आयु लम्ब्याउँदै ओली

Home Feature राजनीति विचार समाचार

काठमाडौं । सरकारले कोरोना भाइरसको विपदको बेलामा पनि मूल्यवृद्धि गर्न छाडेको छैन । अहिले बजार भाउ आकासिएको छ । सर्वसाधारण पनि मर्नुभन्दा बहुलाउनु निको भन्दै जसले जति भन्छन् त्यत्ति नै तिरेर आफ्नो आवश्यकता पूरा गर्दै आएका छन् । तर सरकार भने अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले आफूले पनि बढाएको तर्क गर्छ ।

यसको मतलब के हो भने सरकारले जनतालाई राहत कुनै पनि विषयमा दिन खोजिरहेको छैन । अहिलेसम्मको सरकार आहत दिने नै देखिएको छ । जनताले तिरेको ट्याक्सको समेत कुनै पर्वाह छैन सरकारलाई । सामाजिक सुरक्षा दिन हिच्किचाउने सरकार आफूले कसरी आफ्नो यात्रालाई लम्ब्याउने भन्नेमात्रमा लागेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध आएका नेकपाभित्रैका शीर्ष नेताहरुको मागले पनि ओलीको हैसियत देखाइदिएको छ । उनले २०७४ फागुन ३ गते सपथ लिएपछि एउटा पनि राम्रो काम नगरेको आरोप लागेको थियो ।

त्यो आरोपलाई मेट्ने प्रयास स्वरुप उनले नेपालको नयाँ नक्सा अद्यावधिक गर्दै संविधानमा समेटेपछि ठूलै छलाङ्ग मारेको भ्रम पालेका छन् । तर आफूले नक्सा सार्वजनिक गर्दैमा ठूलो भइँदैन । भारतले उपभोग गर्दै आएको जमीनमा समेटेर बनाइएको नक्सापछि जमीन फिर्ता लिन पनि सक्नुपर्छ ।

ओलीले त्यति स्वस्थ्य नभएका पाखुरा सुर्काएर पनि भारतसंग निहँु खोजिरहेका छन् । उनले जनतालाई धक्म्याएजस्तो, प्रतिपक्ष दल नेपाली कांग्रेसलाई हेपेजस्तो र आफ्नै दलका नेताहरुलाई घुर्की लगाएजस्तो भारतलाई पनि घुर्की लगाउन खोजे होलान् । भारत पनि बडेमाको देश हो । उसले नेपालको भूमि हडपेको सत्य हो । तर त्यसलाई कुटनीतिक पहलमार्फत आफ्नो पक्षमा बनाउनु पर्नेमा हैसियत नबनाई निहुँ खोज्नु कदापि उचित हैन ।

यसमा ओलीलाई गम्भीर हुन कसैले सिकाएन । उनी दुई वटा मिर्गौला थपेका मानिस । रोगी पनि हुन् । त्यो पनि सदाबहार । उनले खाने औषधि महंगा छन् । औषधि बिना उनी बाँच्न कठिन छ । स्वास्थ्यको पीडा उनलाई जति कसलाई होला अहिले जिवित नेताहरुमा । फेरि निरन्तर स्वास्थ्य चेकअप गराइरहनु पर्छ । उनले बोल्ने कतिपय भाषा औषधिको डोजको कमाल पनि हुन सक्छ ।

तर तिनै ओलीले मिर्गौैला पीडित अन्य नेपालीलाई भने हेपे । उनको सरकारले ती पीडितले पाउँदै आएको डायलाइसिस सुविधालाई रोकिदिए । आफू करोडौं रुपैयाँ खर्च गरेर बाँच्ने तर सर्वसाधारणलाई भने आफ्नै आँखा अगाडि मार्ने उनको कदम कदाचित मान्य छैन । पाप धुरीबाट कराउने नियम तत्काल लागु हुने भए उनको हालत पनि ती गरिब नेपाली पीडितको जस्तो हुने थियो ।

लकडाउनले समस्यामा परेका बेलामा उनले अपांगता भएका कर्मचारीको कोटा पनि घटाए । अपांगता भएकाले पाउने भत्ता पनि कटाए । उनले जनतालाई दुःख दिन बाँकी अब केही पनि छैन । सकेको दुःख दिए । ०७२सालमा पनि दुःख दिएकै हुन् । राष्ट्रवादीको नाममा भोट बटुले तर जनताले नाकाबन्दीको मार खेप्दा दुःखको पारो निकै नै तातेको हो । अहिले फेरि बिना कुनै वार्ता वा पहल नक्सा मात्र जारी गरेर जनतालाई फेरि वर्षौं दुःखको भड्खालोमा हाल्न खोज्दैछन् ।

तत्कालीन नेकपा एमालेको सरकारले महाकाली सन्धि गर्दा नेपाली भूमि भारतलाई दियो । त्यो ठूलो गल्ती गर्दा ओलीहरु नै मतियार थिए । त्यसलाई गल्ती भन्न सक्ने आँट नेकपाका अहिलेका नेतामा छैन । नेकपा उपाध्यष वामदेव गौतमले त मुखै फोडेर अहिले भनेका छन्, ‘त्यसको विरोध गर्दा त्यतिबेला पार्टीबाट निकालिएँ ।’ अब ओली देशका रक्षक कि देशबेच्ने दलाल ?

ओलीले आफूमात्र देशको सीमा जोगाउने देशभक्त रहेको भनेका छन् । त्यसबाट उनी झन् आलोचित भएका छन् । नेकपाकै नेताहरुले उनलाई सरकार र पार्टीको नेतृत्वबाट राजीनामा दिन चेतावनी दिइरहेका छन् । ओलीले अटेर गरेका छन् । तर उनको यो ढिटका कारण धेरै दिन सरकार टिक्ने छाँट छैन । किनकि उनले नेपाली जनतालाई मात्र हैन पार्टीलाई नै गुमराहमा राखिरहेका छन् ।

कोरोना भाइरसको पीडामा रहेका नेपालीको उद्धार गर्नु त कता हो स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेपछि उनी चरम आलोचित बनेका छन् । अझ भ्रष्टाचार गरेकै छैन भन्दै पनि छन् । भ्रष्टाचारमा डुबेका गोकुल बास्कोटाले संचारमन्त्रीबाट राजीनामा दिँदासमेत उनीमाथि कुनै कार्वाही भएन ।

भ्रष्टाचारका चाङ लिएर हिँड्ने त्यसका नाइके ओलीबाट अब जनताले कुनै अपेक्षा गरेकै छैनन् । अब जे भने पनि नेकपाका नेताले समेत पत्याउन छाडे । ओलीको बोलीको अब तुक रहन छाड्यो । उनी गद्दार नेता बन्न पुगेका छन् । कुनै समय दक्षिण कोरियाको ‘होली वाइन’ को चंगुलमा फसेका ओली अहिले चीनले पठाएको कोरोना जन्तरमा समेत विश्वास गर्न थालेका छन् ।

जनता कोरोनाले मर्दैछन् । ओली आफ्नो आयु र सरकारको आयु लम्ब्याउन व्यस्त छन् ।