देउवाले आफ्नो निवासबाट पैसा दिएर एउटा भोट सूर्यमा र अर्को भोट रुखमा हाल्न लगाउनुभयो

अन्तर्वार्ता

कर्ण मल्ल – नेता, नेपाली कांग्रेस (विपी)


कुनैबेला तपाईं शेरबहादुर देउवाको निकट हुनुहुन्थ्यो, सम्बन्ध कसरी बिग्रियो ?
नेपाली कांग्रेसको राजनीतिमा हामी आउँदै गर्दा शेरबहादुर देउवाले नेपाली कांग्रेसको सदस्य किन हुनु भयो, नेता किन हुनु भयो भनेर हामीले सुन्दै गर्दाखेरि उहाँले जनताका लागि, प्रजातन्त्रका लागि र यहाँका गरिबीका विरुद्धमा तथा समाजवाद र राष्ट्रियताका लागि राजनीति गरेको एउटा नेता हो भन्ने सुनेर नै हामी राजनीतिमा लागेका हौं । उहाँसँग सामिप्यमा बसेर काम गर्दै गर्दा म पार्टीको जिल्ला सभापति उहाँ पार्टीको वरिष्ठ नेता, म जिल्ला सभापति उहाँ, केन्द्रीय सभापति र मुलुकको प्रधानमन्त्री हुँदै गर्दा तपाईंले यी मूल्य मान्यता बिर्सिँदै हुनुहुन्छ, भन्दा म उहाँलाई मन नपरेको हुन सक्छु । जनतासँग चुनावमा मत माग्न जाने त्यसपछि पाँच वर्षसम्म फर्केर नजाँदा यो राम्रो देखिएन भनेर मैले भन्दै गर्दा उहाँलाई मन नपरेको हुन सक्छ ।
तपाईं शेरबहादुर देउवाको स्वकीय सचिव भएर राजनीति सुरु गर्नु भएको हो, यो कुरा मान्नुहुन्छ नि ?
म मान्दिन । म आठ कक्षामा पढ्दै गर्दा २०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाल विद्यार्थी संघको स्कुलको अध्यक्ष भएर राजनीति सुरु गरेको हुँ । उहाँको स्वकीय सचिव भएर राजनीतिक सुरु गरेको होइन । त्यो अवसर पाएको हो ।
तपाईंलाई राजनीतिमा चिनाएको त शेरबहादुर देउवाले हो नि !
उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा उहाँले मलाई स्वकीय सचिव भएर काम गर्ने अवसर दिनु भएको हो । उहाँ आफैंले दिनु भएको हो, मैले मागेको होइन । उहाँ दिनु भएको जिम्मेवारी मैले कुशलता र इमान्दारितापूर्वक निर्वाह गरेको छु । त्यो भूमिका निर्वाह गर्दा मैले परिचय बनाउने र जनसम्पर्क बढाउने मौका पाएको सत्य हो । त्यसका लागि म उहाँप्रति आभारी नै छु । तर म पार्टीको स्कुल तह, कलेजतह हुँदै जिल्लातह हुँदै नेविसंघको केन्द्रीय राजनीति हुँदै तरण दलको अहिलेको गृहमन्त्रीको कार्यसमितिमा बसेर मैले दिएको जिम्मेवारी निर्वाह गर्दै गर्दा र नवौं महाधिवेशनदेखि म पार्टीको महाधिवेशन प्रतिनिधिको परिचय बनाएको हुँ । म डडेल्धुरा नेपाली कांग्रेसको दुई पटक सभापति भएँ, २०७४ सालको प्रदेश निर्वाचनमा कांथ्रेसको सदुरपश्चिमका सातवटा पहाडी जिल्लाबाट जित्ने एक जना म र हर्को भरतबाहादुर खड्का मात्रै हौं । महाकाली अंचलबाट त मैले मात्रै कांग्रेसबाट जितेको हो । यो अवसर मलाई डडेल्धुरका जनता, जसलाई म जन्म दिने आमा बुवा जत्तिकै सम्मान गर्छु,उहाँहरुको निरन्तर आर्शीवाद भएकाले मैले ती अवसर पाएको हुँ । आज शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । विपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र नीति विहीन भएर नेतृत्व गरिरहनु भएको छ, यहाँले मलाई आफ्नो कार्यकर्ता भएर प्रयोग गरिरहनु भएको थियो ।
तपाईं नेपाली कांग्रेस परित्याग गरेर नेपाली कांग्रेस विपीमा प्रवेश गर्नु भएको हो ?
मैले नेपाली कांग्रेस परित्याग गरेको होइन । मलाइ नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदै गर्दा पनि अहिले कै प्रधानमन्त्री त्यो पार्टीको सभापति हुनुहुन्थ्यो । र त्यो पार्टीको डडेल्धुरा जिल्लाको अधिवेशन हुनुभन्दा अगाडि तत्कालीन अवस्थामा आरजू भाउजू (देउवा पत्नी) लाई नेपाली कांग्रेस प्रजातान्त्रिकको महासमिति सदस्य डडेल्धुरबाट बनाउनुपर्छ भनेर आदेश आउँदै गर्दा मैले त्यसलाई मान्दिन भन्दा मलाइ त्यतिबेला पनि नेपाली कांग्रेस प्रजातान्त्रिकको अनुशासन भन्दा बाहिर गएर काम गरेको हुनाले तपाईंलाई पार्टीको साधारण सदस्यताबाट दुई वर्षका लागि निलम्बन गरिएको छ भन्ने पुरस्कार आज भन्दा १७ वर्ष पहिला तत्कालीन कांग्रेस प्रजातान्त्रिका सभापतिबाट पाइसकेको हुँ ।
मैले नेपाली कांग्रेस छोडेको होइन, उहाँले मलाइ कांग्रेसको चौधौं महाधिवेशनमा भाग लिन दिनु भएन । नेपाली कांग्रेसको इतिहासमा सुनौलो अक्षरले लेखिने छ । उहाँले नियुक्त गरेको निर्वाचन समितिको संयोजक महादेव यादवले राजीनामा दिनु भयो । डडेल्धुरामा जुन ढंगको अधिवेशन भयो त्यसका आधारमा उहाँले राजीनामा दिनुभएको हो ।
त्यसपछि उहाँले अर्को व्यक्ति नियुक्ति गरेर राज्य शक्तिको दुरुपयोग गरेर उहाँले मलाइ बाहिर राखेर महाधिवेशन गर्नु भयो, त्यो पीडाबाट हामी सयौं कार्यकर्ता प्रताडित भयौं भयौं, त्यसपछि पनि स्थानीय निर्वाचन भन्दा अगाडि उहाँले सत्ताको आडमा एकथरी कार्यकर्तालाई पूरै बेवास्ता गर्दै अगाडि बढ्नु भयो । पार्टीको दुई दुई पटक सभापति भएको मान्छे, त्यो पार्टीको प्रदेशसभा सदस्य भएको कार्यकर्तालाई पार्टीबाट निष्काशन गर्न पार्टीले अनुसाशन समिति गठन गर्नुपर्छ । अनुसशान समिति छैन । अनुशासन समितिले मलाइ तीन पटकसम्म स्पष्टिकरण सोध्नुपर्छ । त्यसपछि कारवाहीका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्छ । तर उहाँले ठाडो अधिकारबाट वैशाख १३ गते तपाईंलाई साधारण सदस्य समेतबाट निलम्बन गरिएको कुरा मैले समाजिक सञ्जालबाट थाहा पाएँ ।
तपाईंले पार्टी हितमा काम नगरेपछि ननिकालेर के तपाईंलाई पूजा गर्ने त ?
कर्णबहादुर मल्लले सहयोग नगरेको भए शेरबहादुर देउवाले ०६४ मा चुनाव जित्थे? कर्णबहादुर मल्लले सहयोग नगरेको भए ०७४ सालको चुनाव उहाँले जित्नुहुन्थ्यो ? जहाँबाट अस्ति भर्खर चुनाव जितेपछि फेरि प्रधानमन्त्री बन्ने सौाभग्य उहाँले पाउनु भएको छ । उहाँलाई मैले कहिले असहयोग गरेँ ? हो चौधौं महाधिवेशनमा उहाँलाई कुनै पनि हालतमा फेरि कांग्रेसको सभापति बनाउनु हुँदैन भनेर मैले उहाँलाई नै भनेको हो ।
शेरबहादुर देउवाका कारण तपाईं राजनीतिमा स्थापित हुने, अनि शेरबहादुर देउवालाई सभापति बनाउनु हुँदैन भन्ने किन ?
हामी कार्यकर्ताको अधिकार हुँदैन ? म शेरबहादुर देउवाका कारण केही पनि बनेको छैन । उहाँले मलाइ ०७४ मा टिकट दिनु भएको सत्य हो । तर उहाँले आफ्नो निवासबाट पैसा दिएर एउटा भोट सूर्यमा र अर्को भोट रुखमा हाल्न लगाउनुभएको हो । ल, म कर्णबहादुर मल्ल बनाउन शेरबहादुर देउवाको योगदानगरेको कुरा मैले स्वीकार गरेँ । तर शेरबहादुर देउवा बनाउन कर्ण मल्लको भूमिका पनि कम छैन ।
शेरबहादुर देउवाले ०४८ सालदेखि ०७४ सालसम्म कति मत पाउनु भएको छ, कर्णबहादुर मल्लजस्ता जनता उहाँका विधाता हुन् । मजस्ता नेता कार्यकर्ताको सहयोग नभएको भए शेरबहादुर देउवा शेरबहादुर हुँदैन थिए । ०४८ साल वैशाख २९ गते पहिलो आम निर्वाचन भएको हो । २०४७ सालमा उहाँ बेलायतबाट काठमाडौं आएर पहिलो पटक डडेल्धुरा जानुभएको हो । त्यो देखि २०७४ सालको निर्वाचनसम्म निरन्तर उहाँलाई मत हाल्ने र मत माग्ने काम ग¥यौं । उहाँलाई जुनसुकै पीडाको अवस्थामा पनि राजनीतिक रुपमा तपाईंका पछाडि म पनि छु र मजस्ता हजारौं कार्यकर्ता छन् आदणीय शेरबहादुर दाइ भनेर उहाँ बसेको स्थानमा मात्र होइन, देशभरी उहाँलाई लैजाने र उर्जा दिने काम ग¥यौं । राजनीतिक गर्ने मानिसलाई कस्ता पीडा हुन्छन् ती सबै पीडामा एउटा असल, योग्य र काबिल मतदाताको रुपमा उहाँलाई सहयोग ग¥यौं । हामीजस्ता सयौं कार्यकर्ताको व्याक सपोर्ट नभएको भए शेरबहादुर देउवा शेरबहादुर देउवा बन्नुहुन्थ्यो ?
अब संघीय र प्रदेशसभा निर्वाचन हुँदैछ, तपाईं डडेल्धुराबाट चुनाव लड्ने हो ?
यो विषयमा अहिले म केही बोल्दिन । डडेल्धुरमा सातवटा पालिका छन् ५२ वटा वडा छन् । सयौं वस्ती छन् । ती बस्तीका सज्जन मतदातालाई सोधेर मात्रै चुनाव लड्ने वा नलड्ने निर्णयमा पुग्छु ।
कांग्रेस विपीबाट तपाईंले उम्मेदवारी दिने चर्चा छ नि !
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनदेखि नै विपी कांग्रेसको नामबाट विद्रोह सुरु भएको छ । त्यहाँको संगठन निर्माण प्रक्रिया अगाडि बढिसकेका छन् ।