होला त मंसिरमा चुनाव ?

Home Feature

काठमाडौं । स्थानीय तहको निर्वाचन सफल बनाएको सरकारले अब प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको तयारीसमेत तीव्र बनाएको गृह मन्त्रालयले जनाएको छ । यद्यपि अहिलेसम्म मिति भने तोकिएको छैन । निर्वाचन आयोगले सामान्यतया निर्वाचनको मिति भन्दा एक सय २० दिन अगाडि निर्वाचनको मिति तोक्नुपर्ने बताउँदै आएको छ । तर अहिलेसम्म त्यो काम गरिएको भने छैन । अन्तिममा ८० दिन बाँकी छँदा मिति तोक्दा पनि निर्वाचन समयमै गर्न सकिने आयोगले बताउँदै आएको छ । भनाइ र गराइमा फरक परे पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले यसैसाता निर्वाचनको मिति तोक्ने बुझिएको छ । निर्वाचन आयोगको परामर्श र सिफारिस लिइसकेको सरकारले यो साताभित्रै चुनावको मिति घोषणा गर्ने तयारी गरेको हो । यसका लागि मन्त्रिपरिषदका सदस्यहरुले विभिन्न दलहरुसँग चुनावको तयारी र मिति घोषणाबारे परामर्श लिइरहेका छन् ।
त्यसो त निर्वाचन आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री देउवा र मन्त्रीहरूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन गर्न परामर्श दिएको थियो । तर प्रधानमन्त्री देउवाले केही दिन तलमाथि गर्नुपर्ने आवश्यक रहेको भन्दै अर्को मिति प्रस्ताव गरेका
थिए । त्यसपछि सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन गर्ने प्रस्ताव गरेकोमा आयोगले सहमति र सिफारिससमेत दिइसकेको छ ।
यद्यपि सरकारले चुनावको मिति घोषणा गर्न ढिला गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दलले चुनावको मिति माग गर्न थालिसकेका छन् । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावको मिति तोक्नेबारे छलफल भइरहेको तर अहिले कुनै टुंगो नभएको बताएका छन् । त्यस्तै शुक्रबारमात्रै गृहमन्त्री बालकृष्ण खाँडले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चुनावको मितिबारे कुरा गरेका थिए । बिहीबारमात्रै प्रचण्डले प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणाबारे परामर्श लिएको बताएका थिए । उनले नागरिकता विधेयक पारित गरेरमात्रै चुनावको मिति घोषणा गर्नु उपयुक्त हुने भन्दै पर्खनका लागि आग्रह गरेको बताएका थिए । तर यो साता भने मिति घोषणा हुनेमा उनी आशावादी रहेको बताएका छन् ।
निर्वाचन आयोगले भने तयारीलाई तीव्र पारिएको जनाएको छ । उसले मंसिर ४ का लागि आफूहरु तयार रहेको जनाएको छ । सरकारले आयोगको परामर्श भएजस्तो मंसिर ४ मै निर्वाचन गर्न नसके १० गतेसम्म सार्न सक्ने बुझिएको छ । तर कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ४ गते नै निर्वाचन हुने ठोकुवासमेत गरेका छन् ।
आयोगका पदाधिकारीहरु १० मंसिरपछि चैत वा बैशाखमा मात्रै चुनाव गर्न सकिने भन्दै मंसिरमै निर्वाचन गर्न सुझाव दिँदै आएका छन् । २०७४ सालको निर्वाचन मंसिर १० मा ३२ जिल्ला र २१ गते ४५ जिल्लामा गरी दुई चरणमा भएको थियो । यो समय नाघ्न नहुने कानूनी प्रावधान छ । नेपालको संविधानको धारा ८५ ले प्रतिनिधिसभा र धारा १७७ ले प्रदेश सभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक ५ वर्षको हुने उल्लेख छ । यसपालि त्योभन्दा अगाडि नै गर्नेमा देउवा सरकार अडिक भएको बताइन्छ । त्यतिबेला पनि चुनाव देउवाले नै गरेका थिए । अनि आफ्नो दललाई पहिलोबाट दोस्रोमा झारेका थिए । यसपटक एकैचरणमा गर्ने तयारी छ ।