टुट्न बाँकी जसपा

Home Feature राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल टुटको औपचारिकतामात्र कुरेर बसेको छ । महन्थ ठाकुर र उपेन्द्र यादव–डा.बाबुराम भट्टराईबीचको पार्टीबीच एकीकरण भएर २०७७ को बैशाखमा एकीकरण भएको पार्टी एक वर्षसम्म औपचारिक रुपले मिलेको देखाएर अन्ततः २०७८ को बैशाखमा फुटेरै मैदानमा उत्रिएको हो ।


जब पार्टीका विचार नै दुई वटा भइसकेपछि मिल्नुको पनि कुनै अर्थ रहेन । ठाकुर–राजेन्द्र महतो पक्ष केपी ओलीको असंवैधानिक कामचलाउ सरकारमा जाँदा यादव पक्ष ओलीको तानाशाह प्रवृत्तिको विरोधमा छ । यही बीचमा एकले अर्कालाई कारबाही गरिसकेका छन् । निर्वाचन आयोगले आधिकारिता दिनासाथ यो पार्टी फुट्ने छ ।


ठाकुर र महतो कार्यकारिणी समितिमा बहुमत जुटाउन प्रयासरत छन् । पु¥याउन सके यही पार्टीमा रहन्छन् नसके बाहिरिएर पुरानै राजपा जगाउने छन् । यसअघि जसपाको ठाकुर र यादव दुवै पक्षले निर्वाचन आयोगमा चिठी लेखेर एकले अर्कोलाई पार्टीबाट निकालेको जानकारी गराएका थिए । त्यसको लगत्तै आयोगले दुवै पक्षले लेखेको चिठी ढाँचा नमिलेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७४को अनुसूची १८ बमोजिम ढाँचा पु¥याएर दस्ताबेज बुझाउन निर्देशन गरेको थियो ।


त्यसको भोलिपल्टै उपेन्द्र यादव पक्षले अनुसूची १८ बमोजिम आयोगलाई चिठी पठायो । तर ठाकुर पक्षले अहिलेसम्म आयोगमा चिठी पठाएको छैन । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ठाकुर पक्षबाट राजनीतिक दल सम्बन्धी ऐन २०७४को अनुसूची १८ बमोजिम ढाँचा पु¥याएर चिठी नआएको बताएका छन् ।

ठाकुर पक्षले आयोगमा चिठी नपठाउनुको मुख्य कारण हो, कार्यकारिणी समितिमा बहुमत पु¥याउन नसक्नु । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जना भन्दा बढी सदस्य उपेन्द्र यादव पक्षमा पुगेका छन् । ठाकुरको पक्षमा २० जनाको हाराहारीमा मात्र कार्यकारिणी सदस्य रहेको बताइन्छ । ठाकुर पक्षका ६ जना कार्यकारिणी समितिका सदस्य महेन्द्र यादव, रमेश यादव, गजाधार यादव, मृगेन्द्र कुमार सिंह, नवलकिशोर साह र रामनरेश राय यादव उपेन्द्र यादव पक्षमा पुगे पछि कार्यकारिणी समितिमा यादव बहुमतमा पुगेका हुन् ।


यता ठाकुर पक्षले उपेन्द्र यादव पक्षका ५ जना सांसदलाई आफूतिर ल्याए झैँ त्यति नै संख्यामा कार्यकारिणी सदस्यहरूलाई आफूतिर ल्याउन प्रयास गरेको छ । यसको लागि ठाकुर र महतो सक्रिय भएका छन् । यादव पक्षबाट ठाकुर पक्षमा गएका ५ जना सांसद कार्यकारिणी समितिका सदस्य होइनन् ।


स्रोतका अनुसार अहिलेसम्म ठाकुर पक्षले यादव पक्षका एक जना मात्र कार्यकारिणी समितिका सदस्यलाई आफूतिर ल्याउन सफल भएको छ । पूर्व समाजवादी पार्टीका नेता तथा जसपाका कार्यकारिणी सदस्य दानबहादुर विश्वकर्मालाई ठाकुर पक्षले आफूतिर ल्याएको स्रोतको भनाइ छ ।
ठाकुर निकट स्रोतका अनुसार कार्यकारिणी समितिमा बहुमत जुटाउन नसके ठाकुर पक्षले पुरानो राष्ट्रिय जनता पार्टी ब्युँझाउने तयारी गरेको छ । पुरानो राजपा ब्युँझाउन असार २२सम्म पर्खनु पर्छ । पार्टी एकीकरण भए पछि पुरानो पार्टीको नामबाट एक वर्षसम्म आयोगमा पार्टी दर्ता गर्न नपाउने कानुनमा व्यवस्था छ । २०७७ असार २२ गते जसपा गठन गरिएको औपचारिक जानकारी आयोगलाई गराइएको थियो ।


त्यसैले असार २२ सम्म पुरानो राजपा दर्ता गर्न ठाकुर पक्षलाई कानूनी रूपमा मिल्दैन । त्यसैले असार २२ सम्म पर्खने, त्यस बेलासम्म जसपामा बहुमत जुटाउन नसके पुरानो राजपा ब्युँझाउने ठाकुर पक्षको तयारी छ ।

कार्यकारिणी समितिमा बहुमत जुटाउन ठाकुर पक्षले अनेक प्रलोभन देखाएको यादव पक्षका नेताहरूको भनाइ छ। यादव पक्षबाट ठाकुर पक्षमा गएका ५ जना सांसद मध्ये ३ जना सांसद उमाशङ्कर अरगरैया, विमल श्रीवास्तब र रेणुका गुरुङलाई ठाकुरले मन्त्री नै बनाएका छन्। बाँकी दुई जना सांसद रुही नाथ र कल्लुदेवी विश्वकर्मालाई पनि ‘खुशी बनाएको’ ठाकुर पक्षको भनाइ छ । यी दुई सांसदलाई ठाकुर पक्षले कसरी खुसी बनायो, यसबारेमा भने ठाकुर पक्षका नेताहरू खुलाउँदैनन् ।

यादव पक्षमा जान सक्ने डरले राज किशोर यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् । मन्त्री नभए राज किशोर आफू र आफू निकट सदस्यहरूलाई लिएर यादव पक्षमा जाने तयारी गरेका थिए । ठाकुर पक्षले ओलीसँग ८ वटा मन्त्रालयमा सहमति गरेको थियो तर ओलीले सहमति भन्दा पनि बढी मन्त्रालय ठाकुर पक्षलाई दिएका छन् ।