‘एसपीपी’बाट पछि हट्यो सरकार

Home Feature राजनीति

काठमाडौं । नेपाल सरकारले अमेरिकी सहयोग कार्यक्रम स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागी नहुने हिम्मत जुटाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर एसपीपीमा सहभागी नहुने जानकारी गराएको हो । हुनत एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद् बैठकले गत असार ६ मा निर्णय गरेको थियो । तर एक महिना पाँच दिनपछि परराष्ट्र मन्त्रालयले साउन ९ गतेमात्र अमेरिकालाई पत्र पठाएको हो । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले निरन्तर प्रश्न उठाएपछि गत शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्काले पत्र पठाइसकेको जानकारी दिएका थिए अमेरिकी दूतावासले पनि सरकारबाट एसपीपी अस्वीकार गर्ने सम्बन्धको पत्र प्राप्त भएको पुष्टि गरेको छ । सरकारले पत्रमा ‘एसपीपीलाई हामी स्वीकार गर्दैनौं तर नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई भने निरन्तरता दिन चाहन्छौं’ भनिएको छ । पत्रमा नेपाली र अमेरिकी सेनाबीच जारी संयुक्त अभ्यास र सहकार्यमा कुनै असर नपर्ने पनि सरकारले स्पष्ट पारेको छ ।
मन्त्री खड्काले पत्राचारको विषयमा अन्तरिक परामर्शका कारण केही समय लागेको संसदमा बताएका थिए । उनले सांसदहरुले पत्र नै पढेर सुनाउनु पर्ने र पत्रको छायाँ कपि संसदमा पेश गर्नुपर्ने भनी भनेपछि भने झोक्किँदै भनेका थिए ‘एसपीपीको विषयमा सरकार प्रस्ट थियो र छ, नेपाल सरकार सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कार्यपालिकाको सर्वोच्च निकायले गरेको निर्णयमा संशय व्यक्त गर्नु अस्वाभाविक नै हुन्छ । नेपाल कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुने प्रश्नै उठ्दैन, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितविपरीत कुनै सन्धि, सम्झौता वा गतिविधि हुन नदिने प्रतिबद्धता यस गरिमामय सदनसमक्ष व्यक्त गरिसक्नुभएको छ ।’ अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आएका बेलामै मन्त्री खड्काले संसदबाट सबैलाई एसपीपीमा सहभागी नहुने पत्र पठाएको जानकारी दिएका हुन् । लू बिहीबार आएर शनिबार फर्केका छन् । उनले प्रधानमन्त्री देउवा र परराष्ट्र मन्त्री खड्कालाईसमेत भेटेका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणसहित पूर्वाधार विकासमा सहयोगको विषयमा छलफल भएको थियो । नेपाल एसपीपीमा सहभागी नहुने निर्णय मन्त्रिपरिषदले गरेसँगै देउवाको अमेरिका भ्रमण रोकिएको थियो । अब भोलिका दिनमा देउवा अमेरिका जानसक्नेसमेत बताइएको छ । नेपालले यसअघि नै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी भने स्वीकृत गरिसकेको छ ।
प्रधानमन्त्री देउवालाई गत वर्ष चैत २५ मा अमेरिकी सरकारबाट भ्रमणको निम्तो आएको थियो तर दुवै पक्षलाई अनुकूल हुने समयको खोजी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियोरु। परराष्ट्रका अधिकारीका अनुसार भ्रमण कहिले हुन्छ भन्ने यकिन छैनरु। अब आगामी सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा नेपालका तर्फबाट उच्च तहको सहभागिताका लागि गृहकार्य भएको बुझिन्छ । त्यतिबेला देउवा अमेरिका जान सक्छन् । जेहोस् एमसीसीलाई जबरजस्ती संसदबाट पारित गराएको कांग्रेसले यसपालि एसपीपी अश्वीकार गरेर भने ठूलै हिम्मत जुटाएको छ ।