गठबन्धन गर्ने पार्टीको निर्णयप्रति कार्यकर्ता खुशी छैनन्

अन्तर्वार्ता

रमेश लेखक – केन्द्रीय सदस्य, नेपाली कांग्रेस


थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्ता गठबन्धनमा आवद्ध दलले चुनाव तालमेल गर्ने सहमति गरेका छन् । जस अनुसार उनीहरुले ६ वटा महानगर र ११ वटा उपमहानगर–पालिकामा भागवण्डासमेत गरिसकेका छन् । पार्टीले गठबन्धन गरेर चुनावी तालमेल गर्ने निर्णयसँगै कांग्रेसभित्र भने असन्तुष्टि चुलिएको छ । विशेष गरी डा. शेखर कोइराला पक्षधर नेताहरु तालमेलको विपक्षमा छन् । चुनावी गठबन्धनपछि पार्टीभित्रको विवाद, चुनावी तालमेललगायतका विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग गरिएको कुरकानीको मुख्य अंश ः
अहिले सत्ता गठबन्धनमा सहमति देखियो, तर कार्यकर्तामा व्यापक विमति देखियो । यस्तो अवस्थामा शीर्ष नेताहरुबीच भएको सहमति कसरी कार्यान्वयन हुन्छ ?
अहिले सरकारमा सहभागी राजनीतिक दलले चुनावी तालमेल गरेर त्यसको निर्णय भएपनि भइसकेको छ । त्यस विषयमा केही ठाउँबाट विमति आइरहेको अवस्था पनि हो । अब यसलाई राजनीतिक दलहरुले समाधान गर्दै लैजालान् ।
कसरी समाधान गर्नुहुन्छ । यति धेरै असन्तुष्टि चुलिएको छ । कांग्रेका कतिपय जिल्लामा त तालाबन्दी नै गरिएको अवस्था छ । यसरी कार्यकर्ताको भावना विपरित जाँदा पार्टीलाई क्षति पुग्दैन ?
हामीकहाँ चुनावी तालमेल गर्ने संस्कृतिको विकास भइसकेको छैन । चुनाव पहिला नै सिटमा तालमेल गर्ने संस्कृति परिपक्व भइसकेको अवस्था छैन । अहिले हामी नयाँ नयाँ अभ्यास गरिरहेका छौं । झन् कांग्रेसका लागि त यो नयाँ अभ्यास हो । पहिला हामीले एक दुई ठाउँमा त ग¥यौं । पहिलाको संसदीय निर्वाचनमा पनि यो धेरै ज्यादा सफल हुन सकेन । त्यसकारण यो प्रयोगमा केही जटिलता छन् । तर अब राजनीतिक दलले निर्णय गरिसकेपछि यसलाई समाधान गर्दै लैजानुपर्छ । अब आ–आफ्नो पार्टीपंक्तिलाई कार्यान्वयनका लागि राजनीतिक दलहरुले नै कन्भिन्स गर्दै र कार्यान्वयन गर्दै लैजानुपर्छ, अरु त केही उपाय नै छैन नि ।
पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गर्ने वित्तिकै किन कार्यकर्ताहरु यसरी आक्रोशित भए त ?
मैले केन्द्रीय कमिटी बैठकमा पनि के भनेको थिएँ भने अहिले चुनावी तालमेलको आवश्यकता छ, चुनावी तालमेल गरेर जानुपर्छ । त्यसरी जाँदा पनि केही जटिलता उत्पन्न हुन्छ । त्यो भनेको के हो भने सबैभन्दा पहिला देशभरीका आफ्ना पार्टीका सदस्यहरुलाई, शुभचिन्तक, मतदाताहरुलाई किन राजनीतिक तालमेल आवश्यक छ भनेर एक प्रकारको प्रशिक्षण दिनुपर्छ । अहिले हामीले संविधानमा मिश्रित चुनावी प्रणालीको व्यवस्था गरेका छौं । कुनै पनि प्रत्यक्ष चुनाव जितेर संघीय र प्रदेशसभामा जान्छ भने कुने मानिस समानुपातिक प्रणालीमार्फत जान्छ । यो पद्धति के हो भने यस्तोमा कुनै एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था हुँदैन । यो भन्दा पहिला एमाले र माओवादीबीच चुनावी तालमेल भएका कारण उहाँहरुको बहुमत आएको थियो । अन्यथा कुनै पनि दलको बहुमत आउने अवस्था थिएन । त्यसो हुनाले हामीले चुनावपछि सरकार गठन गर्न राजनीतिक दलसँग चुनावी तालमेल गर्नैपर्छ भने चुनाव भन्दा पहिला नै राजनीकि तालमेल गर्ने, गठबन्धन गर्ने, सिटको बाँडफाँड गर्ने परिपाटी विश्वका धेरै मुलुकमा छ । त्यसो हुनाले हामीले पनि अन्य राजनीतिक दलसँग गठबन्धन गरेर जाने जानुपर्ने आवश्यकता थियो । त्यसको फाइदा यो यो हुन्छ, त्यसको बेफाइदा यी यी हुन्छन् भनेर देशभर बहश, छलफल चलाउनुपर्ने आवश्यकता थियो । अब हामीले ठिक चुनावको मुखमा यो काम ग¥यौं ।
तपाईँहरुले चुनावको मुखमा यो काम गर्दा कार्यकर्ता त बिच्किए नि यसले फाइदा गर्छ कि बेफाइदा धेरै गर्छ ?
कांग्रेसले अब निर्णय गरिसकेपछि अब यसलाई कार्यान्वयन गराएर जानुपर्छ । त्यसका लागि आ–आफ्ना पार्टीले निर्णय कार्यान्वयनका लागि नेता कार्यकर्तालाई अनुरोध गर्नुपर्छ । अपिल गर्नुपर्छ, आह्वान गर्नुपर्छ । निर्णय गरिसकेपछि त्यसको कार्यान्वयन हुनुपर्छ ।
कांग्रेस एक्लै लड्ना पनि जित्ने ठाउँ पनि कार्यकर्तासँग परामर्श नगरी गठबन्धनका नाममा अन्य दललाई दिँदा त्यसले त झन् असन्तुष्टि चुलियो नि !
मैले अघि पनि भनें यसका लागि त यो गठबन्धन किन आवश्यक छ भनेर अलि पहिला छलफल, वहश चलाएको भए राम्रो हुन्थ्यो । यसका सैद्धान्तिक र व्यवहारिक पक्षका विषयमा बढी छलफल गर्न पाएको भए झन राम्रो हुन्थ्यो । अब त्यो स्थिति भएन । गठबन्धन गर्ने निर्णय पार्टीले गरिसक्यो । पार्टीले निर्णय गरेपछि यसलाई कार्यान्वयन गर्नु बाहेक अर्को विकल्प छैन । अब यसलाई कार्यान्वयन गरेर जानुपर्छ ।
गठबन्धनप्रति विरोध गर्दै कार्यकर्ताका अभिव्यक्ति सार्वजनिक भएका छन् । गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँडले गठबन्धनको विरोध गर्नेलाई कारवाही गर्ने चेतावनी दिन थालेका छन् । गठबन्धनको विरोध गर्ने कार्यकर्ता कारवाहीमा पर्ने हुन् अब ?
कारवाही भन्दा पहिला पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न पार्टीले अपिल, आह्वान गर्नुपर्छ । त्यसपछि पनि साथीहरुले मान्नु भएन भने पार्टीले त आफ्नो निर्णय कार्यान्वयन गराउनलाई केही न केही ठोस निर्णय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसकारण अहिले म के मात्रै आग्रह गर्न चाहन्छु भने पार्टीले निर्णय गरिसकेपछि हामीले पार्टीको उक्त निर्णय कार्यान्वयन गर्न इमान्दारिताका साथ प्रस्तुत हुनुपर्छ, होइन भने कांग्रेसकै विश्वसनीयतामाथि नै प्रश्न उठ्छ । कांग्रेस पार्टीले एउटा निर्णय गर्छ तर, कार्यान्वयन गर्न सक्दैन भन्यो भने अरु पार्टीले कांग्रेसमाथि विश्वास गर्ने आधार कमजोर हुन्छ । त्यसकारण निर्णय गरिसकेपछि कार्यान्वयन त गर्नुपर्छ ।
तपाईंले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्दै गर्दा धरै ठाउँमा कांग्रेसले बागी उम्मेद्वार दिने कार्याकर्ताले चेतावनी दिइरहेका छन् । बागी उम्मेद्वार दिनेलाई पार्टीले कारवाही गर्छ ?
तपाईंले राखेको जिज्ञासाका विषयमा त नेपाली कांग्रेसको विधानमा स्पष्ट उल्लेख गरिएको छ । नेपाली कांग्रेसले आधिकारिक उम्मेद्वारको घोषणा गर्छ । यदि कुनै कांग्रेसको व्यक्ति कांग्रेसको आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी दिन्छ भने स्वत कारवाहीको विषय बन्छ भनेर विधानमा लेखिएको छ । त्यसकारण यो विषयमा कुनै द्विवीधा नराखे हुन्छ कि पार्टीको आधिकारिक व्यक्तिको विषयमा कुनै पनिले बागी उम्मेद्वारी दिने हो भने उ कारवाहीको भागीदार बन्छ । अब पार्टीले अर्को पार्टीको उम्मेद्वारलाई समर्थन गरेको अवस्थामा पनि त्यो विषय आकर्षित भइहाल्छ नि ।
कांग्रेसका प्रभावकाशी नेता डा. शेखर कोइरा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापाले एउटै मञ्चबाट यो गठबन्धनले कांग्रेसलाई फाइदा गर्दैन भनेर घोषणा गर्नु भयो । अब तपाईंहरु के गर्नुहुन्छ ?
एउटा कुरा सत्य के हो भने नेपाली कांग्रेसका अधिकांश साथीहरु जिल्लामा, क्षेत्रमा, पालिकामा , वडामा गठबन्धनको पक्षमा हुनुहुन्न । उहाँहरु कांग्रेस एक्लै चुनावमा जानुपर्छ, त्यसो गर्दा धेरै ठाउँमा जितिन्छ, यदि हारे पनि कांग्रेसको संगठन चुस्त दुरुस्त बन्छ भन्नेमा हुनुहुन्छ । त्यसमा कुनै द्विविधा छैन । तत्कालीन अवस्थामा गठबन्धनको सरकार छ, त्यसो हुनाले अरु राजनीतिक दलसँग तालमेल गरेर जाने भनेर पार्टीले निर्णय गरिसकेको हुनाले अब अवस्था र आवश्यकता हेरेर गठबन्धनभित्रका राजनीतिक दलसँग गठबन्धन गर्ने भनेर केन्द्रीय कार्यासमितिले निर्णय गरेको छ । त्यसपछि केन्द्रमा तालमेल गर्न भनेर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा कार्यादल गठन भएाके छ । सो कार्यदलले तालमेल कहाँ र कसरी गर्ने भनेर मापदण्ड नै तोक्यो । अब त्यही मापदण्ड अनुसार केन्द्रले महानगरपालिका र उपमहानगर–पालिकामा निर्णय गरेको छ । यो पार्टीले निर्णय गरिसकेको विषय भएको हुनाले अब पार्टीको निर्णय मान्नु बाहेक अर्को विकल्प त हुँदैन ।
अब ७५३ स्थानीय तहमा नै चुनावी तालमेल हुन्छ ?
सबै ठाउँमा छलफल भइरहेको छ । ७५३ वटै ठाउँमा हुन्छ भनेर म भन्न सक्दिन । कतिपय ठाउँमा त मित्रवत् प्रतिश्पर्धा गरेर अगाडि बढ्ने भनेर निर्णय गरेको अवस्था पनि छ । गठबन्धन गर्ने राजनीतिक दलकाबीचमा पनि त्यो सहमति भएको छ । अहिले दलहरुबीच छलफल र अन्तरक्रिया भइरहेका छन् । त्यसपछि जति ठाउँमा तालमेल हुन्छ हुन्छ, नभएका ठाउँमा प्रतिश्पर्धा हुन्छ । म ७५३ वटै स्थानीय तहमा तालमेल हुन्छ भनेर भन्न सक्दिन ।