेपछि असुरक्षित देखिएको हो । एमाले किल्लाको रुपमा रहेको झापाको दमक यसपटक एमालेले गुमायो ।
राप्रपाका रामकुमार थापाले दमकको मेयरमा बाजी मारेसँगै एमाले अध्यक्ष अप्ठेरोमा परेका छन् । दमक झापा क्षेत्र नम्बर ५ मा पर्छ जुन ओलीको निर्वाचन क्षेत्र हो । झापाका कुल १५ स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तह पर्छन् । दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह ओलीको निर्वाचन क्षेत्रमा छन् । यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमात्रै जितेको छ । बाँकी तीन स्थानीय तहमा एमाले पराजित भएको छ । जसले गर्दा ओलीलाई आगामी निर्वाचन सकसपूर्ण देखिएको छ । २०७४ को स्थानीय तहमा कमल गाउँपालिका र दमक नगरपालिका मात्र जितेको थियो । कमल गाउँपालिकामा त्यसबेला एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबरी मत आएको थियो । मत बराबरी भएपछि अध्यक्ष छान्न गोला गर्दा चिठ्ठा एमालेको भागमा प¥यो र मेनुका काफ्ले अध्यक्ष भएकी थिइन् । तर उनले राम्रो काम नगरेको भन्दै यसपल्ट एमालेले त्यो गाउँपालिकाको नेतृत्व गुमाएको छ ।
यसअघि गौरादह नगर कांग्रेस र गौरीगन्ज राप्रपाले जितेको थियो । यसपटकको चुनावमा गत चुनावमा कांग्रेसले जितेको गौरादह एमालेले जितेको छ । अन्य दमक, गौरीगन्ज र कमल गाउँपालिका एमालेले जित्न सकेन । दमकमा सत्ता गठबन्धन र राप्रपा समेतको महागठबन्धनले राप्रपाले जित्यो । गौरीगन्ज र कमल दुवै गाउँपालिका कांग्रेसले जितेको छ ।
झापामा एमाले अन्य राजनीतिक दलभन्दा सबैभन्दा ठूलो शक्ति हो । त्यसका अतिरिक्त राप्रपा पनि यो जिल्लामा बलियो शक्तिका रुपमा रहेको छ । उसको एउटा मात्रै क्षेत्र छ । अन्य क्षेत्रमा राप्रपाको मत बाँडिएको छ । ओलीकै गृहनगरमा सत्ताबन्धनको सहयोगमा राप्रपाले दमकको मेयर जितेको छ । जसरी पनि ओलीलाई हराउनुपर्छ भन्ने मानसिकताको आधारमा सत्ता गठबन्धन र राप्रपा मिलेपछि मात्रै एमालेलाई हराउन संभव भएको हो ।
आगामी संघीय निर्वाचनमा पनि यो मानसिकता कायम रहेमा ओलीका लागि चुनौती आउने संभावना देखिएको छ । २०७४ सालको संघीय चुनावमा एमाले र माओवादीले देशभर चुनावी गठबन्धन गरेका थिए । तर त्यसो गर्दा पनि ओलीले झापामा राप्रपाको बढदो प्रभाव देखेर राप्रपाको साथ लिएर चुनाव जितेका थिए । राप्रपाका अहिलेका अध्यक्ष राजेन्द्र लिङदेनलाई सहयोग गर्ने र आफूलाई झापा ५ मा राप्रपाले पनि सहयोग गर्ने नीतिका आधारमा ओलीले भित्री सहमति गरेर राप्रपाको पनि चुनावमा साथ लिएका थिए । जसको परिणाम झापामा नेपाली कांगेसका नेता कृष्णप्रसाद सिटौलाको पराजय भएको थियो । ओलीले राप्रपासँग सहकार्य गरेपछि निकै सहज भएको थियो । तर दमकमा एमालेविरुद्ध राप्रपा नै लागेपछि भने आगामी संघीय निर्वाचमा गठबन्धन हुने नहुने केही भन्न सक्ने अवस्था नभएको राप्रपाका नेताहरुले बताएका छन् ।
उपेन्द्र पनि मुस्किलमा
स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धनका अन्य दलसँग असन्तुष्ट हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सहकार्य गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष ओलीले गत बुधबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । गठबन्धन दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने पक्षमा उभिन थालेको बेला जसपा भने तालमेलको क्रममा स्थानीय निर्वाचनमा कांग्रेसले धोका दिएको भन्दै असन्तुष्ट हुँदा ओलीले उक्त पार्टीका अध्यक्ष यादवलाई भेटेका हुन् ।
ओलीले २५ बैशाखमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरी पछिल्लो पटक गठबन्धन असार १७ गते टुट्ने बताएका थिए । गठबन्धन टुट्ने कुरा आफ्नो नभइ ज्योतिषीको भएको भनाइ थियो । तर तालमेललाई लिएर जसपा असन्तुष्ट हुँदा ओली नै गठबन्धन टुटाउन लागेको कतिपयको विश्लेषण छ । अर्कातिर यादवले नातावादमा लाग्दा विराटनगरको उपमेयरमा उनका छोराले हार्न पुगे । उनले त्यहाँ कुनै चर्चामा नरहेका आफ्ना छोरालाई गठबन्धनको बलमा उपमेयर बनाउन खोजेका थिए । छोराले हारेपछि भने उपेन्द्र यादव स्वयं संघीय चुनावमा कुन ठाउँबाट चुनाव लड्ने भन्नेमा छट्पटीमा छन् । उनले आफूले चुनाव जित्ने क्षेत्र खोज्दै हिँडिरहेका छन् । उनी न त मोरङबाट चुनाव लड्लान् र न त फेरि फर्केर सप्तरी २ मा जालान् । त्यसको प्रमुख कारण हो स्थानीय तहको निर्वाचनमा जसपाले भोगेको हार । सप्तरी २ मा ४ वटा पालिका छन् । जसमध्ये ३ वटा पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । एउटा पालिकामा मात्र जसपा विजयी भयो ।
हरेक चुनावमा उनले निर्वाचन क्षेत्र फेर्ने गरेका छन् । अहिलेसम्म उनले तीन पटक संसदीय चुनावमा उम्मेदवारी दिए । तीन पटक नै उनले निर्वाचन क्षेत्र फेरेका छन् । पछिल्लो २०७४ को निर्वाचनमा उनी सप्तरी २ बाट निर्वाचित भएका छन् । २०७० सालको निर्वाचनमा उनी सुनसरी ५ बाट निर्वाचित भएका थिए । यसैगरी २०६४ को निर्वाचनमा उनी मोरङ र सुनसरीबाट निर्वाचित भएका थिए । अब कहाँ जालान् र गए पनि एमालेसँग सहकार्य गरेर जान सक्ने सम्भावना बढी देखिएको छ ।