भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा शीर्ष नेताहरुको लर्को

Home Feature

‘दासतन्त्र’को चरम् नमुना


काठमाडौँ । जुन देशको राष्ट्रियता कमजोर हुन्छ त्यो देशलाई जस्ताले पनि हेप्छन् । झन् भारत जस्तो छिमेकीले पायो भने नहेप्ने कुरै भएन । खासमा भारतले हेपेको भन्नु भन्दा पनि आफ्नो हैसियत बिर्सेर जब दलका शीर्ष नेताहरु लर्को लागेर भारतका विदेशमन्त्रीलाई भेट्न जान्छन् नि तब कसैको केही लाग्दैन । तिनै नेताहरु फेरि केही दिनपछि राष्ट्रियता ओकल्न थाल्नेछन् । अनि तिनै नेताहरु भारतलाई गाली गर्न पछि पर्ने छैनन् । नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्रीलाई भेट्न काठमाडौँको एक होटलमा शीर्ष नेताहरूको त्यसरी नै लर्को लाग्यो मानौँ त्यहाँ गइएन भने आगामी राजनीति सकिन्छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकर प्रभावशाली मन्त्री मानिन्छन् । तर जयशंकर तिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत थिए जसले २०७२ सालमा नेपाल आएर संविधान जारी नगर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई धम्क्याएका थिए । तर कोइरालाले मानेनन् । जयशंकरले नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेनन् । उनले राजसंस्था हुनुपर्छ पनि भनेनन् । भने त केवल भारतको पिछलग्गु भएर देश टुक्राउन उद्धत देखिएका मधेसको स्वार्थी राजनीति गर्ने नेताहरुलाई बचाउने कुरा गरे । नागरिकतामा भारतबाट आएका सबैलाई अधिकारसहितको नेपाली नागरिकता दिन धम्की दिए ।
कोइरालाले नमानेरै २०७२ सालको असोज ३ गते संविधान त जारी गरे तर त्यसकै कारण भारतले नेपालमा नाकाबन्दी लगायो । कोइरालाले संविधान जारी गर्दाखेरि नै यो पूर्ण नभएकाले यसको संशोधन आवश्यक छ भनेर अर्कोदिन संशोधन दर्ता पनि गराएका थिए । तर हेपाहा भारतले नाकाबन्दी नै लगाइदियो । अहिले फेरि नेपालमा आएका जयशंकरको शक्ति थाहा पाएका नेपाली भक्त नेताहरु उनको दर्शन गर्न पुगे होटलमा । त्यतिमात्र होइन जयशंकर आएपछि सिधै शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटे । अनि तत्कालै बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता गरे । जबकि प्रचण्डको हैसियत जयशंकरको भन्दा धेरै माथि हो । तर त्यसलाई चटक्कै बिर्सेर प्रचण्डले वान टु वान वार्ता गरे । त्यो वार्तामा के भयो कसैलाई थाहा हुने कुरै भएन । जसरी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा बालुवाटारमा भारतीय ‘रअ’ का एजेन्टलाई हुलेर रातिमा वान टु वान वार्ता गरेका थिए त्यसरी नै प्रचण्डले जयशंकरसँग कुरा गरे । जयशंकरले अन्य दलका नेताहरूलाई भने एउटा होटलमा भेट्न बोलाए । उनी म्यारियट होटलमा बसेको भए पनि नेताहरूलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए । यी भेटघाटका विषयमा परराष्ट्र मन्त्रालयले कुनै चासै राखेन । त्यसको सट्टामा जयशंकरले क–कसलाई भेटे र के के गरे भनेर आफ्नो ट्वीटरमा राखिदिए । तब खुल्यो दाम चढाउन जाने नेताहरुको हुलिया ।
जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । यसैगरी मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटे । यी भेट केवल अनुहार देखाउने भेटमात्रै थिए ।
विदेशी अतिथिहरू आउँदा त्यो देशको परराष्ट्र मन्त्रालयले भेटको चाँजोपाँजो मिलाउँछ । तर यहाँ त भारतलाई आफ्नै दाइ बनाएका नेताहरुले कुनै प्रोटोकल नअपनाइ सिधै गए भेट्न । परराष्ट्र मन्त्रालयले चासोसमेत पनि राखेन । परराष्ट्रको काम भारतीय दूतावासले गरेको थियो । एमाले अध्यक्ष केपी ओलीलाई पनि फोन आयो र उनी खुरुक्क गए जयशंकरलाई भेट्न । बुझिएअनुसार भारतीय दूतावासबाट सीधै शीर्ष नेताहरूलाई फलानो ठाउँमा आउनु भनेर फोन गएको थियो । सोही आज्ञापालन गर्दै नेताहरू लाइन लागेर भेट्न पुगेका थिए । सत्तामा रहेका बेलामा गुणगान गाउने र बाहिर भएका बेलामा आक्रोश पोख्ने ओलीसमेत लुरुलुरु जानुको पछाडि खाएको हन्डी नै भएको स्पष्ट देखिन आउँछ ।
दुःखद पक्ष त के भने नेपालका परराष्ट्र मन्त्री भारत गए प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्न पाउँदैनन् । नेपालमा पहिले नै भेट दिइन्छ । दुई वर्षअघि भारतमा भएको विदेशमन्त्री स्तरीय संयुक्त बैठकमा गएका बेलामा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यो सौभाग्य पाएका थिएनन् । खासमा त नेपालको विदेश नीति नै छैन । केवल नतमस्तक नीति छ । यसले कहिलेसम्म धान्ने हो त्यो हेर्न बाँकी छ । भारतसँगमात्र हैन चिनियाँ मन्त्रीहरु आउँदा पनि यसरी नै लर्को लागेर जान्छन् नेताहरु ।