अब बालेनलाई सहयोग गर्ने कि !

Home Feature

पुख्र्यौली थातथलो मधेसको एकडारा भएका बालेन्द्र साह (बालेन) ले काठमाडौंका जनताको मन जितेका छन् । उनले शालीनरुपमा आफूलाई प्रस्तुत गरेर काठमाडौं महानगरवासीका मनमनमा घर बनाएका छन् । आफूलाई रैथाने मान्दै काठमाडौंमा आफ्नै रजगज चल्छ भनेर सोच्ने बागबजारका केशव स्थापितलाई महानगरवासीले विस्थापित गर्न कुनै कसर बाँकी राखेनन् । उनको थुतुनो र उनको रवैया देखेर यस पटक काठमाडौंवासी नै दुःखी भए ।
काठमाडौंले परिवर्तन खोजेको थियो भन्ने अहिलेको महानगरपालिकाको मत परिणामले देखाएको छ । वितेको निकै समयदेखि काठमाडौं महानगरपालिकामा बस्नेहरुले अनेकानेक पीडा भोग्दै आएका थिए । बीचमा एक दशक बढी त महानगर नेतृत्वविहीन नै रह्यो । नेपालका नेताहरुको अकर्मण्यताका कारण महानगर र अन्य स्थानीय निकायहरु सरकारी कर्मचारीहरुको भरमा चल्नुपर्ने अवस्थामा थियो । जेनतेन स्थानीय निकायहरुले काम गरेका थिए । सरकारी कर्मचारीहरुको रवैया केशव स्थापित भन्दा कम थिएन । आम जनताले वडावडामा तिनलाई भोग्दै आउनु परेको थियो । आफुले चुनेका प्रतिनिधिले आफ्नो समस्यालाई सही रुपमा समाधान गर्न सक्छन् भन्ने जनप्रतिनिधिलाई ज्ञात हुन्छ । त्यसैले तिनले आम जनसमुदायको सेवा कसरी गर्नुपर्छ भन्ने जानेका हुन्छन् । तर पछिल्लो समय त्यो भएन । सरकारी कर्मचारीहरुको चेपुवामा जनता परे । तर गणतन्त्र पछिको पहिलो स्थानीय तहको निर्वाचनले पनि कतिपय ठाउँमा सही जनप्रतिनिधि दिन सकेन । ति राम्रै होलान, तिनले राम्रै काम गर्लान् भन्ने तिनले सोचेका थिए । तर त्यो नभएर तिनको रवैया पनि हामी पनि स्थानीय सरकार हौँ र त्यो सरकारको मन्त्री हामी नै हौँ भन्ने दृष्टिकोणले तिनलाई नेत्रहीन बनाइदिएको देखियो ।
विद्यासुन्दर श्रेष्ठ काठमाडौं महानगरमा मेयर भएर आए । तर तिनले आफ्नो कार्यकालमा उल्लेख्य काम केही पनि गरेनन् । तिनले जनताको हित भन्दा आफ्नो हित र आफूलाई उठाउने पार्टी एमालेको हित मात्रै हेरे । त्यसैले उनले काठमाडौं महानगर र महानगरका जनतालाई अलिकति पनि हेरेनन् । यदि हेर्थे भने आज काठमाडौं फोहोर र कुरुप काठमाडौं हुन्थेन । काठमाडौंमा उनको हाई हाई हुन्थ्यो । उनको बाई बाई हुन्थेन । यतिबेला बालेनलाई विश्वास गरेका छन् काठमाडौंका नगरवासीहरुले । यो विश्वासलाई बालेनले तोडनु हुन्न । आम नागरिकको विश्वासमा खरो उत्रिनु पर्छ उनले । हो, यो काम कठिन छ । चुनौतिपूर्ण छ । तर पनि उनले चाहेभने काम गर्नसक्छन् । त्यसका लागि महानगरवासीको सहयोग व्यक्तिगतरुपमा बालेनलाई मिल्नुपर्छ । जब तिनले भोट दिएका छन् भने बालेनले काम गर्ने वातावरणका लागि बालेनलाई सहयोग पनि तिनले गर्नुपर्छ । र त्यो सहयोग आम नागरिकले आआफ्नो घरबाटै गर्नुपर्ने देखिएको छ । काठमाडौंको फोहोर व्यवस्थापनमा बालेनेको चिन्ता स्पष्ट देखिएको छ । बालेनलाई उपमेयर सुनिता डंगोलको पनि साथ देखिएको छ । त्यसैले काठमाडौंवासीको साथ बालेनको पक्षमा रहनु पर्छ भन्ने सबैले एकफेर सोचौँ र त्यही अनुरुप काम गरौँ त । पक्कै केही न केही सुधार अवश्य पनि हुनेछ ।